- नीरज बराल

पर्यावरण एक अहम् मुद्दा हो । पर्यावरणका तीन आधार स्तम्भ हुन्- सामाजिक, आर्थिक र सांस्कृतिक । भारतको छत्तिसगढमा उब्जनी भएको अनाज अफ्रिकाबाट फिर्ता भयो, किनकि त्यसमा किटनाशक औषधिको प्रयोग भएको पाइयो । पर्यावरणलाई सही-सलामत हालतमा राख्न यस्ता हानिकारक दबाइहरूको प्रयोग रोक्नु पर्दछ । यसका नकारात्मक असरहरू वायु प्रदूषण, ओजोनको तह घट्नु, वैश्विक तापमानमा वृद्धि आदि जस्तामा बृहत् स्तरमा देख्न सकिन्छ ।
विकासको नाममा भइराखेको प्राकृतिक वनजङ्गलको अनधिकृत फडानीले मानवको जीवन–चक्रलाई अत्यधिक नोक्सान गरिरहेको छ । वनविनासले जलवायु परिवर्तनका दुष्परिणामहरू अकल्पनीय ढङ्गले बढोत्तरी भइरहेको पढ्न-सुन्न पाइन्छ । यसको असर कम गर्ने एउटै सर्वमान्य उपाय भनेको रुख बिरुवाको अधिका अधिक संरक्षण तथा सम्बद्र्धन र न्यूनभन्दा न्यून कार्बन उत्सर्जन गर्नु नै रहेको छ ।
लगातारको बढ्दो कार्बन उत्सर्जनले पृथ्वीको मौसममा गम्भीर असरहरू देखिरहेको छ । साथै यसले गर्दा पृथ्वीको तापमान वृद्धि भइदिनाले उत्तरी र दक्षिणी ध्रुवको विशाल हिम खण्डमा चिरा–चिरा परेर लगातार फुट्ने क्रम जारी छ । फलस्वरूप हिउँ पग्लिँदै गएकाले समुन्द्रको जलस्तर बढिरहेको छ । संयुक्त राष्ट्र सङ्घको विश्व मौसम संगठनले २०२० मा एटलान्टिक महासागरमा धेरै संख्यामा उच्च हावाहुरी रेकर्ड गरेको साथसाथै हिन्द महासागर र दक्षिण प्रशान्त महासागरमा समेत उच्च उष्णता युक्त आँधी तुफान बढेको बताएको छ । प्रकृतिले लगातार दिइरहेको चेतावनीलाई अनदेखा गर्नु भनेको मानव सभ्यतालाई सङ्कटको भुमरीमा धकेल्नु हो ।
विश्व मौसम संगठनका अनुसार समुन्द्र तटीय क्षेत्रवरपर वैश्विक आवादीको ४० प्रतिशत मानव बसोबास गरिरहेको बताउँदछ । साथसाथै समुद्रमार्फत हुने र नाइल नदीसँग जोडिएका प्रत्यक्ष–अप्रत्यक्ष रूपमा ६ अर्ब मानिसको जनजीविका आश्रित छ भने वार्षिक रूपमा करीब ३ देखि ६ खर्ब डलरको आर्थिक कारोवारले योगदान दिइरहेको पनि बताउँदछ । जो विश्व व्यापारको तीन चौथाई भन्दा पनि बढी हो । बढ्दो हावाहुरी, तीव्र पानीको बहाव, निरन्तरको उच्च सामुद्रिक लहर, घना कुहिरो, बढ्दो धुवाँधुलो जस्ता कारणहरूले हरेक वर्ष करोडौँ डलरको नोक्सान हुनुका साथै सैकडौँ व्यक्तिले ज्यान गुमाइरहेका छन् । मौसम परिवर्तनले समुद्रको हालत असाध्यै बिग्रिँदै गएको छ । जीवनरक्षक निगरानी प्रणाली र पूर्वचेतावनी दिने सेवाहरूमा समेत गम्भीर धक्का लागेको छ ।
प्रकृति मानवको उपयोगको लागि बनेको हो भनेर बुझ्नु नै सबैभन्दा ठूलो भूल हो । अझ यसो भनौँ प्रकृति माथि मानवले मनपरी ढंगले प्राकृतिक संसाधन चलाउनु नै महाअपराध हो । पर्यावरणको समस्या मानवीय लोभ-लालचको दुष्परिणाम बाहेक अरू केही हुँदै होइन ।
