- राजेन्द्र राना मगर
एक जोर चप्पल, फाटेको टोपी र कमिज सुरुवालको भरमा,
हातपाउ खियाएर रेलिङ भाँच्न र ढुङ्गा हान्न सिकेँ
राजनीति गर्नकै लागि गाउँ छोडी १० वर्ष जेल काटेँ
आफ्नै बलबुताले जिरोबाट हिरो बनेँ,
करोडौँको गाडी, बंगला यसैको कमाल हो,
त्यसैले म नेता भएँ !
अब त आफ्नै गाउँ जान पनि लाज लाग्छ,
न खोलानाला न प्लटिङ गर्ने जमीन बाँकी छ !
बालुवादेखि माटोसम्म, वनदेखि जङ्गलसम्म,
के छ र बाँकी ? सबै आफ्नो हात पारिसकेँ ।
आफ्नै छोरानातिको लागि भविष्य कोरेको छु,
त्यसैले म नेता भएँ !
राजनीतिमा भाषण गर्न जान्नुपर्छ,
जनतालाई हातमा लिन एकपटक झुक्नुपर्छ
सपना देखाउनु पर्छ, सर्वहाराको नाम खोक्नुपर्छ,
चुनाव जित्न मासुभात खुवाउन दाम बोक्नुपर्छ,
मलाई कसैको डर छैन, अरूको भर छैन,
त्यसैले म नेता भएँ !
बाटो बनेकै छ, जनताले खाएकै छ,
कोही खाडीमा, कोही गाडीमा खलासी भएकै छ,
खेत बाँझो भएर के भो, सिउँदो पुछिएर के भो ?
देशको अर्थतन्त्र, विदेशी ऋणले भए’नि चलेकै छ,
एजेण्डाको कम छैन, बोलेकै भरमा डलर झर्छ,
त्यसैले म नेता भएँ !
भनेजति ५० प्रतिशत बजेट गाउँमा पुऱ्याएकै छु,
बाँकी बजेट आसेपासेलाई बाँडेकै छु ।
कसले भन्न सक्छ र मलाई विकास गरेकै छैन भनेर ?
बाढीले गाउँ डुबानमा पर्दा, बाटो भत्किँदा पनि
हेलिकप्टर चढेरै भए’नि राहत बाँड्न गाउँ पुगेकै छु,
त्यसैले म नेता भएँ !
प्रतिक्रिया