- डिल्ली अम्माई, बेल्जियम
म चिहानभित्रको प्रकाश
निहारिका र हिमाल जस्तै सत्य
म पृथ्वीको अनुपम सृष्टि
बुद्ध मेरा देव
मातृभूमि माध्यम
अमर सिंह, बलभद्र, बहादुर शाह मेरा साहस
भानु मेरो भाषा
स्वयम्भू मेरा आँखा
मातापिता मेरा आराध्य
पृथ्वी मेरो अभियान
सुखानी मेरो संकल्प
कृष्ण सेन मेरो कलम
भीमदत्त मेरो सपना
निर्धनता मेरो चेतना
बिहानी मेरो इन्कलाव ,
म चेतनाको प्रकाश
अनुपम सृष्टि
बुद्ध मेरो गुरु
आमा मातृभूमि
साहस भीमसेन
पृथ्वी अभियान
भानु भाषा
कलम कृष्ण सेन
सुखानी संकल्प
भीमदत्त सपना
बिहानी इन्कलाव,
मलाई कायर झैँ काम्दै मर्न इन्कार छ
मलाई भिख, सिदा र याचना इन्कार छ
सबै किसिमका अन्याय
सबै किसिमका धोकाधडी
चाकडी चापलुसी, र
बदनियत इन्कार छ,
यी सबैको अस्वीकृति नै मेरो अभियानको स्वीकृति
मेरो अभियानको शुरुवात
यो अभियान कुनै मुल्यमा पनि
यो अभियान कुनै दबाब
ज्यानको धम्की वा
सम्झौताको, कसम
रोक्न इन्कार गर्दछु,
मेरो प्राणको निर्णय
मेरो आस्थाको निर्णय
मेरो लक्षको वा सपनाको निर्णय
कुनै खुनी निर्णयले रोक्न सक्ने
उनीहरुको कानुन वा अदालतका
हाकिमहरुलाई दिन इन्कार गर्दछु,
मेरो प्राणको
आस्थाको निर्णय,
मलाई स्वीकार्य छैन मेरो
अन्तःस्करणको बोधी आवाज
कसैले नियन्त्रण गरोस् अस्वीकार्य छ
मेरो स्वाभिमानको फैसला
मेरो निजत्वको फैसला
मेरो अपनत्वको फैसला
मेरो सत्वको फैसला
अरुको बन्धक बनोस् मलाई अस्वीकार्य छ
मलाई रकमी वकिलको वकालत
अन्यायी कानुनको दासता
अपनत्वको मोलमोलाई र ठगी
कदापि स्वीकार्य छैन
मेरो भूमिमा मेरो अधिकार
मेरो जमिनमाथि मेरो न्याय
मेरो अदालतमा मेरो फैसला
मेरो मान मेरो आस्था
मलाई कृपा गरिन्छ वा फ्याँकिन्छ
र भिख झैँ उचाइबाट
खसालिन्छ भने मलाई स्वीकार्य छैन
मलाई स्वीकार्य छैन जोगीलाई दिएको दानझैँ
मन्जुर छैन अधिकारविहीन कृपा
मलाई कहिल्यै र कदापि मन्जुर छैन
म चेतनाको प्रकाश
म चेतनाको प्रकाश
अनुपम सृष्टि
बुद्ध मेरो गुरु
पहिचान मातृभूमि
साहस भीमसेन
पृथ्वी अभियान
भानु भाषा
कलम कृष्ण सेन
सुखानी संकल्प
भीमदत्त सपना
बिहानी इन्कलाव,
मलाई कायर झैँ काम्दै मर्न इन्कार छ
मलाई भिख, सिदा र याचना इन्कार छ ,
म अधिकारबाहेक कृपालाई
अधिकारबाहेक भिक्षालाई
अनुग्रह र रित्तो पर्खाइलाई
तत्काल इन्कार गर्दछु,
लुटको पीडालाई भाग्य सोच्ने
मालिकलाई कृपापात्र सोच्ने
मुर्दाशान्तिलाई
नन्दन वन र पारिजात तथा कल्पवृक्ष जस्तै
मधुर दिब्य शान्ति सम्झने
त्यस्तै शोषणलाई कर्मफल
घृणालाई ऋण
पापलाई कली
अनि,
यी सबैको विरोधलाई आतंक
जसले सच्चाई मान्दैन
झुटको सहाराले जिउँछ
निर्धालाई पेल्न खोज्छ
त्यसका सबै कर्महरुको
खुलेआम बहिस्कार गर्छु,
इन्कार गरिदिन्छु त्यसका भजन
त्यसको कर्मकाण्ड र सबै बचन
अन्यायी कानुनको दासता
अपनत्वको मोलमोलाई र ठगी
मलाई कदापि स्वीकार्य छैन
मेरो भूमिमा मेरो अधिकार
मेरो जमिनमाथि मेरो न्याय
मेरो अदालतमा मेरो फैसला
मेरो मान, मेरो आस्थाविरुद्ध
मलाई कृपा गरिन्छ वा फ्याँकिन्छ
र भिख झैँ उचाइबाट,
खसालिन्छ भने मलाई स्वीकार्य छैन
मलाई स्वीकार्य छैन जोगीलाई दिएको दानझैँ
