भलादमी हुन सक्दिन ऊ !

भलादमी हुन सक्दिन ऊ !


  • दुर्गाकिरण तिवारी

जब धरापमा पर्छ आदर्श र स्वभिमान
विद्रोह ओकल्छ स्वतः
मस्तिष्कमा अनि कोमल हदयमा लागेका आघातहरू
हो.. डस्न बिष ओकल्न आउने कयौँ सर्पहरूले
सुत्न दिँदैनन् र, कयौँ रात भयमा बित्छन् ।
तर सबै सर्पहरू एकनास हुँदैनन्
कति बिषालु त कति..
सबै पुज्नलायक पनि हुँदैनन्
सर्पका रूप र स्वभाव फरक–फरक हुन्छन्
बिषालु सर्प अघि पर्छ बिष ओकल्न थाल्छ
स्वतः बिद्रोहको लाठी उठ्छ
त्यसैले कसैका नजरमा
भलादमी हुनै सक्दिन ऊ !
भद्र समाजले दिएको
मानसिक यातनाको पराकाष्टा
आफैं आफ्नै देहले प्रतिवाद गर्छ
र बाध्यतामा विद्रोह ओकल्छ
खेलौना बनाउने कुरा खेल खेलाउने कुरा
रङ्गमा रङ्ग्याउने कुरा
न आत्माले मान्यो न देहले
त्यसैले त विद्रोह ओकल्छ स्वभिमान
त्यसैले यो धुर्तहरूको भीडमा
भलादमी हुनै सक्दिन ऊ !
अभेद्य ती सीमाहीन पर्खालहरू देखेर
तिम्रो मनोमानी कतै मान्य छैन
तिम्रा बिर्यमा कुत्सित स्वार्थ मिसिएको
दुर्गन्ध आइरहेको छ सबैतिर पोल्ने गरी
र त नाक, मुख, मन
सबै थुन्न बाध्य छ स्वाभिमान
त्यसैले तिम्रा नजरमा
भलादमी हुनै सक्दिन ऊ !
आशक्तिले फिजिएको तिम्रा बाहु
बासनाले लपेटिएको तिम्रो मन
हुस्सुको अँधेरोमा गुजिल्टिएर
स्वार्थको अँगालोमा बाँधिन खोज्छ
हृदय जलाएर अस्तित्व खरानी बनाउन
अथवा खरानीलाई धुवाँ बनाइ
उडाउन नसकेर
मनले जिद्दी गर्छ पटक्कै टेर्दैन
स्वाभिमानमा बाँचेको छ र त !
तिमीजस्तै घिन निर्घिणी र,
लाचार बन्न सक्दैन
त्यसैले भलादमी हुनै सक्दिन ऊ ।