कसका निम्ति कोरोना भन्दा खतरनाक केपी ?

कसका निम्ति कोरोना भन्दा खतरनाक केपी ?


  • देवप्रकाश त्रिपाठी

‘काल’सँग छलिनका निम्ति अनेकौँ उपाय अवलम्बन गरिरहेका हामी मरिने पिरलोबाट हरदम सताइएका छौँ । सबैतिरबाट दुःख, कष्ट, अभाव र मृत्युको मात्र खबर सम्प्रेषण भइरहँदा ‘मास डिप्रेसन’को अवस्था उत्पन्न हुन सक्ने खतराका सङ्केतहरू देखिँदै छन् । हामी आममानिस सुकुम्बासीका सन्तान झैँ एक प्रकारले बेवारिसे भएका छौँ । सुकुम्बासी परिवारमा अभिभावक लाचार र गैह्रजिम्मेवार मनोदशामा हुन्छन्, त्यो उनीहरूको बाध्यता हो । थाहा भएर पनि केही गर्न नसक्ने लाचारीपनले मानिसलाई गैह्रजिम्मेवार बनाउँदै लैजान्छ र, तिनका सन्तान आफ्नै आमाबाबाप्रति समेत भरोसा र विश्वास नगर्ने मानसिकताबाट गुज्रिरहेका हुन्छन् । सुकुम्बासी परिवारमा बाबुआमाले कुनै दिन आफ्ना इच्छा र आवश्कयता पूरा गर्न थाले भने सन्तानका निम्ति त्यो दुर्लभ घटना ठहरिन्छ । लाचारी प्रकट गर्दै सन्तानलाई अभावमा बाँच्न बाध्य तुल्याउने अभिभावक र जनतासँग सरोकार नराख्ने राज्य उस्तै हुन्, हुन्छन् ।

केही दशकअघिसम्म नेपाली जनताले जमिनको मालपोत बुझाउने समयमा राज्यको याद गर्थे । आफूप्रति राज्यको दायित्व के हो भन्ने ज्ञान आममानिसलाई थिएन र, शासक तथा प्रशासकहरू पनि जनताप्रति सम्वेदनशील नरहेको ठानिन्थ्यो । माओवादी कम्युनिष्टहरूको दाबीका आधारमा धारणा बनाउने हो भने हामी अहिले इतिहासकै उन्नत राजनीतिक प्रणालीभित्र बाँचिरहेका छौँ । पहिले मालपोत कर मात्र बुझाउने समयमा समेत राज्य याद गर्ने हामी अहिले पाइलैपिच्छे पचासौँ किसिमका कर बुझाउने गर्छौं, त्यसैले राज्यको अनुभूति पनि पाइलैपिच्छे हुन थालेको छ । कुनै समय प्रशासनमा जाँदा सेवा पाइन्थ्यो र न्यायालयमा न्याय । अहिले प्रशासन र न्यायालयमा हैरानी र ठक्करबाहेक केही पाइन्छ भने त्यो अपवाद हो । राज्यमा पहुँच हुनेले मात्र सेवा र अवसर प्राप्त गर्ने अवस्था बनेकोले हरेक नागरिक आफ्नो बेग्लै राज्य भएको अनुभूति हरदम गर्ने गर्दछन् ।

नेपालको इतिहासमा तत्कालिन समाजले पृथ्वीनारायण शाहबाट देशको एकिकरण हुने अपेक्षा गरेको थिएन । काठमाडौं, पाल्पा या मकवानपुरका राजाहरूमा मुलुकलाई एकीकृत गर्ने सामर्थ्य भएकोले तीमध्ये कुनै राजा या राजकुमारले देश एकिकरण गर्ने अपेक्षा राखिन्थ्यो । तर वैभवशाली राजाहरू चुके र, विपन्न राज्यका राजा पृथ्वीनारायण शाहले एउटा ऐतिहासिक दायित्व पूरा गरे । अपेक्षा नै नराखिएका राजेन्द्रलक्ष्मी र बहादुर शाहले देशमा धेरै ठूलो योगदान पुऱ्याए । तत्कालिक समाजमा उपेक्षित जङ्गबहादुर राणाबाट नेपाली इतिहासलाई गुन लगाउने जे-जति काम भए, त्यसपछि राजा महेन्द्रको उदयपश्चात मात्र नेपाली जनताले राज्यस्तरबाट भएका कामको अनुभूति गरेका थिए । इतिहासमा अवसर र समय पाएर पनि केही गर्न नसक्ने अनेक पात्रहरूमध्ये राजा राजेन्द्र र वीरेन्द्र हुन् । समय पाएर पनि कुनै स्मरणयोग्य काम नगरी पत्नीकै वरिपरी घुमेर समय बर्बाद गर्ने प्रमुख पात्रका रूपमा यिनलाई लिन सकिन्छ ।