मन्जुर छैन अधिकारविहीन कृपा
मलाई कहिल्यै र कदापि मन्जुर छैन ,
मेरो आवाज न त मन्दिरभित्रको हो
यो आवाज न त चर्चभित्रको हो
यो आवाज न त मदरसा वा गुम्बाभित्रको हो
यो शितल कुवाभित्रको आवाज हैन
यो शितालु पाखामा घाँस काट्दाको आवाज हैन
यो असहायहरुको चिहानभित्र दबिएको आवाज हो
विश्वका ती असहाय गाउँहरु
अनि
यो आवाज बहाना बहानामा युगसम्म लुटिएका
शहरका गल्ली र कैंदखाना
श्रमजिबिका अखडा
जहाँ मेरा तमाम बन्धुहरु तड्पाई तड्पाई मारिन्छन्
जहाँ मेरा आफन्तहरु अंश अंश घोटेर गाडिन्छन्
जहाँ मेरा दिदीबैनीहरु झुलाई झुलाई लुटिन्छन्
जहाँ मेरा भाइहरुको लासको जन्ती निस्कन्छ
जहाँ क्रन्दन र विलापको संगीत घन्किन्छ
देशकै कानुनले आफन्तको लास चिन्दैन
बेवारिसे बनाइन्छ त्यो देशको तुक्ष सत्ता र कानुन
कुनै पनि मलाई स्वीकार्य छैनन् ,
म ति कानुनलाई मनको आगोले जलाएर
तत्काल राख बनाई अस्विकार गरिदिन्छु ,
जो मैले इन्कार गरेका
जो मैले घृणा गरेका
जो मैले फ्याँकेका
मैला फोहरहरुलाई घृणा गर्दै
जीवन समेत अस्विकार गर्दै शहीद भए
ती महात्माहरुको सपना मात्र मलाई स्वीकार छ
सलाम छ ती युग पुरुषहरुलाई
उनीहरुका सबै सपनाहरुलाई
युगयुगसम्म याद गरिने छ
सबै याद गरिने छ विभत्स विगतको,
वर्तमानको,
अनि नरपिचासका सबै कुकर्महरुको
तिनका यातना शिविरहरुमा जतिले प्राण त्यागे,
मालिकका महलमा बली चढेका सबै रगतहरु
मनको सिसीमा संगालेर राखिएको छ
ति सबैको एक एक गरेर याद हुनेछ
याद गरिने छ ती सबै क्रुर नियतिहरुको
जहाँ क्रन्दन र बिलापको संगीत घन्किन्छ
देशकै कानुनले आफन्तको लास चिन्दैन
बेवारिसे बनाइन्छ त्यो देशको तुक्ष सत्ता र कानुन
कुनै पनि मलाई स्वीकार्य छैनन्,
म ती कानुनलाई मनको आगोले जलाएर
तत्काल राख बनाइ अस्विकार गरिदिन्छु ,
चाकडी कलममा फोहर शब्द छन् हाम्रो लागि
मिठा शब्द छन् मालिकहरुको लागि
त्यो राम्रोसँग थाह छ
हाम्रो रगत शब्द
अनि शब्द रगत बनेर झर्दा
जरुर नयाँ कथा कोरिनेछ इन्कलाबको
ती सबै याद गर्नेछ युगले
एक एक गरेर तीसबै नियतिहरुको याद गरिने छ ,
हाम्रा कुरा राख्दा
न्याय र हकका कुरा राख्दा
समानताका कुरा राख्दा,
दुःखीको दुखका र दुखको कारणका कुरा गर्दा
बर्गीय प्रेमका कुरा गर्दा
आवाज सुन्न इन्कार गर्ने बहिरा हो
तिम्रा सबै अहमता र मन्द मस्तिष्कलाई
एक युग बदल्ने संकल्पले पर्गेल्ने छ
तिम्रा सबै हर्कतहरुको
युग युगसम्म याद गरिने छ
एक एक गरेर हिसाब गरिने छ
हिसाब अशुल गरिनेछ
मेरो आवाज रोक्न
सक्छौ भने मलाई चुनौती दिन आउनु
मेरो स्वाभिमान र निष्ठामा आगो लाउनु
मेरो सरिरको कत्लेआम गरेर
अपराधिहरुबीच टाउको लुकाउनु
तर त्यो सबै जरुर लेखिने छ,
याद गरिने छ मानव जीवित रहेसम्म
भविष्यले त्यसको मूल्य अशुल्ने छ
याद गरिने छ, मूल्य अशुलिने छ
त्यो चुनौती मलाई स्वीकार छ
तिम्रो हर चुनौती मलाई स्वीकार छ,
थाहा छ तिम्रो बानी
तिम्रो बानीको के कुरा गर्नु र !
अगाडी खुबै मिठो कुरा गर्छौ
सबै ठिकठाक भएझैँ मजाको चाकडी छ
तिम्रो बाणीमा चास्नी अनि सुमधुर लालित्य छ
तर रात परेपछि, वा रे वा !
