पूर्व श्री ५ ज्ञानेन्द्रले मुलुकमा टाठाबाठा मात्र सुखी सम्पन्न सुविधाभोगी हुँदै जाने अरु निमुखा सर्वसाधारणहरूको जीवनस्तर कहिल्यै नउठ्ने खालको गतिविधि र पद्धति त्याग्नैपर्ने बताउनुभएको छ ।
विक्रम सम्वत् २०७८ को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै पूर्व श्री ५ले भन्नुभएको छ- ‘हाम्रा समस्या साझा छन्, एउटा बिग्रेको अर्कोले हेर्ने बेला हैन । सबैको एउटै उदेश्य हुनु एउटै कामना हुनु पर्दछ । देशको उन्नति र अधोगति हामीहरूकै हातमा छ । पहिले देश अनि मात्र आफू भन्ने भावना हामी सबैमा हुनु अत्यावश्यक छ । हामीले कर्तव्य पूरा गर्यौँ भने हामी उठ्छौँ । निषेध र प्रतिशोधको चक्रव्युहबाट बाहिर आउनै पर्दछ ।’
पूर्व श्री ५ बाट समस्त नेपालीका नाममा जारी गरिएको शुभकामना सन्देशको पूर्णपाठ-
नेपाली दिदीबहिनी तथा दाजुभाइहरू,
आज हामी अर्को नयाँ वर्ष विक्रम सम्वत् २०७८ मा प्रवेश गर्दैछौँ । सदाझैँ हामी नेपालभित्र र विश्वका विभिन्न भू-भागमा रहे-बसेका समस्त नेपालीहरूमा सुख, शान्ति तथा समुन्नतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
हरेक तिथि बार बित्दै जाँदा नयाँ वर्ष आउँदै जान्छ, स्वभावतः हरेक नयाँ वर्षमा सुख, समुन्नति, शान्ति र सन्तुष्टिको अपेक्षा हाम्रो रहन्छ तर समय बित्दै जाँदा ती सबै आशा, अभिलाषा चकनाचुर हुँदै जान्छन् । कालक्रममा यस्तो हुनु हुन्न र नेपाली जनताको आकाङ्क्षा पूरा हुँदै जानु पर्दछ भन्ने हाम्रो कामना हो ।
राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी हामी सबैमा हुनुपर्दछ । यसका निम्ति आपसी भाँडभैलो अनमेल र द्वन्द्वको अन्त हुनुपर्छ, अनि समन्वय, सामञ्जस्य पनि रहनु पर्दछ । हाम्रा पिता पुर्खा तथा त्यागी वीर-वीराङ्गनाहरूले जोगाएको हाम्रो साझा बारी नेपाललाई सबै मिलेर स्याहारसुसार गर्नु र सजाउनु छ । यसका निम्ति हिमाल, पहाड, तराई सबै नेपाली विनाभेदभाव र विनासङ्कोच मिलेर जानु छ । अनावश्यक प्रकृतिको दोहन, आर्थिक अपचलन एवं वैदेशिक प्रभाव र पर निर्भरता त्याग्दै जानुपर्ने आवश्यकता हो । टाठाबाठा मात्र सुखी सम्पन्न सुविधाभोगी हुँदै जाने अरु निमूखा सर्व साधारणहरूको जीवनस्तर कहिल्यै नउठ्ने खालको गतिविधि र पद्धति पनि त्याग्नैपर्ने हुन्छ ।
नेपाली हामी फुटेर होइन, शक्ति संरक्षण गरौँ जुटेर । एकतामा हाम्रो सफलता छ, यसैमा देशको कल्याण छ । हाम्रा समस्या साझा छन्, एउटा बिग्रेको अर्कोले हेर्ने बेला हैन । सबैको एउटै उदेश्य हुनु एउटै कामना हुनु पर्दछ । देशको उन्नति र अधोगति हामीहरूकै हातमा छ । पहिले देश अनि मात्र आफू भन्ने भावना हामी सबैमा हुनु अत्यावश्यक छ । हामीले कर्तव्य पूरा ग¥यौँ भने हामी उठ्छौँ । निषेध र प्रतिशोधको चक्रव्युहबाट बाहिर आउनै पर्दछ । ‘मेची महाकाली – देश बचाउने हाम्रो पाली । नेपाल हाम्रो पहिचान हो – सनातन हाम्रो संस्कार हो । न जाती न भाषा – सबै नेपालीको एउटै आशा । पहाडका गाउँ-गाउँमा आधुनिकताको लहर बिस्तार गरौँ, तराईका फाँटहरूलाई झुलाउँ र हिमाली तथा उच्च पहाडी क्षेत्रमा फलफुल प्रशोधन बढाऔँ । जडिबुटी उद्योग खोलौँ र देशलाई आफ्नै स्रोतशक्तिबाट धनधान्यपूर्ण पारौँ ।
यिनै भावनाकासाथ नयाँ वर्ष साँच्चिकै नयाँ रहोस्- नयाँ वर्षले वास्तवमै हामीहरूका शोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याओस् ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल ।
प्रतिक्रिया