सत्य जानेर के भो र, माने पो !

सत्य जानेर के भो र, माने पो !


  • स्वयम्भूनाथ कार्की

एक पटक कुनै किसानको बारीमा लगाएको बार तोडेर उसैको गाई पसेछ । गाई पसेर बाली चर्न थालेपछि छिमेकीको बाख्राले पनि त्यो देखेछ । अनि त्यही गाई पसेको ठाउँबाट पसेर बाख्रा पनि बाली चर्न थालेछ । केही समयपछि किसान बारीमा आउँदा आफ्नो गाई र छिमेकीको बाख्राले आफूले मेहेनतले लगाएको बाली चरिरहेको देखेछ । रिसले आगो भएर आफ्नो गाई धपाएछ अनि छिमेकीको बाख्रा पक्डेर उसँग बाभ्mन गएछ । ‘तेरो बाख्रा मेरो बारीमा कसरी पस्यो ?’ भनी उ प्रश्न गर्दोरहेछ, छिमेकीले चाहिँ ‘तेरो गाईले बार भत्काएको ठाउँबाट पस्यो’ भन्ने जवाफ दिँदोरहेछ । उ भने ‘लौ.. गाई त पस्यो–पस्यो, तेरो बाख्रा कसरी पस्यो ?’ भनेर एकोहोरो भन्दोरहेछ । जति भने पनि छिमेकी तेरो गाईले बार भत्काएको ठाउँबाट बाख्रा पस्यो भन्न छोड्दैनरहेछ, उ भने गाई त पस्यो–पस्यो तेरो बाख्रा कसरी पस्यो भन्न छोड्दैनरहेछ ।

कुरो हास्यास्पद जस्तो लाग्छ, तर हास्यास्पद भने हैन । सत्य जानेर मात्र हुँदैन जानेको सत्य मान्नु पनि पर्छ भन्ने कुराको यो एक उदाहरण हो । त्यो किसानलाई पनि यो सत्य राम्ररी थाहा थियो, त्यसै गरेर छिमेकीलाई पनि किसानले गाई पसेको भ्वाङबाट बाख्रा कसरी पस्यो भनेर सोधेको नभई बाख्राले गरेको हानीको विषयमा कुरा गर्न खोजेको हो । दुवैलाई यो सत्य थाहा थियो, तर दुवै मान्न तैयार थिएनन् । किसानलाई के डर थियो भने यदि यो कुरा छिमेकीलाई भन्यो भने उसले तेरो गाईले नै ज्यादा नोक्सान गरेको छ भन्नेछ र, यो सत्य पनि हो । त्यसै गरेर छिमेकीलाई पनि आफ्नो बाख्राले पनि हानी गरेको छ, गाईले गरेको त्यत्रो नोक्सानी गरेको छ भने बाख्राको नोक्सानीको जिम्मा म किन लिउँ भन्ने लागेको थियो । त्यसैले दुवै सत्य नमानेर आफ्नो कुन कुरा ज्यादा असरदार हुन्छ भन्ने लागेको छ त्यसैमा अडिग थिए ।

यो यतिबेला नेपालमा कायम रहेका सबै विवादको जरो हो । सबै मोही माग्न जाँदा लाज हुन्छ भनेर ढुङ्ग्रो लुकाउने अभ्यासमा लागेका छन् । मध्यकालिन युगको उदाहरण यति धेरै प्रयोग भएको छ कि मानौँ अहिले अन्याय अत्याचार ठहरिने मध्ययुगिन ंपरम्परा चलन केवल नेपालमा मात्र थियो । नारी-पुरुषको भेदभावको कुरो पितृसत्तात्मक मनस्थितिको नाममा आउने गर्दछ, यसको उदाहरणमा करिव शताब्दीपहिले नै चन्द्रशम्सेरले गैरकानुनी घोषित गरिसकेको अब नेपालमा कतै अस्तित्व नभएको सतीप्रथालाई उदाहरण दिने गरिन्छ । यस्ता धेरै उदाहरण जुन कालखण्डमा नेपालमा थिए त्यसै कालखण्डमा यसभन्दा ज्यादा भयानक प्रचलनहरू विश्वका अरु मुलुकमा थिए । यसको अर्थ नारी–प्रताडना छैन भन्न खोजिएको लगाइनु हुन्न, बरु यस्ता उहिल्यै समाप्त भएर लेश पनि बाँकी नरहेको कुराको उदाहरणले नारी समानताको आन्दोलनलाई नै बद्नाम गर्नेहरूलाई बल पुग्ने गर्दछ ।

