चार प्रकारका राष्ट्रवादी

चार प्रकारका राष्ट्रवादी


  • स्वयम्भूनाथ कार्की

कुनै न कुनै भावनाले, सोचले वा अपनत्वले जोडिएका जनता अनि तिनलाई जोडेर राख्ने परम्परा, इतिहास, रीतिरिवाज, गौरव आदि राष्ट्र हो । वर्तमान नेपालको संविधानमा धारा ३ मा पनि यही उल्लेख छ । अर्थात्, राष्ट्र हुन भुगोल गौण मान्छ यसले । तर यस्तो एकता सुत्रले बाँधिएकाहरू बस्ने भूगोल पनि राष्ट्रको सम्पत्ति हो । यही राष्ट्रलाई माया गर्ने वाद हो राष्ट्रवाद । यसभन्दा अतिरिक्त न राष्ट्रवादको परिभाषा हुन्छ न राष्ट्रवादीको कर्तव्य नै । अरु कुनै कठिन सैद्धान्तिक व्याख्या राष्ट्रवादको छैन । अरु जस्तो एक वादको अनुयायी भएपछि अर्को वादमा अछुत ठानिने जस्तो वाद हैन राष्ट्रवाद ।

विगत लामो समयदेखि केहीे वर्ग र उनीहरूका अनुयायीहरूले ‘राष्ट्रवाद’ शब्दलाई नै अछुत मानिरहे । दृष्टिदोषको कारण उनीहरूले नेपालको राष्ट्रवाद भारतविरुद्धको भावना माने । राष्ट्रवाद न कुनै देशको विरुद्ध हुन्छ न कुनै देशको समर्थनमा, यो त मात्र आफ्नो राष्ट्रको मायामा हुन्छ । आफ्नो राष्ट्रलाई माया गर्ने व्यक्ति अरु कसैको पनि राष्ट्रको विरुद्ध हुन सक्दैन । आफ्नो राष्ट्रप्रति अरुका व्यवहारअनुसार अस्थायी रूपमा कतैपटि नजिक र कतैपटि टाढा भएको जस्तो लाग्न सक्छ । तर यो केवल आफ्नो राष्ट्रप्रति समर्पण मात्र हो । परिस्थितिविषेशमा वनारसमा शिक्षा लिनेहरूलाई आफ्नो ज्ञानभूमिप्रति आफ्नो राष्ट्रले कर्केनजर लगाएको जस्तो लागेको हुन सक्छ । पछि यो सूचीमा जवाहरलाल नेहरू विश्वविद्यालयलगायतका अन्य स्थानमा शिक्षा हासिल गर्ने समेत थपिएका हुन् । मुलुकमा शिक्षाको ज्योति फैलाउन यस्तै बाहिरबाट शिक्षितलाई नै नेपाली विद्यार्थी सुम्पिइयो । राष्ट्रले नागरिकको पहिलो वफादारिता राष्ट्रप्रति छ भन्ने सोच्यो, तर त्यस्तो भएन ।

शिक्षकको प्रभाव परेकाहरूले आज पनि नेपाल आफूले केही गर्न नसक्ने निरीह भन्ने मान्छन् । कि भारतको कि त चीनको औंला नसमाती केही गर्न सकिन्न भन्ने कुरा उनीहरूमा शैशवदेखि नै भरिएको छ । राजा महेन्द्रले यही मान्यता भत्काउन खोजे । खोजे मात्र हैन धेरै मात्रामा भत्काए पनि । उनको यही कथित ‘अपराध’को सजायजस्तै भएको छ महेन्द्रको नाममा छोइछिटो । राष्ट्रवाद र महेन्द्रलाई लगातार दशकौँसम्म छोइछिटो गरे पनि अहिले आएर सबैलार्ई राष्ट्रवादी भनाइन परेको छ । महेन्द्रले गरेका कुरा नाम परिवर्तन गरेर भए पनि पछ्याउनु परेको छ । छोटो यस आलेखमा सबै चर्चा सम्भव छैन । केवल वर्तमानमा देखिएका चार प्रकारका राष्ट्रवादी परिभाषा गर्न यति आधारभूमि आवश्यक थियो ।

