- देवप्रकाश त्रिपाठी

‘वानरले आफ्नो घर बनाउँदैन र अरुले बनाएको घर पनि भत्काउँछ’ भन्ने नेपाली उक्तिको मर्म निकै गहिरो छ । जो आफ्नो इतिहासको संरक्षण गर्न खोज्दैनन्, तिनलाई मानव आकारमा पैदा भएका बाँदर नभएको प्रमाणित गर्न मुस्किल हुन्छ । जो आफ्नो धर्म, परम्परा, संस्कृति र सभ्यता नास गर्ने मानसिकताबाट ग्रस्त छन् तिनले मानव भएको पुष्टि शायदै गर्न सक्नेछन् । मानव ती हुन् जो आफ्नो इतिहास, सभ्यता, धर्म र संस्कृतिप्रति गौरवभाव राख्दछन् ।
राजनीतिक विचार, सिद्धान्त र प्रणाली बदलिन सक्छ, तर इतिहास बदलिँदैन । इतिहास विगत दर्शाउने शास्त्र मात्र नभएर सभ्यता र सभ्यताको विकासक्रम झल्काउने ऐना पनि हो । तर प्रकृतिझैँ मानव सभ्यताको विकासक्रममा पनि नकारात्मक विध्वङ्शक प्रवृत्ति देखापर्ने गर्दछ ।
इस्लाम धर्मको अभ्युदयपछि त्यसअघिको मानव सभ्यता झल्काउने मान्यता र संरचना ध्वस्त गर्ने क्रम शुरु भएकै शैलीमा मार्क्सवादमा आधारित विचारले राजनीतिमा प्रवेश पाएयता पुरानो भत्काउने र नयाँ बनाउने नाममा आफ्नै इतिहास तथा सभ्यता र संस्कृति मेटाउने नियोजित कार्य हुँदै आएको छ । तथापि रसियाको सभ्यता र इतिहाससँग गौरवमय नाता राख्ने सुन्दर शहर सेण्ट पिटर्सवर्गलाई स्टालिन जस्ता क्रुर शासकले पनि ध्वङ्श तुल्याएनन् । सन् १९२४ मा लेनिनको मृत्यु (हत्या)पश्चात् शहरको नाम ‘लेनिनग्राद’ राखिए पनि उक्त शहरको मौलिक स्वरुप यथावत राखियो, जारशाहीसँग जाोडिएको भनेर त्यसको रूप बदलिएन ।
माओत्सेतुङ्ग पनि अति क्रान्तिकारी थिए, उनले पुरानो संस्कृति नास गरेर कम्युनिष्ट संस्कृतिको विकास गर्न सांस्कृतिक क्रान्तिमा नाममा ‘ताण्डव’ नै मच्चाए । माओका दृष्टिमा कम्युनिष्ट ठहर हुन नसकेका करोडौँ व्यक्तिहरू मारिए, लाखौँ दण्डित भए, हज्जारौँ मन्दिर तथा मूर्तिहरू तोडिए । त्यस्ता उदण्ड माओले पनि इतिहासमा राजा-महाराजाद्वारा निर्मित संरचनाहरू जस्ताको त्यस्तै संरक्षण गरिदिए ।
पन्ध्रौँ शताब्दीको प्रारम्भ (सन् १४०६-१४२०) मा मिङ्ग राजतन्त्रद्वारा निर्मित ‘फर्बिडेन सिटी’ नामबाट चिनिने राजदरबार जुन स्वरुपमा पहिले थियो, अहिले पनि जस्ताको त्यस्तै राखिएको छ । राजा-रानी बस्ने घर, तिनका बगैंचा, खेलस्थल र खेलका सामाग्री, बैठक कक्ष, शयन कक्ष र करेसाबारी मात्र होइन, कुनै एक राजा झुण्डिएर आत्महत्या गरेको रुखसमेत अहिलेसम्म संरक्षित छ ।
सभ्य र समृद्ध हुन बाँकी मुलुकबाहेक सबैले आफ्नो इतिहास र सभ्यताप्रति गौरव महशुस गर्ने गर्दछन् । तर नेपाल जसरी आफ्नो संस्कृति, धर्म, इतिहास र सभ्यता नामेट तुल्याउन लागिपरेको छ, यसले हामी बाँदरे चेतनाको तहमै रहेको पुष्टि गर्दछ ।
