- डम्बर निदाल, डडेल्धुरा
जिल्ला सदरमुकाम नजिकै अमरगढी नगरपालिका-७ मा रहेको डडेल्धुरा जिल्लाकै सबैभन्दा अग्लो डाँडा कस्या टाकुरामा राष्ट्रिय झण्डा फहराएको छ । प्राकृतिक दृष्यावलोकन स्थलका रूपमा रहेको कस्यामा स्थानीय युवाहरूले झण्डा गाडेका हुन् ।
नयाँ वर्ष २०७८ को अवसर पारी ब्राइट भिजन बोइज क्लबका युवाहरूले कस्यामा राष्ट्रिय झण्डा गाडेका हुन् । कस्या टाकुरालाई पर्यटन प्रवर्द्धनका लागि निर्माण कार्य शुरु गरिएको छ । निर्माण क्रममै रहेको कस्या टाकुरामा अझ सुन्दता भर्न राष्ट्रिय झण्डा राखिएको क्लबका उपाध्यक्ष गणेश साँकीले बताए । राष्ट्रिय झण्डाले कस्या टाकुरामा पुग्नेलाई थप आकर्षक पुग्ने उनले बताए ।
अमरगढी नगरपालिका-७ पोखरा बजार माथि कस्या टाकुरो छ । यसको उचाइ समुद्र सतहदेखि १९ सय २५ मिटर रहेको अड्कल गरिएको छ । डडेल्धुरा-बैतडी जोड्ने महाकाली राजमार्गको बोल्याबाजबाट माथि कस्या टाकुरामा जाने बाटो निर्माण गरिएको छ ।
सडकबाट करिब १५ मिनेटको पैदल उकालो चढ्दा कस्या टाकुरामा पुग्न सकिन्छ । टाकुराको चारैतिर पर्खाल र रेलिङ लगाउने काम सम्पन्न भएको छ । भौतिक पुर्वाधार निमार्णका काम हुन थालेपछि पछिल्लो समय कस्या टाकुरामा आन्तरिक पर्यटकहरू अवलोकनका लागि पुग्ने गरेका छन् ।

बिहान सुर्याेदय र बेलुकी सुर्यास्तको दृष्य मनमोहक हुने भएकाले पछिल्ला दिनहरूमा अवलोकनकर्ताको संख्यामा वृद्धि हुदै गएको छ । कस्या टाकुरा पुग्नेहरूले पछिल्लो समय सामाजिक संजाल फेसबुक र टिकटकमा फोटो भिडियो अपलोड गर्ने गरेका छन् ।
टाकुराको बीच भागमा प्राचीन सानो मन्दिर रहेको छ । त्यस भागमा भगवान शिवको मूर्ति निर्माण गरिने अमरगढी नगरपालिका-७ का अध्यक्ष खडक बोहराले बताए । अमरगढी नगरपालिकाले कस्या टाकुरालाई धार्मिक र दृष्यावलोकन पर्यटकिय क्षेत्रका रूपमा विकास गर्ने योजना बनाएको उनले बताए ।
कस्या टाकुरोबाट डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिका क्षेत्र, नवदुर्गा, गन्यापधुरा, अजयमेरु गाउँपालिकाको अधिकांश भू-भागको दृष्यावलोकन गर्न सकिन्छ भने महाभारत पर्वत श्रृंखला लगायत डोटी, अछाम, बैतडी र भारतको उत्तराखण्डको दृष्यावलोकन गर्न सकिन्छ । यी देखिने दृष्यले मनमोहक बनाउने यहाँ पुग्नेहरू बताउँछन् ।
कस्या टाकुरो पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकाले अमरगढी नगरपालिकाले चालु आर्थिक वर्षमा ७२ लाखको बोलपत्र आह्वान गरी भौतिक पुर्वाधार निर्माण कार्य शुरु गरिएको नगरप्रमुख विश्वेश्वर प्रसाद ओझाले बताए । कस्या टाकुरोलाई जिल्लाकै महत्वपूर्ण पर्यटकीय स्थलका रूपमा विकास गर्न अमरगढी नगरपालिकाले दीर्घकालिन योजना बनाएर बर्षेनी लगानी गर्ने उनले बताए ।
पर्यटनको हिसाबले कस्याको टाकुरी एकदमै उत्तम रहेको छ, सजिलै सूर्योदय हेर्न सकिन्छ । कस्या टाकुरीबाट सुर्योदय भएको दृश्यका साथै अन्य रमणीय स्थानहरूको अवलोकन गर्न सकिने भएकोले डडेल्धुराको पर्यटन प्रवर्द्धन विकासमा कस्या टाकुरीले ठुलो भूमिका खेल्ने स्थानीयको भनाइ छ ।
प्रतिक्रिया