माटोको झुपडी सजाउ

माटोको झुपडी सजाउ


  • मोहनकृष्ण होमागाईं

तिम्रा पदचापहरूले बनाएको गोरेटो
जसमा टेकेर ताते–ताते गर्दै सहारा खोज्ने गर्थें
तिम्रा हस्ताक्षरहरूले बनाएको ब्यञ्जन
जसलाई चाखेर म, स्वाद र सुगन्धको परिभाषा लेख्ने गर्थें

तिम्रा शब्द आलापहरूले बनाएका स्वर-संगम
जसका श्रवण पानले मनलाई कर्णद्वारमा भेट्ने गर्थें
यो देश तेरो हो, आमा तिम्रो उपदेश हो
त जहाँ छस् छोरा, त्यो त परदेश हो !

भन्थ्यौ जननी तिमी, दुःख त सिर्फ परिवेश हो..
मेट्न यसलाई श्रमरुपी सारङ्गी यहीँ रेट्ने गर
यो जन्मभूमि तिम्रो अति सुन्दर उर्बर
सन्तति यसलाई मन-चक्षुले देख्ने गर ।

यी सुन्दर तिम्रा पङ्क्ति हाय, कर्ण-संघारमै छेक्ने गर्थे
पश्चाताप छ आमा सिमेन्ट खाएर, पैसा पिएर
सुन ओडेर, मसिनमा सुत्न सकिन्न रै’छ
त्यागेर मातृभूमि जहाँ-जहाँ जाउ भ्राता ।

गर्विलो र जीवन्त जीवन बाँचिन्न रै’छ
फर्क.. पियानो छोडेर चट्ट मुरली बजाउ
अब फलामको महल होइन, माटोको झुपडी सजाउ ।

  • काभ्रे (हाल : जर्मनी)