बेइजिङको केन्द्रभागमा रहेको ‘फर्बिडेन सिटी’ पर्यटकहरूको केन्द्र बिन्दु हो, जहाँ एकै दिनमा लाखौँ मानिस अवलोकनका लागि शुल्क बुझाएर पुग्ने गर्दछन् । राजाहरूद्वारा कैयन शताब्दी (करिब सोह्र सय वर्ष) लगाएर निर्माण गरिएको ‘ग्रेटवाल’ मात्र नभई राजा-महाराजाद्वारा निर्मित हरेक सम्पदाको चीनले मौलिक स्वरुपमै संरक्षण गरेको छ ।
पन्ध्रौँ शताब्दीमै बनेको मानवनिर्मित विश्वकै ठूलो ताल र ताल निर्माणको क्रममा निस्केको ढुङ्गा तथा माटोबाट बनेको पहाडसहितको राजदरबार जसलाई ‘समर प्यालेस’ नामले चिनिन्छ, चिनियाँ कम्युनिष्ट पार्टीको सत्ताले उक्त ऐतिहासिक स्थललाई पूर्ण रूपले संरक्षण गरिराखेको छ । जहाँ प्रतिदिन लाखौँ पर्यटक पुग्ने गर्दछन् र, चीनको आम्दानीका राम्रो श्रोत यी ताल तथा दरबारहरू बनेका छन् । हज्जारौँ मानिसको रोजगारीको केन्द्रभूमि बनेका छन् राजा-महाराजाका दरबारहरू ।
करिब पौने तेइस सय वर्षअघि सिचुवान प्रान्तको एउटा विशाल नदीमा सिँचाइको प्रयोजनका लागि निर्माण भएको बाँध चीनको कम्युनिष्ट सरकारले अहिलेसम्म सूरक्षित राखेको छ । कुनै राजा–महाराजाको अग्रसरतामा बनेको भनेर तु जियाङ यान नामक उक्त बाँधलाई मोडिफाइ गर्ने या भत्काउने गरिएन, बरु त्यसको मौलिकताको संरक्षणप्रति चीन सरकार संवेदनशील देखिएको छ । तु जियाङ बाँधबाट अहिले पनि सिँचाइका निमित्त जमिनमा पानी पुऱ्याउने काम भइरहेको छ । उक्त बाँध अवलोकन गर्न जाने पर्यटकहरूको बसोबासका निमित चीनले बाँधको नजिकै आधुनिक शहर बनाइदिएको छ ।
अर्को छिमेकी मित्रराष्ट्र भारत जहाँ कुनै समय सयौँ राजाहरूको शासन थियो, इस्लाम तानाशाहहरूबाट र ब्रिटिष शासकहरूबाट कैयन शताब्दीसम्म शासित हुनुपरेको भारतले आफ्नो इतिहास र सभ्यता रक्षामा कुनै कञ्जुस्याइँ गरेको छैन । कुतुव मिनार र ताजमहलजस्ता विशिष्ट सम्पदा मात्र होइन, ब्रिटिष र मुस्लिम शासनकालका सामान्य सम्पदाहरूको मौलिकता संरक्षणमा पनि भारत सम्वेदनशील देखिएको छ ।
करिब डेढ शय वर्ष लगाएर तयार गरिएको फ्रान्सको भर्साइ दरबार फ्रान्समा भएका कुनै पनि क्रान्तिको कोपभाजनमा परेन । राजा-रानीका शयन कक्षदेखि बगैँचा र भवन सन् १७१० मा निर्माण सम्पन्न हुँदा जस्तो स्वरुपमा थियो, अहिले पनि सोही स्वरूपमा देख्न पाइन्छ भर्साइ दरबारलाई । प्रति वर्ष पौने एक करोडभन्दा बढी पर्यटक भर्साइ राजदरबार अवलोकनका निम्ति पुग्ने गर्दछन् र, वार्षिक झण्डै दश अर्ब रुपैयाँबराबरको आम्दानी फ्रान्सले भर्साइबाट मात्र गर्ने गर्दछ । लुब्र (म्युजियम) दरबारबाट