दुःखीको जीवन सधैं दुःखमा ?

दुःखीको जीवन सधैं दुःखमा ?


  • शोभा काफ्ले खतिवडा

आमा…
हामीलाई सुख आउँदैन ?
किन… हामी नेपाली हैनौ ?

उठेकै थिएन भुइँचालोले थिचिएर जीवन,
तर प्रयास अनवरत जारी थियो ठडिने
चालेकै थिएन पाइला समुन्नतिको
गरिवीको कठोरताले पाऊ च्याप्प समातेकै थियो !!

जाडो,गर्मी, बाढी, पहिरो त भाग्यमा लेखेर ल्याएझैँ पीडा दिन्थ्यो !
किनकि यस देशका गरिव वर्गमा हाम्रो नाम दर्ता नै भइसकेको थियो !!

शिक्षा र जागीर हाम्रा लागि संस्कृत नबुझ्नेलाई श्रीमद्भागवत ग्रन्थ झैँ थियो !
जागिर खान पाइन्छ पढ्नुपर्छ भन्ने चेतना मनको अन्धकारमै विलुप्त थियो थियो !!

बिहान बेलुकाको जोहो गर्दै कर्मशील जीवन अलमलिएको थियो !
सरकाले निःशुल्क शिक्षा दिएको कुरा यो अनकन्टारमा अज्ञात नै थियो !!

शहर त हाम्रालागि स्वर्गसमान बनेको थियो, किनकि
अक्करको भिरमा घर बसोबास थियो !!
यातायात भनेको हामी पुष्पक विमान सम्झन्थ्यौँ, किनकि
अक्करमा जीवन खोला र कोशीको सिकार बन्न बाध्य थियो !!

भोट हाल्नेदिनबाहेक म कुन देशको भन्न सक्ने अवस्थासम्म हराएको थियो !
राज्यसत्ता गरिमामय छ रे सुखसयलका लागि
तर मेरो जीवनमा घाम अस्ताएकै पलझैँ थियो !!

घर सुनसान अन्धकारमय थियो, किनकि
घरका मालिक अरबको बालुवामा जीवनको खोजीमा थियो !
मानिस आउने हो कि रातो बाकस ? हरपल मुटु ढुकढुक थियो !

विकास समृद्धि समुन्नति ल्याउँछौँ भन्नेले भनेका कुरा
मनभरी सजाएर
कहिले आउला त्यो सबै भनेर पर्खिएकी म
अरबबाट उनी फर्किएपछि र भोट दिएकाले दिएको विकासको उपहारले..
जीवनमा कोल्टो फेर्छु भन्थेँ म !

हरे ११ तर पापी कोरोना पो राक्षसझैँ बनेर देशमा पस्यो
न धनी भन्यो न त गरिव नै चिन्यो
जगतमै त्रस देखाएर कैयौँ अनमोल जीवन लुट्यो !!
त्यो भन्दा दुःख यो देशमा
एकअर्कालाई माया, सम्मान आदर विश्वास गर्ने आधार नै फुट्यो !!

तर निराश छैन म..
आशाको दीयो बालेर बसेकी छु फिर्ला हाम्रो पनि दिन र,
फिर्ला नेताहरुको पनि मन र,
बन्ला सुन्दर नेपाल अनि आउला उज्यालो ..
अँध्यारा भोगेका हामी नेपालीका घर आँगनमा पनि भन्दै ..!!

आशाको शुभ दीप