काकाकुल बस्ती र मेरा मान्छेहरू

काकाकुल बस्ती र मेरा मान्छेहरू


■ अशोक विश्वकर्मा

तनहुँ जिल्लाकै एक सुन्दर बस्ती लाग्छ भिमाद नगरपालिका-८ टोड्के । धेरैलाई कतै सुनेँ-सुनेँ जस्तो लागे पनि कमैलाई थाहा छ टोड्के र यहाँका नागरिकहरूको कथा… दैनिक भोग्ने भोगाइहरू । लुकेर बसेको अर्थात् आफ्नै परिचय खुल्ला रूपमा दिन नचाहेको जस्तो लाग्ने टोड्के प्राकृतिक वन–जंगल र उर्वरभूमिले भरिएको ठाउँ हो ।

वि.सं. २०२० भन्दा पहिलादेखि २०५० सालसम्म सबैलाई प्रिय र रमाइलो लागेको यो गाउँ अहिले एकाएक जंगलमा परिणत भएको छ । मुस्किलले ३५ घरधुरी एक ठाँउमा मिलेर बसेको गाउँ पहाडिया संस्कृति जोगाउने प्रमुख थलोको रूपमा परिचित थियो ।

यहाँका तत्कालिन युवायुवतीहरूको मानसपटलमा अझै पनि ती रोधीघर र मादलुको तालसँग बंैशमा साँटिएका मायापिरतीका रमाइला किस्साहरू ताजै छन् । उमेर र समय अनि अवस्था सधैं उस्तै कहाँ रहन्छ र ! यही माटोको सुगन्ध र हिलो-मैलोको साथसँगै छुटेको मनहरू अहिले संसारका विभिन्न देशमा पुगेका छन् ।

मन नछोडिए पनि बाध्यतासँगै तन छुटेर बिराना बनेकाहरूले बिहानी घामको पहिलो झुल्कोसँग माछापुच्छ्रे हिमालसहित टलटल टल्किएका हिमशृङ्खलाले नछोड्ने साथबाट केही सिक्नु जरुरी छ । जहाँ रहे पनि गैह्राबाट पानी बोकेका, मेलापात गरेका र माहारा जाँदाको झल्कोहरू त अझै पनि आउँछ होला । गाउँका मानिस र त्यो हावा, पानी र वातावरण कसोरी बिर्सन सक्नुभयो होला र ?!

गाउँको अवस्था बिकुल्कै परिवर्तन भएको छ । खटिरा आएर बिरामी पर्नेको बदनबाट निस्किएका पाप्रा झैँ घरका भित्ताहरू कुरुप बनेका छन् । कोरोनाका कारण हेर्दा हर्दा प्राण त्यागेको बिरामीझैँ यहाँका ती सुन्दर महलहरू पलपलमा ढलिरहेका छन् । उर्बरभूमि बाँझिएर बनमाराले स्थान लिएको छ । गाई-बाख्रा र भैंसी बाँध्ने गोठहरूमा आजभोलि त जंगली जनावरले पो आफ्नो बासस्थान बनाउन थालेका छन् रे !

याद छ कि नाइँ ? पानी लिन जाँदा बाटो बाटोमा टिप्न पाइने काँडेधनियाँ र त्यो आँपको रुख । अझै त्यस्तै छ, तर टिपेर खाइदिनेहरू छैनन् गाउँमा । एउटा पुरातात्विक महत्व बोकेको कोहोलडाँडाका कोहोल ढुङ्गामा पनि खिया लागेको होला, झाडीले ढाकेको होला ।

कालो पाटीमा कखरा पढेको त्यो स्कुल पनि बन्द भएछ । किन नहोस् पढ्न जाने विद्यार्थी नै नभएपछि ? अनि विद्यालयका पक्षमा लागेर बोल्ने मर्द कोही नभएपछि ? भाइबैनाको स्कुल जाने बाटो पनि ओरालो लागेको छ, हामी त उकाली चढेर जाने गर्थ्यौँ ।

