सोचेजस्तो जीवन बाँच्न के चाहिन्छ ?

सोचेजस्तो जीवन बाँच्न के चाहिन्छ ?


  • बबिता बस्नेत

जीवनको एउटा मोड या अवस्थामा पुगेपछि प्रायः मानिसले ‘अब आफ्नो जीवन बाँच्ने हो’ भनेको सुनिन्छ । तथापि, जीवन आनन्दले बाँच्ने हो भनेर सोच्दासोच्दै सोचेको जस्तो जीवन बाँच्नै नपाइ जीवन सकिन्छ । यो पङ्क्तिकारले त्यस्ता धेरै मानिस भेटेको छ जो अबचाहिँ आफूले चाहेजस्तो जीवन बाँच्छु भनेर योजना बनाउँदाबनाउँदै यो संसार छोडेर गए । आनन्दको जीवन बाँच्ने भनेको के हो थाहै नपाइ जीवन सकिनेहरूको सङ्ख्या ठुलो छ ।

सुखी जीवन बाँच्नका लागि मानिस कृत्रिम कुराको सहारा लिइरहेको हुन्छ, जबकि जीवन बाँच्न पुग्ने धेरै कुरा प्रकृतिमा छ । आफूसँग जे छ त्यसको महत्वबोध हामीलाई हुँदैन । हावामा आनन्दले सास फेरुन्जेल अक्सिजनको महत्व थाहा हुँदैन । हामीले फेरिरहेको सास र हावाको महत्व थाहा पाउनका लागि अक्सिजनको साहारा लिनुपर्ने अवस्थामा पुग्नुपर्छ । पानीको महत्व जीवनमा कति छ भनिरहनु पर्देन । शहरमा मानिसकै कारणले पानी किनेर खानु परेको हो, नत्र पानी किन्नुपर्ने कुरा होइन । प्रकृतिले मानिसलाई बाँच्नका लागि ठाउँ-ठाउँमा पानीको ब्यवस्था गरिदिएको छ । शरीरलाई नभइनहुने भिटामिन ‘डी’ घामले दिन्छ । घामले दिने अरु पनि धेरै कुरा छन् । हामी घाममा बस्दैनौँ र भिटामीन ‘डी’को गाली खान्छौँ, यो प्रकृतिको गल्ती होइन । जन्मिएदेखि नै प्रकृतिले के दिइरहेको छ भन्ने कुरा मानिसले आत्मसात नै गरेको हुँदैन । सित्तैमा पाएको कुरालाई मसँग केही छ भन्ने महसूस गरेको हुँदैन । बाबुआमा जीवित हुञ्जेल वास्ता नगर्ने र उहाँहरूले संसार छोडेपछि आफूसँग के थियो भन्ने थाहा पाउने जस्तै कुरा हो प्रकृतिमा भएका कुराहरूको उपयोग पनि ।

प्रकृतिमा घाम, पानी, अँध्यारो, उज्यालो, चट्याङ, हावा-हुरी सबै छ । मानिसको जीवनमा पनि अँध्यारो-उज्यालो छ र कहिलेकाहीँ चट्याङ पर्छ । नसोचेको कुराको सामना गर्नुपर्ने अवस्था चट्याङ परेसरह नै त हो ! मनमा आँधी आउँछ, भावनामा चोट पर्छ, मनमा आएको तुफान क्रमशः हटेर जान्छ जसरी प्रकृतिमा आएको आँधी थामिदै जान्छ ।