तर रात परेपछि मसाने झुण्ड लगाएर
मलाई सिध्याउने
हामीलाई सिध्याउने करारनामा लेख्ने
रात परेपछि,
हामीलाई सिध्याउन फर्जी पुर्जी काट्ने
अनि न्यायाधिशले झैँ मेरो भाग्यको बिरुद्ध
वकिलले झैँ दस्तखत गर्दै
अँध्यारोमा स्याल झैँ चिहुरेर
तिम्रो शब्दमा,
गर्जेर
ममाथि आक्रमण गर्ने
अनि मलाइ नै दोष दिने
तिम्रा कर्तुतहरु
सब याद गरिने छ
सबै याद गरिने छ,
म मेरो खप्परमा लेखेर राख्ने छु
तिमीले दिएको
मानसिक यातनाको सम्झना
तिमीहरुले हाम्रो घरमा बिस्ट्याएको
अनि कुल देवताको मन्दिरमा थुकेको
हाम्रो निष्ठालाई ललकार्ने तिम्रो दुस्साहस
सब याद गरिनेछ भविष्यमा
पुस्तौँसम्म निधारमा लेखेर राखिने छ
यो लडाइँ तिम्रो अन्तिम स्वाससम्म लडिने छ,
सम्झीरहेका छौँ कि जुन प्रकारले तिमी
आस्थाको मन्दिर फुटाउने र
आमा लुटाउने अपराध गर्दै थियौ
यो पनि सम्झना भै रहने छ
कि हामीले,
तिम्रा कर्तुतहरुको खबरदारी गऱ्यौँ
जब जोडले हावा चल्न थाल्ने छ
तिम्रा हरेक दुर्गन्धको याद गरिने छ,
एकदिन जब हाम्रो घर सुगन्धित हुने छ
जब धर्तीमा पारिजातको सुगन्ध फैलिने छ
त्यो बेला मानबले हाम्रो नाम याद गर्ने छ
दुनियाँमा हाम्रो नाम याद गरिने छ
हाम्रो नाम,
हाम्रो नाम त्यति सस्तो छैन
हाम्रो नाम इन्कलाबको अर्को नाम हो
केही मान्छे थिए, छन् र हुने छन्
केहि मान्छे थिए सत्यको पक्षमा
जसका सपना कहिल्यै बिग्रेनन
महान सपना कहिल्यै टुटेनन
तिम्रा काला जादुले
तिम्रा हतियारले सपना फ़ुटेनन्
तिम्रो धन र धम्कीले
स्वाभिमान कहिल्यै बिकेनन
सत्ताको मोहमा सत्य बिकेन
अन्तिम पलसम्म पनि हिम्मत टुटेन
शहिदको झैँ
हाम्रो हिम्मत आँखाको ज्योति र आशक्ति
समानताको पर्खाई जत्तिकै हामी सबको आशक्ति
यो सब याद आइरहने छ
भविष्यमा सब याद गरिनेछ
तिमीले औंशीका रातमा डुल्ने
भुतहरुको कथा लेख्दै गर
अँध्यारो रातका निशाचर
चमेराहरुको कबिता कोर्दै गर
हामीले पुर्णिमाका रातहरु,
जुनेली रातमा आउने परी
भाबिश्यकी भाग्यवती सुन्दरी
परि र सुन्दरीको गीत कोर्दै छौँ
तिमीले मृत्युको कथा लेख
हामीले जिबन्त स्वास लेखिरहन्छौँ
तिमीले अस्तित्व निकाला गरेको पत्र लेख
हामीले तिम्रा घरका भित्ताहरुमा
इन्कलाब र न्याय लेखि रहने छौँ
तिमी अँध्यारो रात लेख
हामी उज्यालो पुर्णिमा लेख्ने छौँ
तिमी मृत्यु लेख
हामी जीबन लेख्ने छौँ
तिमी निस्कासनको पत्र लेख
हामी न्यायपूर्ण आमन्त्रण लेख्ने छौँ
तिमी जमिनमा अत्याचार लेख
हामी आकासमा समानता लेख्ने छौँ
यो सबै भविष्यमा याद आइरहनेछ
निष्ठा अझै चहकिलो र सुकिलो
जुनकिरी झैँ चम्किरहनेछ
युगयुगसम्म अँध्यारो रहँदासम्म
समानताको लडाई चलिरहने छ
म चेतनाको प्रकाश
अनुपम सृष्टि
बुद्ध मेरा गुरु
आमा धर्ति
साहस भिमसेन
पृथ्वी अभियान
भानु भाषा
कलम कृष्ण शेन
सुखानी संकल्प
भीमदत्त सपना,
बिहानी इन्कलाब
मलाई कायर झैं काम्दै मर्न इन्कार छ
मलाई भिख, सिदा र याचना इन्कार छ
मेरो प्राणको निर्णय
मेरो आस्थाको निर्णय
मेरो लक्षको वा सपनाको निर्णय
कुनै खुनी निर्णयले रोक्न सक्ने
उनीहरुको कानुन वा अदालतका
हाकिमहरुलाई दिन इन्कार गर्दछु।
प्रतिक्रिया