मानव जीवन खातिर पृथ्वीमा रहेको समुद्रले उच्च मात्राको गर्मीलाई सोसेर अहम् भूमिका खेलिरहेको हुन्छ । बदलिँदो मौसमको कारणले समुद्रको पानी चाहिने भन्दा बढी तातो हुँदै जानाले रसायनिक परिवर्तन भएर परिस्थिति नाजुक हुँदै गएको छ । बीसौँ शताब्दीको दौरान समुद्रको जलस्थर १५ प्रतिशतले बढेको कुरा विश्व मौसम संगठनले बताइसकेको छ । अनि एक्काइसौँ शताब्दीको अन्त्यसम्ममा समुद्रको जलस्थर ३० देखि ६० सेन्टिमिटर बढ्न सक्ने अनुमान उल्लेख गर्दछ । हरितगृह ग्यासको उत्सर्जन यही हालतमा बढ्दै जाने हो भने यो जलस्तर बढेर ६० देखि ११० सेन्टिमिटरसम्म पुग्न कत्ति बेर लाग्ने छैन ।
पछिल्लो २० वर्षमा प्राकृतिक विपत्तीमा खास वृद्धि हुँदा आर्थिक र मानवीय दुवै क्षतिले बढ्दो दरमा पिरोलेको छ । संयुक्त राष्ट्रसंघले बताइसकेको छ कि संसारभरि २०००–२०१९ को बीचमा संख्यात्मक रूपमा भन्दा ७,३४८ वटा ठुल्ठूला विपत्तीको सामना हुँदा ४.२ अर्ब मानिस प्रभावित भए भने १२.३ लाखले ज्यान गुमाए र २.९७ लाख करोड डलर आर्थिक नोक्सानी व्यहोर्नु पÞ¥यो ।
सबैभन्दा बढी क्षति सुख्खा, बाढी, सुनामी, भूकम्प, डढेलो र अत्यधिक तापमान वृद्धिले गर्दा भएको छ । पृथ्वीको लगातारको तापक्रम वृद्धिले आगामी दशकमा लु र सुख्खाले सताउने वैज्ञानिक आँकलन रहेको छ । खासगरी गरिब देशले ‘लू’को चपेटाको अत्यधिक सामना गर्नुपर्नेछ ।
जलवायु सङ्कटको कारणले सबैभन्दा अत्यधिक नोक्सान भएको छ । वैश्विक तापमान यस्तै गरी अनियन्त्रित ढङ्गले वृद्धि भइराखेमा नेपाल जस्तो नदीनालाको धनी देश, भविष्यमा यी सप्पै सुकेर सुख्खा बगर मात्र देख्न धेरै समय पर्खनु नपर्ला ।
विश्व मौसम सङ्गठन भन्दछ आगमी ५ वर्ष विश्वको तापमान क्रमशः बढ्दै–बढ्दै १.५ डिग्री सेन्टिग्रेट भन्दा माथि जान सक्छ । जबकि वैज्ञानिकहरूले निर्धारण गरेको तापक्रमको सीमा १.५ डिग्री सेन्टिग्रेट छ जो आफैंमा भयङ्कर खतराको सूचकाङ्क मानिएको छ । अब पनि मनुष्यले खेलाँची गरी राख्यो भने वैश्विक तापमान वृद्धिको अकल्पनीय जोखिमको शिकार हुनेछ । यसको लागि सरकारले पूर्व चेतावनी प्रणालीको उपकरणमा लगानी बढाउनुपर्ने देखिन्छ । आजसम्म भए-गरेका कार्य भन्दा बढी संयुक्त राष्ट्रसंघले अझ आफ्नो भूमिकालाई सक्रिय पार्नुपर्नेछ ।
हतियार र युद्धमा अर्बौं अर्ब खर्च गर्नुभन्दा बरु विश्व जलवायु संरक्षण खातिर शिक्षामा लगानी बढाउनु मानव र पृथ्वी दुवैको हित अनुकुल हुन जाने थियो । जसले गर्दा प्रत्येक वर्ष लगभग ५ मिलियन हेक्टर वन फडानी हुनबाट जोगिन्थ्यो । अनि आउँदो सय वर्षभन्दा कम समयमै सबै वन सफाचट हुने स्थितीको अन्त्य केही हदसम्म रोकिने थियो ।
प्रकृति मानवको उपयोगको लागि बनेको हो भनेर बुझ्नु नै सबैभन्दा ठूलो भूल हो । अझ यसो भनौँ प्रकृति माथि मानवले मनपरी ढंगले प्राकृतिक संसाधन चलाउनु नै महाअपराध हो । पर्यावरणको समस्या मानवीय लोभ-लालचको दुष्परिणाम बाहेक अरू केही हुँदै होइन ।
मानवले आफ्नो सुख भोग खातिर प्राकृतिक संसाधनहरूलाई अनुचित ढङ्गले प्रयोग गरेका कारण भोग्नु परिरहेको दुष्परिणामहरू अकल्पनीय हुँदै गएका छन् । अब पनि मानव जातिले नचेत्ने हो र रामरमिता तथा रवैया यस्तै राख्दै जाने हो भने यस शताब्दीको अन्त्य सम्ममा समुद्रको जलस्तर १०० सेन्टिमिटरभन्दा माथि उक्लेर तहसनहसको शिकार हुन धेरै समय कुर्नुपर्ने छैन ।