पनि सो भन्दा बढी लाभ फ्रान्सले उठाइरहेको छ । आम्दानी एउटा पक्ष हो, त्यो भन्दा महत्वपूर्ण पाटो आफ्नो इतिहास र सभ्यताको मैलिक रक्षाको हो । सभ्य र समृद्ध हुन बाँकी मुलुकबाहेक सबैले आफ्नो इतिहास र सभ्यताप्रति गौरव महशुस गर्ने गर्दछन् । तर नेपाल जसरी आफ्नो संस्कृति, धर्म, इतिहास र सभ्यता नामेट तुल्याउन लागिपरेको छ, यसले हामी बाँदरे चेतनाको तहमै रहेको पुष्टि गर्दछ ।
कुनै समय नेपालको राजधानी काठमाडौंलाई विश्वमा मन्दिरैमन्दिरको शहरका रूपमा चिनिन्थ्यो । हरेक टोल र गल्ली-गल्लीमा देवीदेवताका मन्दिर भेटिन्थे यहाँ । सडक विस्तारका नाममा हज्जारौँ मौलिक घर तथा मन्दिरहरू नष्ट गरिए र त्यस्तो क्रम अझै जारी छ । सडक विस्तारका नाममा राजधानीबासीलाई सुकुम्बासी बनाउने र राजधानीबाहिरका सुकुम्बासीलाई नदीकिनारको जग्गामा बसोबासको व्यवस्था गरेर बागमति सभ्यता ध्वस्त गर्ने काम भइरहेको छ । ऐतिहासिक टुँडिखेल द्रुत गतिमा अतिक्रमण गरिएको छ र, यस्तो अतिक्रमणको अगुवाई राज्य संयन्त्रहरूबाट नै भइरहेको छ । टुँडिखेल जुन रूप-आकारमा थियो त्यसको रक्षा नगरेर हामीले आफ्नो चेतनास्तर उदाङ्ग बनाएका छौँ । फ्रान्सले पुरानो पेरिस शहर जस्ताको त्यस्तै संरक्षण गरेर सँगै नयाँ शहर (पेरिस) निर्माण गरेको छ । चीनले सङ्घाइको पुरानो स्वरुप यथावत राखेर सँगै आधुनिक शहर बनाएको छ । नेपालको श्रोत, साधनले त्यस स्तरको काम गर्ने सामर्थ्य नराखे पनि कम्तिमा पुरानो सभ्यता र इतिहासको रक्षा गर्न असम्भव थिएन ।
शाहवङ्शीय राजाहरूले सात पुस्तादेखि आफ्नो निवासस्थानका रूपमा प्रयोग गरेका र, राजपरिवारको विभत्स हत्यासमेत भएको उक्त दरबारलाई एउटा-एउटा सम्पदाको रूपमा विकास र संरक्षण नगरी त्यहाँ परराष्ट्र मन्त्रालयको कार्य सञ्चालन हुनु, रोल्पाको थबाङ, भारतको राजधानी नयाँ दिल्ली या युरोपियन युनियनको राजधानी ब्रसेल्समा निर्माण गरिँदा उपयुक्त हुने गणतन्त्र स्तम्भसमेत नारायणहिटी परिसरमै निर्माण गर्नुले नेपालका शासक–प्रशासकहरूको चेतनाको तह उदाङ्ग बनाइदिएको छ ।
नारायणहिटी राजदरबार आफैंमा एउटा ऐतिहासिक स्थल हो, राणा प्रधानमन्त्री श्री ३ रणोद्विप सिंहले बनाएको उक्त दरबारमा उनकै हत्या भएको थियो । शाहवङ्शीय राजाहरूले सात पुस्तादेखि आफ्नो निवासस्थानका रूपमा प्रयोग गरेका र, राजपरिवारको विभत्स हत्यासमेत भएको उक्त दरबारलाई एउटा-एउटा सम्पदाको रूपमा विकास र संरक्षण नगरी त्यहाँ परराष्ट्र मन्त्रालयको कार्य सञ्चालन हुनु, रोल्पाको थबाङ, भारतको राजधानी नयाँ दिल्ली या युरोपियन युनियनको राजधानी