कृति परिचय
प्राध्यापक डा. मुरली रञ्जितको आफ्नै अनुभव ‘क्यान्सरसँगको लडाइँ’ नामक पुस्तक प्रकाशित भएको छ । लामो समय सरकारी सेवामा रहेर काम गर्नुभएका इन्जिनियर पृष्ठभूमिका प्रा. रञ्जितलाई ६० वर्षको उमेरमा प्रोस्टेटको क्यान्सर भएको थियो । आफूलाई क्यान्सर भएको थाहा पाएपछि आत्मबल दह्रो बनाएर सकारात्मक सोचका साथ उपचार सुरु गर्नुभएका उहाँले करिब चार वर्षमा क्यान्सरलाई पराजित गर्नुभएको थियो । अहिले पुनः ब्यवसायिक जीवन सुरु गरिसक्नुभएका उहाँले आफ्नो पुस्तकमार्फत व्यक्तिगत अनुभवका साथै क्यान्सरका बारेमा विभिन्न जानकारी पनि दिनुभएको छ ।
नेसनल इन्स्टिच्युट अफ हेल्थ एण्ड इन्भारोमोन्टद्वारा प्रकाशित पुस्तकमा क्यान्सर भएछ, क्यान्सरको उपचार, आत्मविश्वासको महत्व, उपचारपछिका दिनहरू, अन्य बिरामीको अनुभव, क्यान्सर बिरामीलाई परामर्श, क्यान्सर र मृत्यु, क्यान्सर र आयु, मृत्युसँगको जम्काभेट गरी ९ वटा च्याप्टर रहेका छन् । क्यान्सर रोग लागेपछि मानिस कसरी हतोत्साही बन्छ र त्यसलाई तोड्नका लागि आत्मविश्वास जुटाउनु कति महत्वपूर्ण हुन्छ भन्ने कुरा पुस्तकमा उल्लेख छ ।
लेखक प्रा.डा रञ्जितको सुझाव छ– रोग लागेपछि आफूसँग पैसा भएन भने साथीहरूसँग सहयोग माग्न हिच्किचाउनु हुँदैन । यदि आफूसँग छ भने अचल सम्पत्तिको उपयोग गर्नु तर ऋणचाहिँ नलिनु । पुस्तकको खण्ड एकमा उहाँको आफ्नो अनुभव छ भने खण्ड दुईमा क्यान्सरबारे जानकारी दिइएको छ ।
पुस्तकमा झलक सुवेदी, डा. पंकज कुमार बर्मन, डा. महेशबहादुर अधिकारी, प्रा.डा. मुनिराज क्षेत्री, प्रा.डा केआर दाहाल र तारा आमात्यले पुस्तक र डा. मुरली रञ्जितप्रतिका आफ्ना धारणा पस्कनुभएको छ । साथै उहाँसँग विभिन्न कालखण्डमा विशेषगरी क्यान्सरको लडाइँका बेला साथ रहनुभएका इल्या भट्टराईलगायतका अनुभवहरू पनि रहेका छन् ।
प्रतिक्रिया