विकास निर्माणका नियमित प्रक्रियालाई केपीको विशेष योगदानका रूपमा बुझिरहनु नपर्ला, तर मुलुकको मूख्य समस्याका रूपमा रहेका प्रचण्ड-बाबुरामहरूको पङ्ख काटेर तिनको वेग र आवेगमा अवरोध पैदा गर्ने सामर्थ्यचाहिँ केपी एक्लैले देखाएका हुन् ।

परिणाममुखी काम गर्नका निम्ति समय र परिस्थिति दुवै अनुकुल हुनुपर्छ, बीपी कोइराला र कृष्णप्रसाद भट्टराईले अनुकुल परिस्थिति र पर्याप्त समय पाएनन्, तथापि उनीहरूले अल्पकालमै आफ्नो दायित्व पूरा गरे । तर २०४८ को संसदीय निर्वाचनबाट विजयी भइ प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइराला र २०६४ को (संविधानसभा) निर्वाचनपश्चात प्रधानमन्त्री भएका प्रचण्डले अत्यन्त अनुकुल परिस्थिति भएर पनि त्यसलाई मुलुकका पक्षमा उपयोग गर्न सकेनन् । २०४८ पछिका गिरिजा र २०६४ पछिका प्रचण्ड आफूले चाहेको जुनसुकै काम सम्पन्न गर्न सक्ने परिस्थितिजन्य हैसियतमा थिए, तर यिनले ब्यर्थ कुराहरूमा अल्झिएर देशको समय बर्बाद गरे । राजा वीरेन्द्रको योजना र अवधारणाअनुरुप सडक विभागले आफ्नो कार्ययोजना अघि बढाउँदै गरेको अवस्थामा बाबुराम भट्टराई नामक व्यक्ति प्रधानमन्त्री हुन आइपुगे । राजा वीरेन्द्रको परिकल्पना र योजनाअनुसार सडक विस्तार हुँदा त्यसको एकलौटी जस (यश) भट्टराईलाई प्राप्त हुन गयो ।

इतिहासमा सर्वाधिक अपेक्षा राखिएका प्रधानमन्त्री केपी शर्मा ओली पनि हुन्, जुन अपेक्षाअनुरुप काम गर्ने तत्परता दोस्रो पटक प्रधानमन्त्री भएपछिका प्रारम्भिक कालमा देखिएको पनि हो, तर त्यसले निरन्तरता पाउन सकेन । सरकार गठनको पहिलो वर्ष परिस्थिति अनुकुल भएर पनि काम अगाडि बढेन, सरकार कहाँ अल्झिन पुग्यो, त्यसको हेक्का राख्न पनि सकिएन । त्यसपछिको समयमा केपी आफ्नै रक्षामा केन्द्रीत हुनुपरेको छ । उच्च तहमा हुने अनियमितता र भ्रष्टाचारका घटनामा सरकारमाथि लागेको आरोप गलत भएको पुष्टि गर्ने सामर्थ्य र तत्परता पनि सरकारमा देखिएन । अकर्मण्यता र असमर्थताका अनेक कारण दर्शाउन सकिएला, तर जनताको दैनिक जीवन सहज तुल्याउन, अनियमितता तथा भ्रष्टाचार नियन्त्रण गर्न र आशा जगाइराख्न केपीको सरकार सफल हुन नसकेकै हो । तथापि केपीबाट भएका, हुन खोजेका या भइरहेका केही कार्यलाई भने स्मरण गरिरहनुपर्ने देखिएको छ ।

