- बबिता बस्नेत
सरकारका काम के–कस्ता छन् भोगिरहेकै छौँ, संसद्को अवस्था के छ- थाहै छ । राजनीतिक घटनाक्रमको वरिपरि मुलुकको अवस्था गुज्रिरहेको निकै भयो । अगाडि आइपर्ने परिस्थितिलाई आत्मसात गर्दै जनताले जीवन गुजारिरहेका छन् । कोभिड-१९ फेरि फर्किएर आएन भने भगवान भरोसामै टरेर गयो । नेपालमा त्यस्तो के भयो जसका कारण मानिसहरू खुशी भए ? संयुक्त राष्ट्रसंघको ‘ह्याप्पीनेस इन्डेक्स’मा नेपाल गत वर्षभन्दा अगाडि आएपछि हामीमध्ये धेरैको मनमा यस्तो प्रश्नले ठाउँ लिएको छ ।
सन् २०२० मा ९२औँ स्थानमा रहेको नेपाल अन्य केही देशहरूलाई पछाडि पार्दै यो वर्ष ‘नागरिक खुशी भएका देश’मा ८७औँ स्थानमा आएको छ । दक्षिण एशियामा खुशीको एक नम्बरमा रहेको भुटान सहभागी नभएका कारण नेपाल पहिलो हुन पुगेको छ । के दक्षिण एशियाली अन्य मुलुकका मानिस हामीभन्दा दुःखी छन् ? खुशीको मापदण्ड के हो ? खुशी केलाई भन्ने या मान्ने ? के नेपालीहरू साँच्चीकै खुशी छन् ?
संयुक्त राष्ट्रसंघको सस्टेनेवल डेभलप्मेन्ट सोलुसन नेटवर्कले प्रत्येक वर्ष गर्दै आएको खुशीको मापनका ९ वटा आधार छन्, जसमा शारीरिक तन्दुरुस्ती, जीवन स्तर, समयको सदुपयोग, शारीरिक तथा मानसिक स्वास्थ्य, शिक्षा, साँस्कृतिक तथा पर्यावरणीय विविधता, सुशासन, लचिलोपन, सामूदायिक शक्तिलगायत पर्दछन् । यिनै सूचकका आधारमा नेपाल खुशीको सूचीमा विगत भन्दा अगाडि आएको हो । मानिसको आम्दानी, स्वतन्त्रता, सरकारप्रतिको विश्वास, पारिवारिक र समाजिक सहयोग, उदारता जस्ता कुराहरूलाई पनि खुशीको आधार बनाइएको छ । समग्रमा राम्रो जीवन बाँच्न चाहिने कुराहरूलाई लिएर ‘ग्रस नेशनल ह्याप्पिनेस’ गणना गरिएको छ ।
दक्षिण एशियाका अन्य मुलुकको तुलनामा नेपाल खुशी मुलुकमा पर्नु आफैमा खुशीको कुरा हो । फेसबुकमा फोटो हेर्दा मात्रै नभएर अब हामी साँच्चीकै खुशीको सूचीमा परेका छौँ । कहिलेकाहीँ देखाउनलाई पनि यस्ता कुराहरू चाहिने रहेछन् । यद्यपि खुशी अरुलाई देखाउने भन्दा बढि अनुभुति गर्ने कुरा हो । सम्पन्न मुलुकका मानिसहरूसँग कुरा गर्दा अब हामीले निर्धक्क भन्न सक्ने भयौँ- ‘हामी त्यति सम्पन्न त छैनौँ तर ‘ह्याप्पीनेस इन्डेक्स’ मा नेपाल दक्षिण एशियामा पहिलो मुलुक हो ।’ यति मात्र भन्दा पनि यो देखावटी दुनियाँमा विगतको भन्दा बढी सम्मान पाउने निश्चित छ । किनभने खुशीसँग आर्थिक उन्नति या पैसा मात्र नभइ अन्य धेरै कुरा जोडिएर आउँछ । त्यही ‘अन्य धेरै कुरा’ नेपालीहरूसँग टन्नै छ । २०७२ सालमा भूकम्पले क्षतविक्षत बनायो, हामीले जे-जस्तो छ त्यसैले टाऱ्यौँ । कतिको जिन्दगी सकियो तर अहिलेसम्म पुनःनिर्माणको काम सकिएको छैन, आक्रोश पोखेनौँ । कोभिड-१९ का बेला शहर छोडेर घर जान चाहनेका लागि गाडीको बन्दोबस्त गरिदिएको भए के जान्थ्यो र ? रात-रातभर हिँडेर मानिसहरू आफ्नो घर पुगे तर आक्रोशको स्वर सुनिएन ।