ब्रसेल्समा निर्माण गरिँदा उपयुक्त हुने गणतन्त्र स्तम्भसमेत नारायणहिटी परिसरमै निर्माण गर्नुले नेपालका शासक-प्रशासकहरूको चेतनाको तह उदाङ्ग बनाइदिएको छ । भीमसेन थापाले निर्माण गराएको धरहरा ढलेपछि सोही स्वरुपको धरहरा ठड्याउनुपर्नेमा नयाँ स्वरुपको टावर, त्यो पनि ओरिजिनल (मौलिक) धरहराकै छेउमा निर्माण गर्ने-गराउने बुद्धि कुन धाराको पानी पिएर प्राप्त भएको हो आफैंमा विष्मातपूर्ण छ ।
नेपालका श्री ३ महाराज चन्द्र शमशेरद्वारा निर्मित सिंहदरबार देशको कार्यकारी प्रधानको कार्यालय भएकोले मात्र महत्वपूर्ण भएको होइन, नेपालको इतिहास र सभ्यतासँग यसको अटुट साइनो पनि जोडिएको छ । पञ्चायतकालमा नारायणहिटी राजदरबार नै केन्द्र भएकोले सिंहदरबारले स्याहार पाउन नसकेको अर्थ लगाइन्छ । सिंहदरबारको रौनक पञ्चायतकालमै मन्द बनेको भए पनि त्यसको मौलिकता सूरक्षित नै थियो । गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, रेडियो नेपाल र नेपाल टेलिभिजनका निम्ति नयाँ भवन सिंहदरबारभित्रै बनाइनुको कारण सूरक्षा सम्वेदनशीलतालाई दृष्टिगत गरेर हुन सक्छ, तर कारण जे भए पनि त्यो गलत थियो, जसले सिंहदरबारको मौलिकतामा चुनौती दिइरहेको थियो । तर पछि जब सबै मन्त्रालयहरू सिंहदरबारभित्रैबाट सञ्चालन गर्ने गरी बेढङ्गका दर्जनौँ भवनहरू बनाइयो, त्यसले मौलिकताको सर्वनास मात्र गरेन, देशको कार्यकारी प्रमुख बस्ने ठाउँ कुरुप र अस्तव्यस्त पनि बनाइदिएको छ ।
सिंहदरबारभित्र प्रवेश गर्दा अचेल असन-इन्द्रचोकतिर पुगेको भान हुन्छ । गाडी र मानिसको कोलाहलमय भीड, कलात्मकता शुन्य इँटा आकारका बेढङ्गी घरहरू, फालिएका थोत्रा मोटरहरूको चाङ, सर्वत्र फोहोर, दृष्यप्रदुषण, वायु प्रदुषण र ध्वनी प्रदुषणको केन्द्रस्थल बनेको छ सिंहदरबार । कार्यकारी प्रमुखको कार्यालय रहेको सम्भवतः पृथ्वीकै सबैभन्दा विद्रुप र कुरुप कार्यस्थल हो सिंहदरबार । पञ्च, काङ्ग्रेस र कम्युनिष्ट सबै मिलेर सिंहदरबारलाई यो अवस्थामा ल्याइ पुऱ्याएका हुन् ।
टुँडिखेल जुन रूप-आकारमा थियो त्यसको रक्षा नगरेर हामीले आफ्नो चेतनास्तर उदाङ्ग बनाएका छौँ । फ्रान्सले पुरानो पेरिस शहर जस्ताको त्यस्तै संरक्षण गरेर सँगै नयाँ शहर (पेरिस) निर्माण गरेको छ । चीनले सङ्घाइको पुरानो स्वरुप यथावत राखेर सँगै आधुनिक शहर बनाएको छ । नेपालको श्रोत, साधनले त्यस स्तरको काम गर्ने सामर्थ्य नराखे पनि कम्तिमा पुरानो सभ्यता र इतिहासको रक्षा गर्न असम्भव थिएन ।