पूर्वेली संस्कृति भएका नेपाललगायत स्थानमा महिलाले बेला–बेलामा राज्यसत्ता सम्हाल्न थालेको युगौँपछि पनि समानता, सामन अधिकारको उदाहरण दिइने मुलुक अमेरिकामा राजसत्ता सम्हाल्ने त के कुरा मतदान गर्न पनि महिलालाई बन्देज थियो १९२०मा संविधानको उन्नाईसौँ संशोधनले महिलालाई मतदानको अधिकार दियो । संसारभर जाय समानता भयो भएन भनेर स्वधोषित न्यायधिश हुने अमेरिकामा निग्रोलाई अमेरिकी राष्ट्रपति हुन दुई शताव्दी भन्दा धेरै समय लाग्यो भने महिला त्यो पदमा पुग्न त सकभर अर्को शताव्दी नै पो कुनै पर्छ कि ? यो सत्य जानेर पनि नमानी यस्ता असमानताका कुराहरू केवल नेपालमा मात्र छन् भन्नेको अरु सत्य कुरा पनि उडन्ते मानिन सक्ने सम्भावना हुन्छ । सक्षम भए महिला भएकै कारणले कुनै स्थान पाउन नरोकिएका उदाहरण पूर्वेली संस्कारमा मात्र पाइन्छ । त्यस्तै आरोप लगाइने गरेको जस्तो भेदभाव नरहेका उदाहरण पनि पाइन्छन् ।

राज्य सञ्चालनको निमित्त धेरै पूर्वेली विद्वानहरूले (जसलाई ऋषिमुनी भनिने गरिन्छ) नीतिहरू बनाए । तर ती नीति राज्यले अक्षरशः पालन गर्नु नै पर्दछ भन्ने कुनै दबाब थिएन । जनता जब कुनै शासकबाट त्राहीमाम हुन्थे त्यसबेला मात्र उनीहरू तपोवनबाट आएर शासकलाई सम्झाउने प्रयत्न गर्दथे । यस्ता प्रयत्न धेरै सफल भए पनि असफल भएर कारागार बस्नु परेको, ज्यान गुमाउनु परेको घटनाहरू पनि छन् । यो तथ्यलाई चटक्कै छोडेर केवल एक मनुस्मृति मात्र वर्तमानमा तारो भएको छ । त्यस्ता तारो बनाउनेहरूलाई बृहस्पति, शुक्राचार्य, विदुर आदि अनेकौँका पनि राज्य सञ्चालनका नीतिहरू छन् भन्ने थाहा नभएको हैन । तर जुन कुराको अडान लिनु छ त्यसमा शायद अन्यको उपस्थिति स्विकार गर्नु आफ्नो कुराको पराजय लाग्छ होला, त्यसैले केवल मनुस्मृतिको मात्र चर्चा हुन्छ । यसरी आफ्नो खास कुरा लुकाएर प्रस्तुत हुन्जेल लक्ष्य प्राप्त हुन्न । ढुङ्ग्रो लुकाएर मोही माग्न जाँदा मोही दिनेले ‘खोइ त ढुङ्ग्रो नै रहेनछ मोही केमा दिने’ भनेर मोही दिँदैन । सत्य जानेर मात्र केही हुन्न मान्न पनि सक्नु पर्दछ ।