विश्वब्यापी रूपमा फैलिएको खतर्नाक रोगको महामारीलाई नै भुलाइदिने यहाँको अनुत्पादक ‘राजनीति’लाई कोरोना भाइरसभन्दा पनि डरलाग्दो रोगको संज्ञा दिँदा शायदै अतिरञ्जना ठान्नु पर्ला !

सबै तह-तप्कामा ‘राजनीति’ले गाँजेको मुलुक हो नेपाल । बस्दा, उठ्दा, हिँड्दा, बोल्दा वा गफिँदा हरदम राजनीतिक विषयबस्तुलाई केन्द्रमा राखेर व्यवहार गर्ने आदत सबै नेपालीमा परिसकेको छ भन्दा अत्युक्ति नठहरिएला । यहाँको राजनीतिले नै देशलाई बर्बाद पारिरहेको छ, अस्वस्थ र अस्थिर राजनीतिले मुलुकको अस्तित्व नै मेटाउनेसम्मको खतरा उत्पन्न गराएको छ र पनि राजनीति सुधार्नेभन्दा दिगमिगलाग्दो राजनीतिमाथि नै चाख दिएर अलमस्त रहने गजबको स्वभाव विकसित भएको छ नेपालीजनमा । यसले अन्य यावत् महत्वपूर्ण विषयलाई नै ओझेल पारिदिने विष्मयकारी परिवेश निर्माण गरिरहेको अनुभूति गराएको छ । यस्तै यावत्मध्येको एक ज्वलन्त विषय हो कोरोना महामारीप्रतिको उदासिनता ।
कोरोना महामारीले शुरुमा भयाक्रान्त परिवेश पैदा गरे पनि मानवीय क्षतिको दृष्टिबाट विश्वका अन्य मुलुकको तुलनामा निकै कम प्रभाव परेकोले नेपालीमा कोरोनाप्रतिको भय जादुमयी ढङ्गबाट हट्न पुग्यो । कतिपय मानिस अझै कोरोनाको त्रासबाट मुक्त भइसकेका छैनन् भन्ने उदाहरण नभएका होइनन्, कोरोनाको लपेटमा परेर जोगिएका कैयन व्यक्ति अझै यसको दुष्प्रभाव सम्झेर झस्किँदै पनि होलान्, तर आम तवरमा चाहिँ नेपाली जनमानसले कोरोनाको कहर एक प्रकारले भुलिसकेका छन् । अर्थात्, मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमले कोरोना नै बिर्साइदिने भूमिका निर्वाह गरेको छ । राजनीतिको दबदबा यतिसम्म चलेको छ देशमा । विश्वब्यापी रूपमा फैलिएको खतर्नाक रोगको महामारीलाई नै भुलाइदिने यहाँको अनुत्पादक ‘राजनीति’लाई कोरोना भाइरसभन्दा पनि डरलाग्दो रोगको संज्ञा दिँदा शायदै अतिरञ्जना ठान्नु पर्ला !