केपी शर्मा ओलीको सबैभन्दा महत्वपूर्ण कार्य भनेको नेपाललाई पोलपोटको कम्बोडिया र कथित साँस्कृतिक क्रान्तिकालीन माओको चीनजस्तो बनाउने घातक उद्देश्यका साथ अघि बढेका माओवादीलाई छेकबार लगाउन सक्नु हो । काङ्ग्रेसका नेताहरू मदारीको बाँदरझैँ प्रचण्ड-बाबुरामको तालमा नृत्य गरिरहँदा आतङ्कित जनसमूहलाई त्राण पैदा गराउने काम केपीबाट भएको थियो । केपीकै कारण राष्ट्रिय सेनामा पार्टीका हज्जारौँ गुरिल्ला घुसाएर सम्पूर्ण सत्ता कब्जा गर्ने प्रचण्ड-बाबुरामको योजना असफल भएको थियो । देशलाई पन्ध्र वटा जातीय राज्यमा विभाजन गर्ने पराय इसारा र माओवादी-काङ्ग्रेसको इच्छालाई परास्त गरी अलिक सहज ढङ्गको सङ्घीय अभ्यासमा मुलुकलाई लैजाने काम पनि केपीबाट नै भएको हो । त्यस्तै, राजनीतिकेन्द्रित राजनीतिलाई विकास र समृद्धितर्फ मोड्ने प्रयास पनि केपीले गरेका हुन् । विकास निर्माणका नियमित प्रक्रियालाई केपीको विशेष योगदानका रूपमा बुझिरहनु नपर्ला, तर मुलुकको मूख्य समस्याका रूपमा रहेका प्रचण्ड-बाबुरामहरूको पङ्ख काटेर तिनको वेग र आवेगमा अवरोध पैदा गर्ने सामर्थ्यचाहिँ केपी एक्लैले देखाएका हुन् ।

२०७४ मा चुनावी गठबन्धन तथा २०७५ मा पार्टी एकिकरण गर्न लिएको तत्परताको अन्तर्य नबुझ्नेहरूका निम्ति केपी पनि माओवादीकै मतियार लाग्न सक्छन् । तर, शान्तिप्रक्रियामा आएको भन्दै खुला राजनीतिमा प्रवेश गरेर संविधान, परिस्थिति र पात्रलाई उपयोग गर्दै क्रान्तिप्रक्रियामा रहेका माओवादीलाई पार्टी अनुशासनको बोरामा बाँधेर तह लगाउनका निम्ति मात्र केपीबाट पार्टी एकिकरणसम्मका कदम चालिएको थियो भन्न सकिने पर्याप्त आधार छन् । काङ्ग्रेस-माओवादीबीचको सम्भावित गठबन्धन (२०७४ को संसदीय निर्वाचन) हुन नदिन आफैंले माओवादीसँग गठबन्धन गरेको र पार्टी अनुशासनभन्दा बाहिरका प्रचण्ड सरकारको स्थिरताका निम्ति घातक हुन सक्ने ठानेर मात्र पार्टी एकिकरण गरिएको तथ्य बुझ्न सकियो भने २०६३ को परिवर्तनपछिको राजनीति माओवादी र केपी ओलीबीचको टक्कर र अक्कलकै वरिपरि घुमिरहेको अनुभूत गर्न सकिन्छ । २०६३ पछि केपीका अधिकाङ्श प्रयासहरू माओवादीको नियोजन गर्ने उद्देश्यबाट प्रेरित छन् । करिव तीन दशकको सङ्घर्षपछि २०४६ सालमा प्राप्त प्रजातन्त्र र प्रजातन्त्रवादका विरुद्ध हिंसात्मक सङ्घर्ष गर्ने माओवादीलाई समन नगरिकन देशले शान्ति, स्थिरता र समृद्धि हाशिल गर्न नसक्ने दृढ विश्वास शायद केपीमा थियो । २०६३ मा गिरिजा सरकारको परराष्ट्रमन्त्री रहँदा माओवादीका प्रति केपीको जस्तो किसिमको प्रस्तुति र व्यवहार थियो, अहिले पनि त्यस्तै महसूस गरिन्छ ।

माओवादीमाथि सङ्कट आइपर्दा हरेक गौंडा-गौंडामा साथ दिने नेपाली काङ्ग्रेसका नेताहरू हिजो पनि माओवादीमैत्री व्यवहार गर्थे, र गत पौष ५ गते (संसद् विघटन) पछि चरम सङ्कटको सामना गर्दै आएको माओवादीलाई टेकाउने-उभ्याउने कार्यमा पनि काङ्ग्रेस नेतृत्व र माधव नेपालहरूकै मूख्य योगदान रहेको छ ।

