अब नगरियोस् ‘मेलम्ची’माथि राजनीति !

अब नगरियोस् ‘मेलम्ची’माथि राजनीति !



जानेमानेका कतिपय विश्लेषकले महिनौँअघि भनेका थिए- ‘सत्तामा प्रचण्डको पकड रहेसम्म मेलम्चीको पानी काठमाडौं आउने छैन ।’ प्रचण्डलाई फोकस गरेर किन यस्तो भनियो होेला भन्ने सवाल उठ्नु आफ्नो ठाउँमा सान्दर्भिक होला, यसबारे विभिन्न कोणबाट व्याख्या-विश्लेषण हुन सक्छ, तर सारमा चाहिँ राष्ट्रिय गौरवको मेलम्ची आयोजनामाथि ‘राजनीति’ गरेर मुलुकका प्रभावशाली नेता वा नेतृत्वले आ-आफ्ना राजनीतिक दुनो सोझ्याइरहेका रहेछन् भनी बुझ्नुपर्ने हुन्छ । मेलम्चीको पानी काठमाडौं आइपुग्न विलम्ब हुनुमा विभिन्न नेता, प्रशासक, ठेकेदार, पानी-व्यवसायीलगायत धेरैको प्रत्यक्ष-परोक्ष हात थियो, ती सबैको प्रतीकात्मक पात्र प्रचण्डलाई तुल्याइएको मात्र हो ।

लगभग पच्चीस वर्षमा सम्पन्न भएको मेलम्ची आयोजना धेरै कुराले एक प्रतीक वा उपमा बन्न पुगेको छ । अढाइ दशक अवधिमा विश्वका विभिन्न मुलुकले ठूलो फड्को मारेका छन् । हामीलाई पाँच वर्ष लाग्ने काम पौरखी मुलुकले पाँच महिना पनि लगाउँदैनन्, अझ पाँचै सातामा पनि सिध्याउन सक्छन् । त्यस्ता उदाहरण छन् । जम्मा पाँच वर्ष अवधि तोकिएको मेलम्ची पच्चीस वर्षमा पनि पूर्ण भइसकेको छैन, यस्तोचाहिँ नेपाल जस्तो देशमा मात्र सम्भव हुँदोरहेछ । र, यस्तो अकर्मण्यताका लागि यहाँका राजनीतिजीवी, कर्मचारीतन्त्र, भँडुवा नागरिक समाजदेखि यदाकदा बाह्य समुदायको समेत हात रहेको कैयन सन्दर्भले प्रष्ट्याएको छ ।

मेलम्ची आयोजनाको सन्दर्भमा भन्नुपर्दा यसले धेरै राजनीतिकर्मी, कर्मचारी, ठेकेदारलगायतलाई भ्रष्टाचारी दर्शाइदियो, कतिपयले कारवाहीको रूपमा प्रहरी हिरासतको हावा पनि खाए, कैयन बदनामीको भारी बोकेर पनि उम्किए, कतिपयको भ्रष्टाचारी कर्म प्रकाशमै आएन भने कतिपय निर्दोषले नखाएको विष लागेको गुनासो गरेका पनि सुनियो । अर्थात्, मेलम्ची एक खानेपानी आयोजना मात्र नभइ राजनीति नै उलटफेर गर्ने-गराउने ल्याकत भएको परियोजना बन्न पुगेको तथ्य पछिसम्म चर्चामा रहने विश्वास गर्न सकिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई असफल पारी आफू प्रधानमन्त्री बन्न चाहने प्रचण्डको अभीष्टका कारण सीएमसी कम्पनी भगाउने र काठमाडौंका जनतालाई काकाकुल तुल्याइ ट्याङ्करको पानी पिउन बाध्य पार्ने खेल खेलियो भन्ने चर्चा आममानसबीच यत्तिकै चलेन होला । तत्कालिक अवस्थामा खानेपानी मन्त्री रहेकी प्रचण्डकी बुहारी विना मगरमाथि ठेकेदार भगाउन भूमिका खेलेको आरोप मातहतका सचिवले यत्तिकै पक्कै लगाएनन् । यस्ता सन्दर्भहरू मेलम्ची आयोजनासँग निकै जोडिएका छन् ।

जे होस्, तत्कालिक प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ठट्टाकै शैलीमा सही, ‘मेलम्चीको पानी काठमाडौं ल्याइ सडक पखालिदिने’ उद्घोष गरेर नेपाल र नेपालीमाथि, खासगरी काठमाडौं उपत्यकावासीमाथि ठूलो गुन लगाएकै हुन् । गम्भीर कुरा पनि ठट्टाको रूपमा व्यक्त गर्न सक्ने विशेषता बोकेका किसुनजीले ठट्टात्मक रूपमा भए पनि मेलम्चीको सपना नदेखेका थिए भने राष्ट्रिय गौरवको यो आयोजना आज कसैको कल्पनामा पनि रहँदैनथ्यो होला । सन्तनेता कृष्णप्रसाद भट्टराईको सपना ढिलै भए पनि पूरा भएको छ । काठमाडौंका काकाकुल बासिन्दाले मेलम्चीको पानीबाट प्यास मेटाउन पाउने भएका छन् । र, कैयन अवरोधका बाबजुद यो कार्य प्रधानमन्त्री केपी ओलीको कार्यकालमा आएर पूरा भएको छ । यस परियोजनाबाट कतिले अनुचित लाभ उठाए, कतिले दुःख पाए, कतिको शासनशक्ति नै हरण भयो त कतिले शानमान पनि आर्जन गरे । यस्ता यावत जे-जसो भए-भए, यो विगत बनिसक्यो ।

मेलम्ची हिजो राजनीतिको एक दाउ बनेको थियो, तर अब यस्तो नहोस् । खानेपानी जस्तो जनताको मौलिक र अपरिहार्य अधिकारमाथि खेलबाड गर्ने दूरासय कसैले नराखोस्, आयआर्जनको माध्यम तुल्याउन यसमाथि कुत्सित मनसाय र कुटिल चाल कसैले नचालोस् । यसतर्फ विचार पुर्‍याउनु यतिबेला राज्यको र सरोकारवाला तमाम नागरिकको पनि दायित्व हो । किनकि, मेलम्ची आयोजनाको सफलताले देश र सर्वसाधारण जनतालाई खुशी तुल्याए पनि मुट्ठीभर तत्वलाई ब्याकुल बनाएको अनुमान गरिँदै छ । यस आयोजनासँग जोडिएर या यसप्रति चासो राखेर शुरुदेखि नै नियाल्दै आएका विज्ञजनहरू मेलम्चीमाथि अझै पनि ‘राजनीति’ हुन सक्ने आँकलनका साथ चिन्ता प्रकट गर्दैछन् । कसैको राजनीतिक साख बढाउने या गिराउने विषयमा मेलम्चीलाई प्रयोग नगरियोस् । यसैमा सबैको कल्याण छ ।