नेपाली समाजमा वर्तमानमा यही चार प्रकारका राष्ट्रवादी देखापरेका छन् । पहिला दुई राजावादीसमेत हुन् भने तेश्रामा बहुसङ्ख्यक गणतन्त्रवादी छन्, केही फलाना राजा नभए राजा त चाहिन्छ भन्ने छन् । कोही संसद्ले नियुक्त र नियन्त्रण गर्ने राजा पनि भन्छन् । तर, चौथो प्रकारमा राजसंस्था हुनु हुँदैन भन्नेहरू मात्र छन् ।

पहिलो प्रकारको राष्ट्रवादी ती हुन् जो राष्ट्रलाई सर्वोपरि ठान्छन् । नेपालको परम्परामा राजमुकुटको अपरिहार्यता बोध गरेर राजावादी पनि भएका छन् । तर कुनै पनि वेला राष्ट्र र राजाबीच चुनाव गर्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था आयो भने राष्ट्र चुन्न रत्तिभर पनि हिचकिचाहट हुन्न । त्यस्तै धर्म र राष्ट्रबीच रोज्नु परेमा राष्ट्र नै खुशीले रोज्छन् ।

दोश्रो प्रकारमा राजावादी भएको कारणले राष्ट्रवादी भएकाहरू छन् । यस प्रकारका राष्ट्रवादीहरू बरु राष्ट्रहितमा केही आँच आए पनि पछि त्यसलाई ठिक गर्न सकिन्छ तर राजा पहिला भन्ने मान्यता राख्छन् । जहाँ पहिलो प्रकारकाहरू ‘मेरो गर्दन चिलाएको हो कि सरकारलाई केही भएको ! तर रुख त बाङ्गो नै छ’ भन्ने हिम्मत राख्छन् । यस्तो अवस्थामा दोश्रा प्रकारकाहरू भने ‘सरकारबाट गल्ती नै हुन्न’ भन्छन् । यही प्रकार नै राजाका प्यारा हुन्छन् । तर सङ्कटको समयमा यस्ताबाट कुुनै साथ हुन्न । यस्ता असहाय अनि निरीह हुन्छन्, यस्ताहरू सधैं आफूलाई साहारा दिनुपर्ने मान्छन् ।

तेश्रो प्रकारमा मौसमी राष्ट्रवादी पर्दछन् । जब राष्ट्रलाई कुनै कठिनाई परेको महसूस हुन्छ तुरन्त उग्र हुन्छन् । जसले आफ्नो देशलाई हानी गर्न खोजेको जस्तो लाग्छ त्यसको सेखी झार्न जे पनि गर्न तैयार हुन्छन् । भावनामा, कार्यमा यिनीहरूमा भएको जोश अरुमा सम्भव छैन । यिनीहरू वर्तमानको कसीमा सबै कुरा हेर्छन्, भूतकालमा सबै काम राष्ट्रविरोधि भएको देख्छन् । एउटाले पिरेमा अर्कोसँग पुकारा गर्नु गलत हो भन्नेलाई सम्भव भए काँचै चबाउँ जस्तो गर्दछन् ।

चौथो प्रकारमा हामी पनि हौँ भन्ने राष्ट्रवादी पर्दछन् । सामान्यतया कसैले राष्ट्रवादी भनिदिएको यिनीहरूलाई उत्तिसारो मन पर्दैन । तर अरु सबैले आफूलाई राष्ट्रवादी भन्दा तिमीहरू मात्र होइन हामी पनि राष्ट्रवादी भन्दछन् । अन्धो राष्ट्रवादी भने होइनौँ भनेर आफूलाई अलग गर्न पनि खोज्छन् । अरु तीन किसिमकाको मिनमेख निकाल्न मात्र आफूलाई ‘म पनि राष्ट्रवादी’ भन्छन् ।

नेपाली समाजमा वर्तमानमा यही चार प्रकारका राष्ट्रवादी देखापरेका छन् । पहिला दुई राजावादीसमेत हुन् भने तेश्रामा बहुसङ्ख्यक गणतन्त्रवादी छन्, केही फलाना राजा नभए राजा त चाहिन्छ भन्ने छन् । कोही संसद्ले नियुक्त र नियन्त्रण गर्ने राजा पनि भन्छन् । तर, चौथो प्रकारमा राजसंस्था हुनु हुँदैन भन्नेहरू मात्र छन् । तपाईं कुन प्रकारको राष्ट्रवादी पर्नुभयो, आफैं छुट्याउनुस् !