देशको राजकाज केन्द्र, कार्यकारी प्रमुखको कार्यालय रहेको ठाउँ, मूलद्वारबाट भित्र प्रवेश गर्ने बित्तिकै हरियो खुला चौर र सुन्दर बगैँचा देख्न पाइयोस् । सुन्दर, स्नीग्ध र त्यहाँको मोहक वातावरणले कार्यकारी प्रमुख तथा आगन्तुकहरूमा सकारात्मक भाव उत्पन्न गराओस् । बाहिर अनेक तनावले थिचिएका भए पनि त्यहाँ पुगेपछि प्रधानमन्त्री र सम्बन्धित अरुहरूमा ऊर्जा पैदा होस्, त्यसपछि न कामको जाँगर चल्छ ! अहिलेको सिंहदरबार तनावधारीहरूको किल्ला जस्तो भएको छ । बाँकी रहेको खाली जमिनमा पनि केही भवन निर्माण भइरहेका छन् र कतै भविष्यमा थपिने योजना रहेको बुझिन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीमा देशका निम्ति केही गर्ने इच्छाशक्ति छ भने सिंदहरबारको सुधार गरेर आफ्नो क्षमता, दूरदर्शिता र इच्छाशक्तिको प्रमाण दिन सक्नुपर्छ । चन्द्र शमशेरका पालामा निर्माण भएका बाहेक सबै नयाँ संरचनाहरू नष्ट गरी सिंहदरबार परिसरलाई सुन्दर बगैँचासहितको खुला स्थलमा रूपान्तरण गरी मौलिकता दिनु अहिलेको अनिवार्य आवश्यकता हो । चन्द्र शमशेरले निर्माण गराएका पर्खाल जस्ताको त्यस्तै राखी बाँकी भागमा बाहिरबाट समेत छर्लङ्ग देख्न सकिने फलामे बार लगाउने हो भने सिंहदरबारको छेउ भएर आवतजावत गर्नेहरूले समेत त्यहाँको सुन्दरताको रसास्वादन गर्न सक्नेछन् ।
प्रश्न उठ्छ- त्यहाँ सञ्चालित मन्त्रालय तथा अन्य कार्यालयहरू कहाँ स्थानान्तरण गर्ने ?
सिंहदरबारमा प्रधानमन्त्रीको कार्यालय र निवास मात्र राखेर मन्त्रालय तथा अन्य कार्यालयहरू अन्यत्र व्यवस्थापन गर्न सकिन्छ । अनेकौँ विकल्पहरूमध्ये बबरमहल क्षेत्र पनि एक उपयुक्त स्थल हो । माइतीघरबाट बानेश्वरतर्फ जाँदा सडकको दक्षिणतर्फ आर्ट ग्यालरीदेखि धोबीखोलासम्म अराजक किसिमबाट बनाइएका अनेकौँ सरकारी घरहरू छन् । विशेष अदालत, वन कार्यालयहरू र औषधि कम्पनीलगायतले ओगटेको सो क्षेत्रका सबै पुराना घर भत्काएर त्यस स्थानमा (धोबीखोलादेखि आर्ट ग्यालरीसम्म) दुई या तीन तलाको भूमिगत पार्किङसहितको सात या त्यसभन्दा बढी तले एउटै या अलग-अलग भब्य भवन निर्माण गर्ने हो भने सबै मन्त्रालय र सिंहदरबार परिसरमा हाल सञ्चालित सम्पूर्ण कार्यालयहरू त्यहाँ सजिलै स्थापित हुन सक्छन् । एउटै फ्लोर (तला) मा पच्चीसभन्दा बढी मन्त्रालय, अर्को तलामा सबै मन्त्रालयसम्वद्ध सचिव तथा अन्य तलाहरूमा अन्य कार्यालयहरू रहन सक्छन् । एउटा भवनभित्र प्रवेश गरेपछि आफ्नो कार्य सम्पन्न गर्न अनेकौँ भवन चहारिरहनुपर्ने झञ्झटबाट सेवाग्राहीहरू पनि मुक्त हुन सक्छन् ।