२०६६ सालमा तत्कालिक प्रधानसेनापति रुकमाङ्गद कटवालको ‘अडान’का कारण दुई निर्वाचन क्षेत्रमा पराजय ब्यहोरेका माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्ने अवसर प्राप्त भयो, तर नेपालले आफू प्रधानमन्त्री बनेको साता दिन नपुग्दै कटवालको राजीनामा मागे । त्यसताक सेनापति कटवालको कार्यकाल अर्को एक वर्षका लागि थपिने अनुमानले निकै चर्चा पाएको थियो । कटवाल भने पदरक्षाका लागि प्रधानमन्त्रीसँग पुनः सङ्घर्ष गर्दै थिए । माधव नेपालको भनाइ थियो- ‘कटवालले राजीनामा नदिएसम्म माओवादीसँग मिलेर अघि बढ्न नसकिने भैयो ।’

प्रचण्डहरूलाई खुशी बनाउन माधव नेपालले पटक-पटक राजीनामा मागे पनि कटवालले दिएनन् । त्यसैले कटवाल सेनापति पदमा बहाल रहँदासम्म प्रधानमन्त्रीको हैसियतमा सैनिक मूख्यालय पुगेर ‘ब्रिफिङ’ लिने काम माधव नेपालले गरेनन् । कटवालले अवकाश पाएर कुनै गुरुङले सेनापतिको जिम्मेवारी लिएपछि मात्र माधव नेपालले प्रधानमन्त्रीको हैसियतमा सैनिक मूख्यालय टेकेका थिए ।

यसरी माधव नेपाल माओवादीका प्रति अत्यन्त सम्वेदनशील रहँदै आएका थिए भने केपी ओली माओवादीलाई जवाफ लगाउन हरेक मोर्चामा हरदम तयार रहन्थे । प्रचण्डबाट सार्वजनिक सञ्चारमाध्यममार्फत राष्ट्रिय सेनाबारे अस्लील र अवाञ्छित टिप्पणी हुँदा गिरिजाप्रसाद, रामचन्द्र र कृष्ण सिटौलाहरू मुसुमुसु हाँसेर चुपचाप बसे पनि केपीले त्यसको प्रतिवाद गरे । राष्ट्रिय सेनाको सङ्ख्या घटाएर दश हजारमा सीमित गर्न प्रचण्ड-बाबुरामले गरेको प्रयास निस्तेज तुल्याउन पनि मूख्य भूमिका केपीले नै निर्वाह गरेका थिए । त्यसताक विभिन्न दलका नेताहरू प्रचण्ड-बाबुरामका साथ बसेर तस्बिर लिन पाउनुलाई पनि ‘अवसर’ ठान्ने मानसिकतामा थिए, त्यो समयमा पनि केपी ओली माओवादीलाई अवाञ्छित तत्व ठान्थे र सोहीअनुरुप व्यवहार गर्थे ।

केपी र माओवादीबीचको डेढ दशक लामो सङ्घर्षमा काङ्ग्रेसका नेता र माधव नेपालहरू सधैं माओवादीको हितैषी बन्दै आएका हुन् । एक्ला केपी मात्र प्रचण्ड-बाबुरामहरूको प्रकोपबाट मुलुकको रक्षा गर्न निरन्तर यत्नशील रहँदै आएका थिए भनियो भने गलत हुने छैन । पछिल्लो राजनीतिक सङ्घर्ष पनि माओवादी र केपीबीचको द्वन्द्वकै परिणाम हो । पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी लेनिनवादी) भएर पनि प्रजातन्त्रवादका पक्षमा उभिने एक्ला नेता केपी भएका छन् । माओवादीमाथि सङ्कट आइपर्दा हरेक गौंडा-गौंडामा साथ दिने नेपाली काङ्ग्रेसका नेताहरू हिजो पनि माओवादीमैत्री व्यवहार गर्थे, र गत पौष ५ गते (संसद् विघटन) पछि चरम सङ्कटको सामना गर्दै आएको माओवादीलाई टेकाउने/उभ्याउने कार्यमा पनि काङ्ग्रेस नेतृत्व र माधव नेपालहरूकै मूख्य योगदान रहेको छ । अहिले केपी ओलीविरुद्धको मोर्चाबन्दी माओवादीको हितरक्षाकै निमित्त भएको आमजानकारीको विषय हो ।

