ध्रुवीकरणको नयाँ रूप

ध्रुवीकरणको नयाँ रूप



मुलुकमा राजनीतिक तरङ्ग पैदा भएसँगै ध्रुवीकरणको नयाँ रूप सतहमा आएको छ । कम्युनिष्ट पार्टीमा विभाजन आएका कारण काङ्ग्रेसको दिन फर्कने अनुमान गरिएको भए पनि काङ्ग्रेसले आफ्नो बेग्लै ध्रुव उत्पन्न गराउन सकेको छैन । दुई ध्रुवमा एउटाको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहनुभएको छ भने रक्षात्मक ध्रुवको नेतृत्व प्रचण्डले गर्नुभएको छ ।

प्रचण्डले नेकपा एमाले, काङ्ग्रेस र जसपा, तीनवटै समूहभित्र आफ्ना मानिसहरू परिचालन गर्नुभएको त छ, तर तीनवटै समूहभित्र उहाँका समर्थकहरू घोर अल्पमतमा परेका छन् । जसपाभित्र प्रचण्डको समर्थनमा उपेन्द्र यादव, आङ्काजी शेर्पा र बाबुराम भट्टराई उभिएका छन् भने एमालेका माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, झलनाथ खनाल र योगेश भट्टराई पनि पार्टीमा घोर सङ्कटग्रस्त अवस्थामा छन् ।

काङ्ग्रेसमा कृष्णप्रसाद सिटौला, गगन थापा र रामचन्द्र पौडेल प्रचण्डका पक्षमा क्रियाशील छन् । डा. शेखर कोइरालासमेतलाई प्रचण्डले आफ्नो विश्वासमा लिएको भए पनि कोइराला प्रचण्डका पक्षमा ‘एक्स्पोज’ भइसकेका छैनन् ।

जे होस् यतिबेला उपेन्द्र यादव, आङ्काजी शेर्पा, बाबुराम भट्टराई, रामचन्द्र पौडेल, कृष्ण सिटौला, गगन थापा, माधव नेपाल, झलनाथ खनाल, भीम रावल, याोगेश भट्टराई र घनश्याम भुसाललगायतका व्यक्तिहरू प्रचण्डका पक्षमा सक्रिय रहेका छन् भने अर्को ध्रुवमा केपी शर्मा ओली, नारायणमान बिजुक्छे, शेरबहादुर देउवा, विमलेन्द्र निधि (बाध्यतावश), महन्थ ठाकुर, चित्रबहादुर केसी, राजकिशोर यादव र राजेन्द्र महतोलगायत छन् । तर आफू प्रधानमन्त्री बन्ने विश्वासपूर्ण स्थिति उत्पन्न भएमा देउवाले क्याम्प बदल्न ढिलाइ नगर्ने ठानिएको छ ।