सिंहदरबारभित्र प्रवेश गर्दा अचेल असन–इन्द्रचोकतिर पुगेको भान हुन्छ । गाडी र मानिसको कोलाहलमय भीड, कलात्मकता शुन्य इँटा आकारका बेढङ्गी घरहरू, फालिएका थोत्रा मोटरहरूको चाङ, सर्वत्र फोहोर, दृष्यप्रदुषण, वायु प्रदुषण र ध्वनी प्रदुषणको केन्द्रस्थल बनेको छ सिंहदरबार । कार्यकारी प्रमुखको कार्यालय रहेको सम्भवतः पृथ्वीकै सबैभन्दा विद्रुप र कुरुप कार्यस्थल हो सिंहदरबार । पञ्च, काङ्ग्रेस र कम्युनिष्ट सबै मिलेर सिंहदरबारलाई यो अवस्थामा ल्याइपुऱ्याएका हुन् ।
कुनै न कुनै समयमा कसै न कसैले उपरोक्त निर्णय लिनैपर्ने हुन्छ । अहिलेकै जस्तो अस्तव्यस्त सिंहदरबार कार्यकारी प्रमुखका निम्ति उपयुक्त मानिने स्थिति भविष्यमा रहने छैन । कम्तिमा केपी शर्मा ओलीले यसनिम्ति पहल गरिदिने हो भने उहाँकै कार्यकालमा यस्तो पुनित कार्यको अग्रसरता लिइएको तथ्य इतिहासमा अङ्कित हुनेछ । एक शताब्दिअघि डा. सन यात सेनले याङ्जी नदीमा बाँध बनाएर संसारकै विशाल जलविद्युत् उत्पादन गर्ने परिकल्पना गरेका थिए । सय वर्षपछि उक्त कार्य सम्पन्न भयो, थ्री गर्जेज परियोजनाको रूपमा स्थापित उक्त विद्युतगृहले बाइस हजार मे.वा. भन्दा बढी विद्युत उत्पादन गरेर संसारमै कीर्तिमान कायम गरेको छ । उक्त परियोजनाको नाम लिने बित्तिकै मानिसहरू सन यात सेनलाई स्मरण गर्ने गर्दछन् ।
त्यस स्तरका अन्य कुनै कार्य गर्न नसकिए पनि कम्तिमा सिंहदरबार, नारायणहिटी राजदरबार, वसन्तपुर, हनुमानढोका दरबार क्षेत्र, पशुपति क्षेत्र, स्वयम्भू क्षेत्र, पाटन र भक्तपुर दरबार, वसन्तपुर तथा हनुमानढोका दरबार क्षेत्र एवम् पशुपति क्षेत्र, स्वयम्भू क्षेत्र, पाटन र भक्तपुर दरबार क्षेत्रको ऐतिहासिक चौक, बहाल एवम् राजकुलोहरू तथा बौद्धनाथको मौलिकता संरक्षण गर्ने विशेष योजना बनाइदिने हो भने केपी इतिहासस्मरणीय बन्न सक्नुहुन्छ । उहाँको यस्तो कदम नेपालको इतिहास र सभ्यताको संरक्षण गर्न अविष्मरणीय योगदान पुऱ्याएको ठहर हुनेछ ।
पाहुनाहरूका निम्ति विदेशी सहयोगमा निर्माण भएको पशुपति धर्मशाला ब्यापारीलाई होटल सञ्चालन गर्न दिइने, नारायणहिटी राजदरबार परिसरमा रेष्टुरेन्ट सञ्चालन गर्न अनुमति दिइने जस्तो अक्षम्य कार्य आफ्नै कार्यकालमा भएको महागल्तीका रूपमा स्वीकार गर्दै पुरातात्विक स्थलहरूको मौलिकता रक्षा गर्ने अग्रसरता केपी ओलीले लिनुभएन भने एक्काइशौं शताब्दीको एक चौथाई अङ्श बितिसक्दा पनि नेपाली आफ्नो सभ्यता, इतिहास र संस्कृति-रक्षाप्रति सचेत नभएको प्रमाण इतिहासमा अङ्कित भइरहने छ । यो समयका जीवित हामी बाँदरे चेतनास्तरभन्दा माथि भएको प्रमाण प्रस्तुत गरेर हामी सबैको प्रतिष्ठा जोगाइदिनुहोस् केपी, इतिहासले सधैं धन्यवाद दिइरहने छ, जय मातृभूमि ।
प्रतिक्रिया