मुलुक कोरोना आतङ्कले त्राहीमाम छ । स्वास्थ्य सुविधा नपाएर निर्दोष नागरिकले अकालमा ज्यान गुमाइरहेका छन् । तर प्रचण्ड र माधव नेपालहरू कोरोनाभन्दा पनि केपीबाट आतङ्कित छन्, त्यसैले कोरोना विजयी भइरहे पनि केपी ओलीलाई चाहिँ परास्त गरिछाड्ने अठोटका साथ प्रचण्डहरूले आगो बाल्दा काङ्ग्रेस सोही आगोमा घ्यू थप्ने ‘ड्युटी’ पूरा गरिरहेछ ।

प्रजातन्त्र र प्रजातान्त्रिक प्रणालीका विरुद्ध हिंसात्मक सङ्घर्ष गर्ने, क्रान्तिका नममा हज्जारौँ निर्दोष नागरिकका गला रेट्ने, भौतिक संरचनाहरू नष्ट गरेर राज्यलाई खर्बौं रुपैयाँबराबरको क्षति पुऱ्याउने, मुलुकमा शदियौँदेखि कायम सामाजिक सद्भाव र जातीय एकता ध्वङ्श गरी जातिवादलाई प्रोत्साहन गर्ने, नेपाली राजनीतिमा बाह्य भूमिका विस्तार गराउने, नेपालीको मौलिक धर्म, संस्कृति र राष्ट्रिय एकता तहसनहस तुल्याउने तथा एकदलीय अधिनायकवादलाई आफ्नो राजनीतिक लक्ष्य बनाउने प्रचण्डहरूसँग केपीले नलडेका भए मुलुकले उहिल्यै कहिले उत्तर कोरियाको नियति भोगिसकेको हुन्थ्यो !

भिन्न-भिन्न स्थानमा उभिएको देखिए पनि प्रचण्ड, बाबुराम, उपेन्द्र र वैद्य आदि अनेक प्रकारले एउटै उद्देश्यका निम्ति क्रियाशील रही आएका छन् । अझै पनि विध्वङ्श, अधिनायकवाद, हिंसा र अनेकता चाहने तथा देशको आवश्यकता नै यही भएको विश्वास गर्नेहरूले प्रचण्डहरूलाई साथ दिनु अस्वभाविक होइन । प्रजातान्त्रिक पृष्ठभूमिको काङ्ग्रेस पार्टीसमेत बारम्बार माओवादीको कित्तामा उभिनुलाई चाहिँ स्वभाविक मानिएको छैन र, काङ्ग्रेस यस प्रकारको अस्वभाविकता प्रदर्शन गर्न निर्लज्ज किसिमले निरन्तर प्रस्तुत हुँदै आएको छ । प्रजातान्त्रिक पृष्ठभूमि र प्रजातन्त्र पक्षधर कार्यकर्तालाई जग बनाएर जातिवाद र माओवादका पक्षमा काङ्ग्रेस उभिनुको अर्थ खोजियो भने भोलिको नेपालको विभत्स तस्बिर हाम्रा दृष्टिमा प्रकट हुनेछ ।

मुलुक कोरोना आतङ्कले त्राहीमाम छ । स्वास्थ्य सुविधा नपाएर निर्दोष नागरिकले अकालमा ज्यान गुमाइरहेका छन् । तर प्रचण्ड र माधव नेपालहरू कोरोनाभन्दा पनि केपीबाट आतङ्कित छन्, त्यसैले कोरोना विजयी भइरहे पनि केपी ओलीलाई चाहिँ परास्त गरिछाड्ने अठोटका साथ प्रचण्डहरूले आगो बाल्दा काङ्ग्रेस सोही आगोमा घ्यू थप्ने ‘ड्युटी’ पूरा गरिरहेछ । बीपी कोइराला स्वयम् र माओवादीबाट मारिएका पाँच हजारभन्दा बढी काङ्ग्रेस कार्यकर्ताहरूको आत्मा दुःखी तुल्याएर पूर्व प्रजातान्त्रिक पार्टी नेपाली काङ्ग्रेसले प्रजातन्त्र र देशको भविष्य रक्षा गर्न नसक्ने त प्रमाणित नै भइसकेको हो, अब आफ्नै रक्षा गर्ने सामर्थ्य पनि गुमाउने स्थितिमा विचारविहीन काङ्ग्रेस पुगिसकेको सङ्केतहरू देखिन थालेका छन् ।