फेसबुकमा फोटो हेर्दा मात्रै नभएर अब हामी साँच्चीकै खुशीको सूचीमा परेका छौँ । कहिलेकाहीँ देखाउनलाई पनि यस्ता कुराहरू चाहिने रहेछन् । यद्यपि खुशी अरुलाई देखाउने भन्दा बढि अनुभुति गर्ने कुरा हो ।
‘रिजिलियन्स’ खुशी मापनको आधारमध्ये एक हो नेपालीहरूमा ‘रिजिलियन्स’ धेरै नै छ, जसको अर्थ हुन्छ लचकता, सहने र आशावादी भइरहने । आशावादी, स्वजागरण, समाजसँगको निकटता, सहनशीलतालगायतका गुणहरू भएपछि मानिस ‘रिजिलियन्ट’ हुन्छ । नेपालीहरूमा यो गुण धेरै छ । मुलुक, समाज, परिवार, आफै पनि अनेक परिस्थितिबाट गुज्रिरहँदा हामी धेरै हतास हुदैनौँ । ठिकै छ, हेरौँ न, भइहाल्छ नि, यस्तै त हो नि… भनेर विभिन्न परिस्थितिलाई सहज रूपमा लिने हाम्रो बानीले हामीलाई दुःखी हुनबाट बचाएको छ । हिजो संसद् भङ्ग हुँदा पनि ठिकै थियो, अहिले पुनःस्थापना भयो राम्रै भो ! यो स्तरको ‘रिजिलियन्स’ दक्षिण एशियाका अरु मुलुकमा छैन, त्यही भएर हामी अगाडी भयौँ ।
खुशी के हो ? केलाई खुशी मान्ने ? वास्तवमा खुशी मानिसको मानसिक अवस्था र मनोविज्ञानसँग ज्यादा सम्बन्धित हुन्छ । खुशी देखाउने भन्दा पनि अनुभुति गर्ने कुरा हो । ब्यक्तिगत रूपमा अनुभुति गर्ने कुरा भए पनि राष्ट्रको सवालमा भने देखाउनकै लागि भए पनि गज्जब भयो भन्ने अनुभुति हुँदोरहेछ । नेपालीहरू स–साना कुरामा पनि खुशी हुने मानिसभित्र पर्छन् । हामीलाई खुशी हुनका लागि ठुलो कुरा चाहिँदैन, देशका प्रधानमन्त्रीले इज्जत बचाएर विदेशी मञ्चमा बोल्दा या विदेशी पत्रकारलाई अन्तवार्ता दिँदा मात्रै पनि हामी दङ्ग पर्छौं । कतिपय देशका मानिसलाई यस्ता कुरासँग मतलबै हुँदैन । आफूले के पाएँ, के पाइनँ भन्ने कुराले उनीहरूलाई बढी अर्थ राख्छ ।
मुलुक, समाज, परिवार, आफै पनि अनेक परिस्थितिबाट गुज्रिरहँदा हामी धेरै हतास हुदैनौँ । ठिकै छ, हेरौँ न, भइहाल्छ नि, यस्तै त हो नि… भनेर विभिन्न परिस्थितिलाई सहज रूपमा लिने हाम्रो बानीले हामीलाई दुःखी हुनबाट बचाएको छ ।
हाइटीको भूकम्पको रिपोर्टिङ गरेको अनुभवका कारण नेपालको भूकम्पको रिपोर्टिङमा खटिएकी एक अमेरिकन पत्रकारले गोरखाबाट फर्किएपछि यो पङ्क्तिकारसँग भनेकी थिइन्- ‘हाइटीमा मैले फोटो खिच्न लाग्दा त्यहाँका मानिसले मेरो क्यामेरा फुटाउन खोजेका थिए । बोल्न खोज्दा पैसा मागेका थिए । तिमीहरूको देशमा आफ्नो घर भत्किएर पालमा बसेका पीडितले त्यति टाढाबाट हाम्रो दुःखको रिपोर्टिङ गर्न आएकी तिमी पत्रकारलाई एक छाक खाना खुवाउन पाएनौँ भनेर दुःख ब्यक्त गरे । नेपालमा जति राम्रा मान्छे अरु देशमा पाइँदैन ।’
हामी स-साना कुरामा पनि मुस्कुराउँछौँ । एक-दुई वर्षमा आउँछ भनेर सुरु गरेको मेलाम्चीको पानी ३० वर्षपछि अब चाँडै आउँछ रे भनेको सुन्दा दङ्ग पऱ्यौँ, परिरहेका छौँ । कर्मचारीले चाँडो काम गरिदियो भनेँ हामी धेरै पटक हात जोडेर नमस्कार मात्र गर्दैनौँ, यस्तो कर्मचारी पनि मुलुकमा छ है भनेर प्रचार गर्छौं । जनताको काम चाँडो गर्नु उसको कर्तब्य हो भनेर ट्याक्सको सदुपयोग भएको ठान्दैनौँ ।
