इतिहासको पुस्तक

इतिहासको पुस्तक


  • राजेश ढुंगाना

हाम्रो इतिहासले भनिरहेछ
हामी हरदम मौन ब्रत लिएर बस्छौँ
हाम्रो वर्तमान बोलिरहेछ
हाँस्नुपर्ने ठाउँमा कहिल्यै मुस्कुराउन नसकेर
हामी सधैं रोइरहेछौँ ।
परिवर्तन हुनु
मात्र एउटा झण्झट झैँ लाग्छ हामीलाई
र, हाम्रो यही कायरताले
यहाँ हरेक दिन बिहान सूर्य उदाउनु सँगसँगै
एउटा साथ मर्ने गर्छ !

हो,
हाम्रो इतिहास
अदालतको कटघरामा उभिएर बकिरहेछ–
हामी हरदम मौन ब्रत लिएर बस्छौँ
हाम्रो वर्तमानले बोलिरहेछ–
जंगबहादुर जन्मँदा
मुस्कुराएर स्वागत गर्ने गलत बानी भएका हामी
जब देश भक्तिका कुरा गर्छौैं
तब त्यही हामीले
बहादुरताको रामायण रट्ने गरेको
इतिहासको पुस्तक
हामीलाई गिज्याउँदै ताली बजाइरहेको हुन्छ !