धार्मिक स्वतन्त्रताको आडमा…

धार्मिक स्वतन्त्रताको आडमा…


  • स्वयम्भूनाथ कार्की

माओवादी सशस्त्र विद्रोह र प्रजातन्त्रको पर्यायवाची भनाइन रुचाउने दलहरूको समागमले जन्मेको र प्रतिनिधि घोषणापत्र नाम दिइएको वक्तव्यले धर्मनिरपेक्ष भएर धार्मिक स्वतन्त्रता(?) उपभोग गरेको दोश्रो दशक शुरु भएको छ । यत्रो समय भोग गरिएका उपलब्धि(?)हरू यस्ता हुनेछन् भनेर न सिकाउनुपर्ने अवस्था छ न त पुनः परिभाषा गर्ने आवश्यकता नै छ । के-कस्तो छ भन्ने कुरा जनताले राम्ररी अनुभव गर्दैछन् । पहिले के-कस्तो थियो भन्ने कुराको सम्झना धुमिल पर्दै गए पनि पञ्चायत जस्तो के-कस्तो थियो, कति नराम्रो, कति राम्रो खोजी गर्दैछ संघीय धर्मनिरपेक्ष समाजवाद उन्मुख गणतन्त्र नेपालको नयाँ पिँढी ।

सजिलोको निमित्त हिन्दू नामाकरण गरिएको पुर्वेली सनातन धर्म वास्तवमा धर्मभन्दा संस्कृति र परम्पराहरूको सङ्गम हो । यस सनातन संस्कृतिमा हजारौँ मतहरू छन् र ती मतबीच आपसमा उल्लेख्य भिन्नता छ । मतहरूको बीचमा मात्र हैन एकै मतमा पनि विरोधाभाष नै देखिने गरेर भिन्नता छ । यसको उदाहरण एकै मत मान्नेहरूको विवाह पद्धतिको फरकपनलाई लिन सकिन्छ । एकातिर छोरी-ज्वाइँको खुट्टा धुने गरिन्छ भने अर्कोतिर छोरी-ज्वाइँको साष्टाङ्ग प्रणाम स्विकार्ने पनि चलन छ । यी दुवै चलन समाजमा, परम्परामा, धर्ममा स्विकार्य छ । यसबाहेक अरु धेरै विवाह पद्धति पनि छन् जसले समान मान र आधिकारिकता पाएका छन् ।

विभिन्न मतका हजारौँ पुस्तकहरू छन् जसको सम्पुर्ण नाम मात्र लिन पनि कठिन हुन्छ । एक मतको पुस्तकले एक आराध्यलाई सर्वश्रेष्ठ मान्छ भने अर्को मतको पुस्तकले अर्कैलाई सर्वश्रेष्ठ भन्ने गर्दछ । तर सबै मतका पुस्तकमा सबैको उल्लेख र आदरको प्रावधान गरेको भेटिन्छ । यो नै धार्मिक स्वतन्त्रताको सर्वोत्कृष्ट उदाहरण हो । नेपाल भनिने भूखण्डमा यो सनातन भनिने प्राकृत धर्म कहिलेदेखि छ, यसका कति मत सम्प्रदाय यहाँबाट प्रादुर्भाव भए भन्ने कुराको अध्ययन एक मात्र हैन लाखौँ शोधपत्रहरूमा पनि समेटिन सम्भव छैन ।

विभेदकारी चलनहरूलाई निषेध गरेर नयाँ मुलुकी ऐन २०२० मा लागु भएको थियो । जसले सार्वजनिक स्थलमा जातिय विभेद र छुवाछुतलाई दण्डनीय अपराध भन्ने व्यवस्था गरेको छ । अनि कुल परम्परादेखि मानिआएको आ-आफ्नो धर्मलाईसमान मान्यता दिएको छ ।

हिन्दू अधिराज्य हुँदा एक धर्मविषेशलाई राज्यबाट सहयोग गरिन्थ्यो अरुलाई हेला गरिन्थो भन्ने कुरा खोतल्ने हो भने देखिने वास्तविकता फरक छ । हो आ-आफ्नो आस्थाको निमित्त समर्थकले अनेकौँ कालखण्डमा विषेश ध्यान पुर्‍याए । मठ-मन्दिरहरूको स्थापना गर्दा त्यसको सञ्चालनको निमित्त स्थापना गर्नेले गुठीको व्यवस्था गरेका थिए । राजा होस् वा अन्य कुनै समर्थले आफ्नो आस्थाले यस्ता किसिमका काम गरेका थिए । यही गुठीहरूको सुप्रबन्ध गर्न भनेर राज्यले ती गुठीका सम्पत्ती हातमा लिएर त्यसैको आम्दानी यस्ता मठ-मन्दिरहरूलाई उपलब्ध गराउँदै आएको हो । राज्यकोषबाट केही अपवादबाहेक थप उपलब्ध गराएको हैन ।