प्रकृति र मानिसको जीवनबीच गहिरो सम्बन्ध छ । प्रकृतिमा रुखहरू मात्रै हे¥यो भने पनि कति फरक छन्, होचा, अग्ला, पोथ्रा, कोही कस्ता । मानिस पनि सबै नै फरक छन् । एउटासँग अर्काको अनुहार मिल्दैन, जिउडाल मात्र होइन बानी–ब्यहोरा पनि मिल्दैन । प्रकृतिमा घाम, पानी, अँध्यारो, उज्यालो, चट्याङ, हावा-हुरी सबै छ । मानिसको जीवनमा पनि अँध्यारो-उज्यालो छ र कहिलेकाहीँ चट्याङ पर्छ । नसोचेको कुराको सामना गर्नुपर्ने अवस्था चट्याङ परेसरह नै त हो ! मनमा आँधी आउँछ, भावनामा चोट पर्छ, मनमा आएको तुफान क्रमशः हटेर जान्छ जसरी प्रकृतिमा आएको आँधी थामिदै जान्छ । एकछिन मानिसले बनाएको बिजुलीबत्ती आएन भने हामीलाई रिस उठ्छ र आक्रोश पोख्छौँ । हिजोआज रिस पोख्नका लागि सहज ठाउँ पनि छ, सामाजिक संजाल । एकछिन बिजुली जाँदा संसारै अँध्यारो भएझैँ लाग्छ तर बिहानदेखि बेलुकासम्म प्रकृतिले दिएको उज्यालो र झलमल्ल घामको हामीलाई वास्तै छैन । डाक्टरहरू भन्छन्- हिँड्नु स्वास्थ्यका लागि सबैभन्दा राम्रो शारीरिक अभ्यास हो तर हिँड्ने कुरामा भन्दा जिम जाने कुरामा मानिसले गौरव गरेको देखिन्छ । जिममा पैसा तिनुपर्छ, हिँडेको पैसा बाटोलाई तिर्नु पर्दैन त्यसैले महत्व नै छैन । खासमा मानिसले आफूले आफैलाई नबिगार्ने हो भने स्वस्थ रहन अस्पताल जानु पर्दैन । तर मानिस आफैमा ‘कम्लिकेटेड’ प्राणी भएका कारण संसारमा धेरै कुराहरू आफूजस्तै जटिल बनाउँदै लगेको छ ।

मानिस अरु प्राणीभन्दा फरक किन छ भने उसँग विवेक छ भनेर भन्ने गरिएको छ । विवेक सही रूपमा प्रयोग हुन सकेन भने विपत्ति आइ लाग्छ । मानिसलाई शारीरिक, भावनात्मक र मनोवैज्ञानिक रूपले विभाजन गरेर हेर्दा शारीरिक भन्दा भावनात्मक र मनोवैज्ञानिक दुःखहरू धेरै हुन्छन् । सुख दिने र खुशी राख्ने पनि भावना र मनोविज्ञान नै हुन् । मानिसको जीवन र जगतप्रतिको सोचले उसलाई निर्देश गरिरहेको हुन्छ । ‘माइण्ड’ शक्तिशाली भएका कारण सोच सबै भन्दा महत्वपूर्ण कुरा हो । शक्तिशाली ‘माइण्ड’लाई उसले कसरी प्रयोग गरिरहेको छ ? आफ्नो मात्र नभइ अरु धेरैको जीवनमा खुशी भर्ने कुरा सोचिरहेको छ या आत्महत्या गरेर आफै नरहने सोचिरहेको छ ? भन्ने कुराले अर्थ राख्छ । सोच, मनोविज्ञान, भावना जस्ता कुराले शरीरलाई असर गर्छ ।

