आफ्नै भाषाको देवनागरी लिपि, अक्षरहरू, अङ्क र गोपनियताको हक समाप्त पार्दासमेत राष्ट्रका जिम्मेवार र निर्णायक तहमा रहेकाहरूले मौनता साधेर बसेकाले जगन्माता विन्ध्यवासिनीको सभापतित्वमा प्रमुख अतिथि महाशक्तिपीठ बाघभैरव मन्दिर कीर्तिपुरमा मौजुदा नेपालको संविधान २०७२ को धारा १(१), धारा ७(१), धारा २८, धारा ३२ (३), धारा १३३ (२) (३) र धारा २७४ को (१) देखि (१०) समेतको बर्खिलाप र विपरीत हुने गरी जबर्जस्ती ल्याइएको र लागू गरिएको आत्मघाती असंवैधानिक ‘इम्बोष्ड नम्बर प्लेट’ यथाशीघ्र रद्द र बन्द गरी नेपालमा सञ्चालित भएका र हुने सम्पूर्ण यातायातका साधनहरूमा देवनागरी लिपि र वर्णाक्षरहरू नै अनिवार्य रूपमा प्रयोग हुनैपर्ने आह्वान गर्दै महाशक्तिपीठ बाघभैरव मन्दिर प्राङ्गणमा भएको ऐतिहासिक पाञ्चजन्य शंखघोष समारोह भव्य रूपमा सम्पन्न भएको छ । मनोरम शंखघोष ध्वनि प्रतिध्वनित हुँदा उपस्थित सबैको मनमा उत्साह छाएको थियो । कार्यक्रम ‘देवनागरी लिपि तथा वर्णाक्षर बचाउँ’ अभियानको संयोजकत्वमा सम्पन्न भएको थियो ।
उक्त समारोहमा राउत क्षत्री सेवा समाज नेपालका केन्द्रीय पदाधिकारीहरू, नेवा समाज सिन्धुपाल्चोक, सामाजिक सद्भाव राष्ट्रिय एकता अभियान नेपाल, नेपाल कानून व्यवसायी, भाषा साहित्य प्रतिष्ठान, निर्झर दिलचेत वाङ्मय प्रतिष्ठान नेपाल, पूर्व सुरक्षा परिषद् नेपाल लगायतका संस्थाहरू एवम् कीर्तिपुरका स्थानीय बासिन्दाहरुको घनीभूत सहभागिता रहेको थियो ।
समारोहका संयोजक कवि एवं अधिवक्ता रामेश्वर राउत मातृदास, केशव अधिकारी, बालमुकुन्द रिजाल, मेघबहादुर राउत, सुरेन्द्र बास्कोटाले पाञ्चजन्य शंखघोष गर्नुभएको थियो । सार्वभौमसत्ता सम्पन्न राष्ट्र र आम नागरिकहरूको अस्तित्व र महत्व गाँसिएको भाषा नै मुलुकको प्राणशक्ति भएकाले भाषाको लिपि र वर्णाक्षरहरू बचाउने कार्यमा सम्पूर्ण जिम्दा नेपाली बिम्झनै पर्ने तथ्य र वास्तविकतामा उपस्थित सम्पूर्णको मतैक्यता रहेको थियो ।
मुलुकको सार्वभौम अस्तित्व गाँसिएको भाषामाथि यो असंवैधानिक सांघातिक र विषाक्त प्रहार हुँदासमेत आम जनताका प्रतिनिधि सांसदहरूबाट संसदमा एक शब्द नउठाएकोमा यो संसद् र सांसदहरू को हुन र कसका लागि हुन् ? भनेर उपस्थित सर्वसाधारणहरूले प्रश्नसमेत उठाएका थिए ।
प्रतिक्रिया