संयुक्त राष्ट्र सङ्घको वातावरणीय कार्यक्रम भन्दछ कि सन् २०३० सम्ममा वातावरणीय प्रभावहरूको अनुकुलता धारण खातिर बार्षिक खर्च ३०० विलियन डलर भन्दा बढी हुन सक्दछ भने यस शताब्दीको मध्य सम्ममा बढेर ५०० विलियम डलर पुग्नेछ ।
नेपाल, भारत, चीन जस्ता देशहरूमा वायु प्रदूषणले समेत कार्डियोभास्कुलर र साससम्बन्धी रोगका बिरामीहरू बढ्नुका प्रमुख कारण हुन पुगेको छ ।
पर्यावरणमा भएको बदलाव र प्राकृतिक विपत्तिको सबैभन्दा दुःखद पक्ष यो हो कि गरिब र असमर्थ मानिसले सबैभन्दा बढी मार खेप्नु पर्दछ । गरिब राष्ट्रहरू मध्ये पनि जो अलि धेरै समस्याग्रस्त छन् तिनीहरूलाई मौसमी घटनाहरूको सामना गर्न न्यून क्षमताका कारण अत्यन्तै कठिन छ । यसका लागि उनीहरूलाई आर्थिक र प्राविधिक सहयोगको नितान्त खाँचो परिसकेको छ ।
हिमतालहरूको बढ्दो पग्लने क्रम, समुद्रको पानीको तापक्रम बढ्नु, अन्टार्कटिका र ग्रीनल्याण्डमा पातलिँदै गएको बरफका सतहहरूले मानव सभ्यतामाथिको जोखिमलाई इङ्गित गर्दछ । आगामी २० वर्ष पनि यस्तै गरी प्राकृतिक विपत्ती जारी रहे मानव जातिको भविष्य अन्धकारमय हुने देखिन्छ । पृथ्वीको रक्षा खातिर दिनरात केही नभनी काम गर्नुपर्ने अवस्था सिर्जना भएको छ । पृथ्वीमा मानवको सुखद् भविष्यको यात्रा अगाडि बढाउन खातिर बिशेषतः दुई चिजलाई मुख्य रुपमा विहंगम ढङ्गले अझ बढी परिभाषित गरेर लैजानु नितान्त जरुरी भइसकेको छ- मानवको स्वास्थ्य र धर्तीको वातावरण ।
पर्यावरणको समस्यालाई बृहत् विज्ञानको चिन्तनले हल गर्न सकिन्छ । नीति निर्माता, वैज्ञानिक र सरोकारवालाहरूको समूहगत प्रयासले समाधानका विकल्पहरू निकाल्न भरमग्दुर प्रयत्न गर्नुपर्ने देखिन्छ । मूल कुरो, यसको बचाव खातिर रुख बिरुवालाई आफ्नो आफन्तको झैँ हेरचाह र रेखदेख चाहिन्छ ।
खेतबारीमा रासायनिक कीटनाशक औषधिको सट्टा निम र गौमुत्रको झोल छर्केर शुन्य बजेटको प्राकृतिक खेतीतर्फ उन्मुख हुनुपर्ने पनि देखिन्छ । साथै यस प्रकारको खेतीमा मलखादको रूपमा गोबर, गौमुत्र, चनाको बेसन, गुड र पानीको मिश्रित घोल प्रयोग गरिन्छ । जसले गर्दा अन्नबालीको गुणवत्ता बढ्नुका साथै लागत मूल्य कम भइदिनाले अधिक मुनाफा आर्जन गर्न किसानलाई भरपुर मद्दत पुग्दछ । यस्तो प्रकारको खेतीमा रासायनिक मल तथा किटनाशक औषधीको प्रयोगमा पूर्णतः बन्देज लाग्न पुग्दछ । यसरी शुन्य बजेटको प्राकृतिक खेतीको नयाँ प्राविधिक अवधारणाले स्वस्थकर बाली उत्पादनका साथै पर्यावरण जोगाउन धेरै भरथेग गर्नेछ ।
मानवले आफ्नो सुख भोग खातिर प्राकृतिक संसाधनहरूलाई अनुचित ढङ्गले प्रयोग गरेका कारण भोग्नु परिरहेको दुष्परिणामहरू अकल्पनीय हुँदै गएका छन् । अब पनि मानव जातिले नचेत्ने हो र रामरमिता तथा रवैया यस्तै राख्दै जाने हो भने यस शताब्दीको अन्त्य सम्ममा समुद्रको जलस्तर १०० सेन्टिमिटरभन्दा माथि उक्लेर तहसनहसको शिकार हुन धेरै समय कुर्नुपर्ने छैन ।
प्रतिक्रिया