सन् २०१२ देखि संयुक्त राष्ट्रसंघले सुरु गरेको खुशीको मापनमा वर्षौंदेखि स्क्यान्डेनेभियन मुलुकहरू अगाडि छन् । सबैभन्दा खुशी देशहरूमा फिनल्याण्ड, आइसल्याण्ड, डेनमार्क, स्वीजरल्याण्ड लगायत छन् । आइसल्याण्ड विश्वमा सबैभन्दा शान्तिपूर्ण मुलुक पनि हो । यसरी हेर्दा खुशी र शान्तिबीच गहिरो सम्बन्ध देखिएको छ । प्रायः अशान्त रहने द्वन्द्वग्रस्त अफगानिस्तान, सुडान, जिम्बावे, रुवान्डा, तान्जानिया लगायतका मुलुकहरू बेखुशी मुलुकमा दर्ज भएका छन् । खुशीको उल्टो दुःख हुन्छ । यी दुःखी मुलुकहरूको दुःखको मुख्य कारण आन्तरिक द्वनद्व हो । नागरिकको जीवनको गुणस्तर मापन गरेर राष्ट्रिय आधार तय गर्ने खुशी मापनको सुरुवात सन् २०१२ बाट भएको हो । सन् २०१३ मा १३४औँ स्थानमा रहेको नेपालले यो ८ वर्षको बीचमा ४७ वटा देशलाई उछिन्न सफल हुनु खुशीकै कुरा हो ।
आफ्नो घर भत्किएर पालमा बसेका पीडितले त्यति टाढाबाट हाम्रो दुःखको रिपोर्टिङ गर्न आएकी तिमी पत्रकारलाई एक छाक खाना खुवाउन पाएनौँ भनेर दुःख ब्यक्त गरे । नेपालमा जति राम्रा मान्छे अरु देशमा पाइँदैन ।’
ओशो रजनीशले मानिसहरू दुःखलाई भरोसा गर्ने र सुख, खुशीलाई सन्देहले हेर्ने गर्छन् भन्नुभएको छ । हुन पनि अहिले ‘नेपाल दुःखी मुलुकको रूपमा अगाडि’ भनेको भए हामी चुपचाप स्वीकार्दै भन्ने थियौँ, हो नि खुशी हुनलाई हामीसँग के छ र ? तर अहिले ‘ह्याप्पीनेस इन्डेक्स’मा मुलुकले दक्षिण एशियामा अरुलाई पछाडि पारेको कुरालाई लिएर प्रश्न गरिरहेका छौँ, नेपालीहरू के कुराले खुशी भए ? के छ हामीसँग ? वास्तवमा हामीसँग अरुसँग नभएको धेरै कुरा छ । संस्कृतिप्रतिको गौरव, विविधताको सम्मान, आफ्नोपन, आत्मियता, समाजिक र पारिवारिक जीवन जुन अन्य धेरै मुलुकमा छैन ।
शास्त्र भन्छ- ब्यक्तिगत जीवनमा पाँच कुरा हुने मानिस खुशी र सुखी हुन्छन्, विद्या, असल जीवनसाथी, नियमित पैसा आउने गरी खाने ठाउँ, राम्रो स्वास्थ्य र भनेको मान्ने अर्थात् आज्ञाकारी सन्तान । तर यी पाँच कुरा एउटै मानिसको जीवनमा पाउन गाह्रो छ । कोही विद्वान् छन् तर जीवनसाथीसँग समस्या छ । कसैको पति-पत्नीबीच सम्बन्ध राम्रो छ तर धन आर्जन हुने ठाउँ छैन । कसैको पति-पत्नीबीच राम्रो सम्बन्ध छ, विद्या पनि छ तर सन्तानबाट सुख छैन । कसैको सन्तानबाट सुख छ, काम पनि छ, सम्बन्ध पनि राम्रो छ तर स्वास्थ्य राम्रो छैन । यी पाँचै कुराको तालमेल मिल्ने मान्छेहरूको संख्या सानो छ ।
मुलुकको सवालमा पनि ‘ह्याप्पीनेस इन्डेक्स’ले तय गरेका सबै कुराहरू पूरा गर्न सबै मुलुकलाई गाह्रो छ । सम्पन्न मुलुकहरूमा पैसा र शान्ति त छ तर आफ्नोपन छैन । कसैसँग के छैन, कसैसँग के…, यस्तो त भइ नै रहन्छ, तर हामीले सुधार गर्नैपर्नेचाहिँ सुशासन हो । मुलुकमा भ्रष्ट्रचाररहित वातावरण निर्माण गर्न सक्ने हो भने निकट भविष्यमै विश्व मानचित्रमा नेपाल खुशीमा निकै अगाडि हुनेछ ।
प्रतिक्रिया