लेण्डुपलाई क्रान्तिकारी-प्रजातन्त्रवादी र जिन्नालाई राष्ट्रवादी ठान्ने सम्बन्धित मुलुकका जनताले भोगेको भन्दा पनि दुःखद नियति ब्यहोर्नुपर्ने पृष्ठभूमि माओवादीसँग काङ्ग्रेसको सहकार्यले बनाउँदै छ । प्रधानमन्त्रीका रूपमा केपी ओलीबाट भएका गल्तीहरूको हिसाब अनुकुलतामा जहिले पनि खोजी गर्न सकिन्छ, तर माओवाद र जातिवादका हिमायतीहरूबाट हुने या भएको गल्ती सच्चिन शताब्दी लामो कष्टप्रद समय प्रतीक्षा गर्नुपर्ने हुन सक्छ ।

माओवादीको क्रान्तिप्रक्रियामा विराम लागेको छैन र, नेपाललाई जातीय एवम् क्षेत्रिय द्वन्द्वमा अल्झाएर शान्तिका निम्ति भन्दै अफगानिस्तानमा झैँ नेपाल प्रवेश गर्ने पश्चिमी रणनीति पनि बदलिएको छैन । माओवादीका प्रचण्ड, बाबुराम, आङ्काजी तथा उपेन्द्रहरूसँग काङ्ग्रेसका रामचन्द्र पौडेल, कृष्ण सिटौला र गगन आदिको सहकार्य मुलुकका निम्ति कोरोना भाइरसभन्दा घातक नभएको ठान्न सकिने अवस्था छैन ।

लेण्डुपलाई क्रान्तिकारी/प्रजातन्त्रवादी र जिन्नालाई राष्ट्रवादी ठान्ने सम्बन्धित मुलुकका जनताले भोगेको भन्दा पनि दुःखद नियति ब्यहोर्नुपर्ने पृष्ठभूमि माओवादीसँग काङ्ग्रेसको सहकार्यले बनाउँदै छ । प्रधानमन्त्रीका रूपमा केपी ओलीबाट भएका गल्तीहरूको हिसाब अनुकुलतामा जहिले पनि खोजी गर्न सकिन्छ, तर माओवाद र जातिवादका हिमायतीहरूबाट हुने या भएको गल्ती सच्चिन शताब्दी लामो कष्टप्रद समय प्रतीक्षा गर्नुपर्ने हुन सक्छ । माओवादी, जातिवादी, अनेकतावादी र धर्म-संस्कृतिविरोधीहरूका निम्ति केपी कोरोनाभन्दा खतरनाक देखिएका होलान्, तर राष्ट्रिय एकता, सामाजिक सद्भाव र मौलिक धर्म-संस्कृतिसहितको समृद्धि चाहनेहरूका निम्ति कोरोनाभन्दा भयानक खतरनाक अरुहरू नै ठहरिएका छन् ।

सोह्र वर्षअघि माओवादीसँग काङ्ग्रेसले सहकार्य गर्नुको दुःखद् परिणाम हामी यतिबेला निरन्तर ब्यहोर्दै छौँ । उनीहरूबीच अहिले भएको सहकार्यले भविष्यमा मुलुक र नेपाली समाजलाई कस्तो अवस्थामा पुऱ्याउँछ भन्ने कुराको हेक्का कम्तिमा काङ्ग्रेस नेतृत्वले फेरि पनि राख्न खोजेन । त्यसैले देशभक्त, राष्ट्रवादी र प्रजातन्त्रवादी जनता आफैं सुसङ्गठित नभएसम्म राष्ट्रविरोधिहरूको पराजय सम्भव नहुने देखियो, कोरोनासँगै यिनको पराजयले मात्र मुलुकलाई सहज निकास दिने आशा गर्न सकिन्छ । जय मातृभूमि !