अयोध्याधाममा मूर्ति स्थापनाको तयारी तीव्र

अयोध्याधाममा मूर्ति स्थापनाको तयारी तीव्र



चितवनको माडी नगरपालिका-९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्र रुपमा अगाडि बढेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति आगामी मंगलबार (७ वैशाख) काठमाडौंबाट र्‍यालीसहित लगिने र बुधबार एक विशेष कार्यक्रमसहित स्थापना गर्ने कार्यतालिका सार्वजनिक भएपछि मन्दिर निर्माण तीव्र पारिएको हो ।

मूर्ति स्थापना गर्न माडीका राजनीतिक दलको सर्वदलीय सहमति र सामाजिक सङ्घसंस्थाको समन्वयमा तयारीका काम अगाडि बढिरहेका बताइएको छ । कार्यक्रममा विभिन्न जातजातिका झाँकी प्रदर्शन गर्न तयारी भइरहेको अयोध्याधाम व्यवस्थापन समिति प्रचारप्रसार उपसमितिका संयोजक श्रीप्रसाद दवाडीको भनाइ छ ।

मूर्ति स्थापना कार्यक्रमलाई व्यवस्थित रुपमा सम्पन्न गर्न शुक्रबार माडी नगर कार्यपालिका र अयोध्याधाम व्यवस्थापन समिति सचिवालयको संयुक्त बैठक गरिएको राससले जनाएको छ । बैठकले माडी र र्‍यालीको बाटोमा पर्ने भरतपुर महानगरकाका वडामा स्वागतद्वार राख्न अनुरोध गर्ने निर्णय गरेको छ । माडी नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदीका अनुसार कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न उपसमिति गठन गरी सक्रिय रुपमा काम अगाडि बढिरहेको छ ।

अयोध्याधाममा सरसफाइ, निर्माण र सहयोगको काम अगाडि बढिरहेको अयोध्याधाम व्यवस्थापन समितिका अध्यक्ष तीर्थ भुसाल बताउँछन् । अयोध्याधाम निर्माणको लागि आर्थिक तथा जिन्सी सहयोग आइरहेका र निर्माण कार्य तीव्र रुपमा अगाडि बढेपछि अवलोकन गर्न आउनेको पनि चहलपहल बढेको बताइएको छ ।

यही वैशाख ९ गते माडी नगरपालिकाले रामनवमी पर्व भब्यताका साथ मनाउने तयारी थालेको र यसपटकको पर्वमा रौनकता थप्न मूर्ति स्थापनाको कार्यलाई तीव्रता दिइएको हो ।