‘अजम्मरी अक्षरहरु’ लिएर आए महेशबाबु

‘अजम्मरी अक्षरहरु’ लिएर आए महेशबाबु


  • राजन घिमिरे

मूलतः शिक्षा ब्यवसायी हुन महेशबाबु तिमल्सिना । लामो समयदेखि शिक्षा क्षेत्रमा आवद्धता जनाउँदै आएका महेशबाबुको परिचय यतिबेला थप फराकिलो बनेको छ । शिक्षा क्षेत्रको ब्यक्ति मात्र भन्दा अब उनमाथि न्याय नहुन सक्छ । अब महेशबाबु कवि, गीतकार तथा चलचित्र निर्माताको रूपमा पनि चिनिन थालिएका छन् ।

यसै क्रममा कवि तथा गीतकार महेश बाबु तिमल्सिनाद्वारा सिर्जित कविताहरुको संग्रह ‘अजम्मरी अक्षरहरु’ सार्वजनिक भएको छ । नेपाली तथा अंग्रेजी भाषामा रहेका कविता संग्रहको एक कार्यक्रम बीच मदन पुरस्कार विजेता कविद्वय गोपाल पराजुली र दिनेश अधिकारीका हातबाट कृति सार्वजनिक गरिएको हो ।

पुस्तक सार्वजनिक गर्न कविद्वयलाई नवराज लम्साल, महेश पौड्याल, प्राध्यापक लक्ष्मण गौतम आदिले साथ दिएका थिए ।

कार्यक्रममा संग्रहभित्रका कविता वाचन गर्नुका साथै कवितामाथि बनाइएको भिडियोसमेत देखाइएको थियो । सोही अवसरमा लेखक महेशबाबुको रचनामा रामकृष्ण ढकालको स्वरमा सजिएको गीतको भिडियो प्रदर्शन गरिएको थियो । निकेश खड्का निर्देशित भिडियोमा अजर जंगमको संगीत रहेको छ ।

संग्रहका कवितामाथि टिप्पणी गर्दै प्राध्यापक लक्ष्मण गौतमले भने, ‘ कविताले व्याख्या गर्दैन, संकेत गर्छ । यस मानेमा कविता संग्रहमा देशकाल परिस्थिति अभिव्यक्त गर्ने संकेत जताततै भेट्न सकिन्छ ।’

यसैगरी पुस्तकमाथि कवि महेश पौड्यालले भने कविताको अंग्रेजी सम्पादनमा हतार गरिएका लक्षण भेटिने बताउँदै समग्रमा भने कविता संग्रहमा चोटिला कविताको वर्चस्व रहेको बताएका थिए । ‘कविमा आदर्शवादको प्रभाव अलि बढी देखिन्छ । यो पाटो बिर्सने हो भने संग्रहमा धेरै घत लाग्ने कविता छन्’ पौडेलको भनाइ थियो ।

कार्यक्रम प्रस्तोता तथा कवि नवराज लम्सालले भने सर्जकको पहिचान पृथकता हुने धारणा राख्दै कविको रुपमा महेशबाबुका कवितामा बेग्लै शिल्प र शैली देख्न सकिने धारणा राखे ।

त्यसैगरी कवि दिनेश अधिकारीले अक्षरको आयु लामो हुने बताउँदै अरु जे पेशा व्यापार गरे पनि अक्षरको साधना गरेकोमा कविलाई धन्यवाद दिए । उनले समालोचकको कुरालाई तौलेर मात्र ग्रहण गर्न पनि सुझाव दिए ।

कवि तिमल्सिनाले भने आफूले सरल भाषामा मनका भाव व्यक्त गर्ने प्रयास गरेको बताउँदै ती भाव कविता हुन् कि होइनन् भनेर निर्क्योल गर्ने काम पाठकको जिम्मामा छाडेको बताए ।

‘मैले एकदमै सरल भाषामा कविता लेखेँ भन्ठानेको थिएँ, तर पनि मेरो छोराले यसको २५ प्रतिशत भाव पनि बुझेन । त्यसैले नयाँ पुस्तालाई पनि बुझाउन नेपालीसँगै अंग्रेजी भाषामा पनि अनुवाद गरिएको हो’ उनले भने ।’