हामी लाखे हेर्न जाने छिमेकी गाउँमा त कस्तो मज्जाले मोटर गाडी चल्ने भइसकेछ तर पनि भौगोलिक रूपमा मिलेको मेरो गाउँमा अझै राम्रो सडक पुग्न सकेको छैन । केही दूरी हिँडेरै भिमाद बजार र खैरेनीटार शहरमा आउने मेरा मान्छेहरू त गाउँमै गाडी चढेर बजार झर्न पाउँदैनन् कि जस्तो लाग्छ ।

यस क्षेत्रकै कर्णाली जस्तो लाग्ने मेरो गाउँमा अझै पनि नेताको नजर नपुगेको देख्दा उदेक लाग्छ । मत माग्नसमेत जाँदैनन् अचेल नजर किन पुग्थ्यो र, हाम्रा मान्छे त सोझा रैछन् घण्टौँ हिँडेर पनि उसैलाई मत दिन जाने !

गाउँ त समयसँगै फेरियो, यहाँको अवस्था झन् झन दयनीय बनेर फेरिएका छन् । तर एउटा समस्या भने कहिल्यै पनि फेरिएका रहेनछ…. छाङ्गादीको खानेपानी । राति–राति बनाएर खाएको पानी त अझै पनि यहाँका नागरिकले यसरी नै बनाएर खानुपर्ने रैछ नि ! बर्खामा धमिलो आउने पानी कहिलेकाहीँ त अमिलो बनेर आउने गर्छ रे धारामा, खै के-के मिसिएर हो ।

बिहानै गाउँका दाइसँग भेट भयो । सामान्य हालखबर बुझेपछि फेरि सुरु भयो त्यही पानीको कहानी । गाउँमा धमिलो रङ्गको अमिलो पानी खानुपर्ने मेरा मान्छेहरूको कहानीले मनै अमिलो बनायो । सुखको खोजीमा गाउँ छोडेपछि हाम्रो गाउँ हाम्रा बारी र रनवन छिमेकीले गौचरण बनाएछन् । परिवर्तनको आशासँगै गाउँको माया चटक्कै मार्न नसकेका ती हाम्रा मान्छेले लगाएको बालीमा समेत छिमेकीका गाईगोरुले रमिता देखाउँछ रे ! आजित भएकी साइँलीआमाले त मुखै फोरेर अन्याय भयो भन्नुभएको के थियो.. गाउँमा चार दिन पानी नै आएनछ ।

बल्लतल्ल बनाएपछि फेरि धारामा पानि आउन थालेको छ भन्दै हुनुहुन्थ्यो । सयौँ वर्षदेखि त्यति धारामा आएका पानी स्थायी रूपमा कहिले आउँछ कुन्नी ? शासक र सामन्तको पञ्जाबाट मेरा मान्छेहरूले कहिलेबाट दबाबमुक्त भएर पानी पिउन पाउलान् ? अब आफ्नै अग्राधिकार प्रयोग गरेर पानी आफ्नै बनाउनुपर्ने दायित्व शिरमा थपिएको छ ।

अन्यायविरुद्ध बोल्नुपर्ने दिन कहिलेसम्म प्रतिक्षा गर्ने हो र अब पनि ? यही गाउँको ढुङ्गा र माटोसँगै बालापन बिताएकाहरू अब गाउँका ती दिनहरू फर्काउने गरी लाग्ने दिन आयो कि ?! संसारको जुन कुनामा रहे पनि नाभी गाडिएको ठाउँ त सबैका लागि प्यारो लाग्दोरहेछ ।

फर्किएर अब त्यही माटो चलाउन अनि त्यही गोरेटा र बाटाहरू बनाउन आवश्यक छ । बरभञ्ज्याङ र बाटाका चौतारीहरूले अझै पनि कुरिरहेका छन्, अनि समयको अन्तरालसँगै तिर्खाएर काकाकुल बनेका टोड्केले बोलाइरहेको छ । आउनुहोस्, फेरि मेलापात सँगै गरेर त्यही गीत सुन्दै गाउँको मुहार फेरौँ ! …फर्क मुग्लानी मेलापात गरेनी खान पुग्ला नि…!