विश्वका कैयन मुलुकमा कोरोना महामारीको दोस्रो लहर शुरु भएको छ । सबै हिसाबले नेपालभन्दा सक्षम र सबल मुलुक पनि कोरोना कहरबाट जोगिन पुनः ‘लकडाउन’ र यस्तै अन्य उपायहरूको अवलम्बनमा जोड दिइरहेका छन् । विभिन्न भ्याक्सिनको अनुसन्धान, उत्पादन र उपलब्धताले पनि तिनलाई आश्वस्त तुल्याउन सकेको छैन र, भौतिक दूरी कायम गर्ने, मास्क पहिरिने, भीडभाड नगर्ने र बन्दाबन्दी नै लागू गर्ने जस्ता उपाय अपनाउँदै छन् विकसित पश्चिमा मुलुकहरू । त्यहाँको राजनीति अधिकतम् कोणबाट नागरिककेन्द्रित नै हुने हुँदा कोभिड–१९ को दोस्रो लहरबाट पैदा हुन सक्ने सम्भावित दूरावस्थालाई निम्तन नदिन राज्य हर कोणबाट लागिपर्ने र नागरिकले पनि सोही ढङ्गबाट आफूलाई जोगाउन कोरोनासम्बन्धी नियम पालनामा ध्यान दिने गरेका पाइन्छन् । यस्तोमा नेपालीजनमा यस खालको सचेतना नदेखिनु खतराको द्योतक हो । किनकि, कोरोनाका नयाँ–नयाँ रूप देखिएका छन् र कुनै पनि बेला जहाँ-कहीँ यसले दुष्प्रभाव फैलाउन सक्छ, झुक्याएर घात गर्न सक्छ, विज्ञजनको यस्तै मत छ ।
तर, सम्भावित खतराप्रति हामी उदासिन छौँ । जनस्वास्थ्यका नियम पालना गर्न छोडेका छौँ । ‘कोरोना गयो, महामारी सकियो, हामीले जित्यौँ’ भन्ने भाव हामीमा उत्पन्न भएको छ । ‘भ्याक्सिन आइसक्यो अब केको डर ?’ भन्ने भाव पनि अधिकतर देखिएको छ । तर, यस्तो ठान्नु महाभुल हो । विगतबाट पाठ सिक्न नखोज्नु या गल्ती दोहोर्याउनु अभिसाप सावित हुन सक्छ ।
छिमेकी मुलुक भारतमा कोरोना महामारीको दोस्रो लहर देखापरिसकेको छ । दिनहुँ हजारौँको सङ्ख्यामा सङ्क्रमित भएका छन् र मृत्युको दर पनि अनपेक्षित रूपमा वृद्धि भएको छ । भारतसँग हाम्रो खुल्ला सीमा रहेको र नेपालसँग सीमा जोडिएका क्षेत्रमै त्यहाँ महामारी फैलिरहेको अवस्था विशेष मननीय रहेको छ ।
नेपालमा पनि सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेका छ । शुन्यमा झरेको मृत्युदरमा फेरि बढोत्तरी देखिएको छ । पुनः परीक्षणको दायरा बढाउने हो भने सङ्क्रमितको सङ्ख्या बढ्ने निश्चित छ । यस्तोमा सामान्य अवस्थामा जस्तै व्यवहार गरिन थालिएको छ । स्कुल-कलेज पूर्ववत् सञ्चालन गरिएका छन् । सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, बैठक जस्ता भीडभाडका कार्यले व्यापकता पाएको छ । भौतिक दूरी कायम गर्ने, मास्क पहिरिने, समय-समयमा साबुनपानीले हात धुने जस्ता कोरोनाले सिकाएको अनुशासन ‘एकादेशको कथा’ जस्तो हुँदैछ ।
नगन्य मात्रामा खोप उपलब्ध भएको छ र, खोपको विश्वसनियतामाथि पनि प्रश्नचिन्ह खडा नै छ । शुरुमा जसरी खोप उपलब्ध हुने आश्वासन दिइएको थियो, त्यसमा ‘ब्रेक’ लागेको छ । दोस्रो चरणको खोप कार्यक्रम थाती नै छ भने समस्त नागरिकले खोप पाउने कुरा कोरा कल्पनाजत्तिकै छ । यस्तो यथार्थताप्रति नजरअन्दाज गर्दै कोरोनालाई बिर्सन खोज्नु या लापर्वाह बन्नु आत्मघातसरह हो । सरकार र आमनागरिक दुवै पक्ष यसप्रति संवेदनशील बन्नु यतिबेलाको आवश्यकता हो । फगत सत्ताप्राप्तिको हतियार बनाएको ‘राजनीति’लाई अब नागरिकप्रति उत्तरदायी तुल्याइयोस्, र नागरिकले पनि सस्तो राजनीतिक घटना-परिघटनाप्रतिको फोस्रो अनुराग त्यागेर शान्त, स्वस्थ र समुन्नत जीवन बाँच्ने प्रयत्नमा प्रतिबद्धता दर्शाउनु आजको आवश्यकता हो ।
प्रतिक्रिया