राज्यले चारधाम यात्राको निमित्त जनतालाई मद्धत गरेको थिएन र छैन पनि, तर हजको निमित्त भने यस्तो मद्धत गर्ने गरेको छ । कसैलाई पनि आफ्नो परम्परादेखिको धर्मको अभ्यास गर्ने बन्देज लगाउने गरेर कुनै नियमकानून बनेको भेटिँदैन । बरु अहिलेको आलोच्य बनेको जयस्थिति मल्लको थिति होस् वा जंगबहादुरको मुलुकी ऐन, त्यसले आफ्नो समयमा प्रचलित धर्म परम्परराको प्रवर्धन गर्न नियम बनाएको छ । यसका भएका विभेदकारी चलनहरूलाई निषेध गरेर नयाँ मुलुकी ऐन २०२० मा लागु भएको थियो । जसले सार्वजनिक स्थलमा जातिय विभेद र छुवाछुतलाई दण्डनीय अपराध भन्ने व्यवस्था गरेको छ । अनि कुल परम्परादेखि मानिआएको आ-आफ्नो धर्मलाई समान मान्यता दिएको छ ।

सनातन पद्धति आफैमा परिवर्तनशील छ, यसमा समयसापेक्ष परिवर्तन स्वचालित रूपले निरन्तर भइरहेको छ । अन्यमा भएको कट्टरता र तिनका नियमहरू अलिकति पनि तलमाथि नहुने जस्तो कुरा यसमा छैन । सनातन आफैमा धार्मिक स्वतन्त्रताको, सहअस्तित्वको परस्पर आदरको दर्शन हो । पूजा गर्न हातमा पूजाथाली लिएर हिँडेको एक सनातनीले बाटोमा देखेको कुनै पनि अर्को मतालम्बीको उपाशनास्थलमा शिर निहुुराएर, फुल चढाएर हिँड्ने गर्दछ । उसले यो कुन मतालम्बीको उपाशनास्थल हो भन्ने खोज्दैन । किनभने, सनातनले उसलाई सबैको आराध्यको आदर गर्ने परम्परा दिएको छ ।

फुलपातीको बढाइँको सलामी पनि छोड्न नसक्ने व्यवस्थाले के धर्मनिरपेक्ष वा धार्मिक स्वतन्त्रताको कुरो गरेको सुहाउँछ र ? हिन्दू अधिराज्य भएर प्राप्त गर्ने कुनै सुविधा धर्मनिरपेक्ष भनिएको राज्यले छोड्यो ? हिन्दू राज्यको कारणले पाउने दशैँखर्च कसैले छोड्यो ।

यति हुँदाहुँदै किन धर्मको यो विवाद पैदा हुनुपर्‍यो, किन धर्म र त्यससँग जोडिने कुनै पनि कुरामा राज्यको उपस्थिति हुनु हुँदैन भन्ने जर्ज जेकव होलेकद्वारा प्रतिपादित धर्मनिरपेक्षतालाई धार्मिक स्वतन्त्रताको खोल ओढाउनु पर्‍यो ? सहज उत्तर छ, सनातनी आस्थाको केन्द्रहरूमा हुने गरेको आम्दानीमा र्‍याल चुहाएको हो । फुलपातीको बढाइँको सलामी पनि छोड्न नसक्ने व्यवस्थाले के धर्मनिरपेक्ष वा धार्मिक स्वतन्त्रताको कुरो गरेको सुहाउँछ र ? हिन्दू अधिराज्य भएर प्राप्त गर्ने कुनै सुविधा धर्मनिरपेक्ष भनिएको राज्यले छोड्यो ? हिन्दू राज्यको कारणले पाउने दशैँखर्च कसैले छोड्यो ?

धार्मिक स्वतन्त्रताको आडमा हिन्दूहरूको आस्थाको कमाइबाट त्यसै आस्थालाई शैतानको मन्दिर भन्नेहरूलाई पोसिन हुँदैन । भ्रममा नरहे हुन्छ, हिन्दू राष्ट्रको निमित्त आवाज उठाउनेहरूलाई बरु राज्यको सकारात्मक वा नकारात्मक दुवै हस्तक्षेपविहीन धर्मनिरपेक्षता स्विकार छ तर आफूमाथि नकारात्मक हस्तक्षेप हुने कुरा धार्मिक स्वतन्त्रताको आडमा मञ्जुर छैन । भारतमा जस्तो तिरुपतिमा टिकट लगाएर आम्दानीचाहिँ त्यही तिरुपतिलाई गाली गर्ने प्रचारसामाग्री प्रकाशन गर्नेहरूलाई पुर्‍याउने धर्मनिरपेक्षता वा धार्मिक स्वतन्त्रताको अन्याय सहन तैयार छैनन् सनातनीहरू !