मानिसलाई लाग्ने कति रोगहरू त हाम्रो सोचकै ‘रिफ्लेक्सन’ हुन् । तनावको असर शरीरमा पर्छ । तनावचाहिँ आफैले विकास गर्ने दृष्टिकोणमा भर पर्छ । दुःख, सुख, सफलता, असफलता, प्रेम, सम्बन्ध, पारिवार, समाज, देश, ब्यवसायिक जीवन, परिवारका सदस्यहरूप्रतिको धारणा, आफन्तहरूसँगको अपेक्षा, साथी सर्कल यी र यस्तै कुराहरूको वरिपरि मानिसको जीवन घुमिरहेको हुन्छ । पाइला-पाइलामा फूल छ र काँडा पनि छ, सुख र दुःख दुवै छन् । आफू कुन बाटोमा हिँड्ने रोजाइ हामीसँगै हुन्छ । यसले मलाई यसो भन्यो या यसो गर्‍यो भनेर त्यसैको पछि लाग्ने कि भैहाल्यो त्यो उसको जिन्दगी हो, उसको दृष्टिकोण हो म यसबाट प्रभावित हुनु हुँदैन भनेर तटस्थ सोचसहित अगाडि बढ्ने ? हाम्रै हातमा छ । बिरामी भएर अस्पताल पुगेका मानिसहरूसँग गहिरिएर कुरा गर्ने हो भने शारीरिक भन्दा भावनात्मक ब्यथा र दुःख धेरै भेटिन्छन् । डाक्टरले प्रेस्क्रिप्सनमा लेख्न नसक्ने रोग बोकेर सडकमा कति मानिस हिँडिरहेका होलान्, कति मानिसहरू अस्पतालमा लाइन बसिरहेका होलान्, हामीले सोचेकै छैनौँ ।

बिरामी भएर अस्पताल पुगेका मानिसहरूसँग गहिरिएर कुरा गर्ने हो भने शारीरिक भन्दा भावनात्मक ब्यथा र दुःख धेरै भेटिन्छन् । डाक्टरले प्रेस्क्रिप्सनमा लेख्न नसक्ने रोग बोकेर सडकमा कति मानिस हिँडिरहेका होलान्, कति मानिसहरू अस्पतालमा लाइन बसिरहेका होलान्, हामीले सोचेकै छैनौँ ।

प्रायः मानिसले ‘रिटायर्ड’ भएपछि जीवन बाँच्ने कुरा गर्छन् । हामी सबै नै त्यस्तो कुरा गर्छौं तर रिटायर्ड हुने उमेरसम्म आफै रहिन्छ कि रहिँदैन भन्ने बारेमा भने सोचिएको हुँदैन । वास्तवमा आफूले सोचेजस्तो जीवन बाँच्न रिटायर्ड भइरहनु पर्दैन । हामी जो जुन उमेरका छौँ त्यहीँबाट आफूले चाहेको जीवन बाँच्न सकिन्छ । किनभने जीवन बाँच्न धेरै कुरा चाहिँदैन । जे देख्यो त्यही राम्रो लाग्न थाल्यो भने या आफूलाई त्यो नभइनहुने ठान्न थालियो भने त्यस्ता मानिस कहिल्यै सुखी र खुशी हुँदैनन् । प्राप्तिको कुनै सीमा नहुने हुँदा धन, नाम र पदको पछि लाग्नेहरू प्रायः दुःखी देखिन्छन् । पदमा पुगेकै भए केको लागि म यो ठाउँमा छु या के कारणले मेरो नाम, मान सम्मान छ भनी बुझ्न सक्ने मान्छेले जीवन बाँच्न रिटायर्ड हुने समय पर्खिनु पर्दैन ।

सफल र वास्तविक जीवन बाँच्नका लागि मानिसको मनमा शान्ति चाहिन्छ । शान्तिबिनाको धन, सम्पत्ति, शिक्षा, पद, प्रतिष्ठाको कुनै अर्थ छैन । जीवनमा शान्ति आफैभित्र छ र आँधी पनि आफैभित्र छ । जब मानिस आफू शान्त र खुशी हुन्छ अरुलाई पनि त्यस्तै देख्न थाल्छ । अशान्त मनले आफैलाई दुःखी बनाउँछ र दुःखी मनले अरुलाई सुखी देख्दैन, देख्न खोज्दैन, चाहँदैन । आफ्ना सोच र भावनाहरूको ब्यवस्थापन गर्न सक्नु मानिसको जीवनमा ठुलो सफलता हो । सोचेजस्तो जीवन बाँच्न हाम्रा सोचहरू स्वच्छ र फराकिलो हुन आवश्यक छ ।