ती राता मान्छेहरू

ती राता मान्छेहरू


  • त्रिभुवनचन्द्र वाग्ले

ती राता मान्छे,
अगेनोको आगो ओकल्थे मझेरीमा
राति आउँथे अन्धकार छिचलेर,
उज्यालो हुनुअघि
भाले बास्नुपर्ने कुरा गर्थे
सत्ता र शक्ति
बान्धव र बन्दुक
आफन्त र सामन्तको दृश्य देखाउँथे, दृष्टान्त सुनाउँथे ।
एक गीत, एक भूगोल, एक तह-सतहका कुरा गर्थे
ती दुब्ला, पालता र तिखा मान्छेहरू
झोलाबाट किताब निकाल्थे- राता किताब
र रगत उमाल्थे
परेलाबाट सपना झिक्थे, समानता गाउँथे
र भविश्य जसाउँथे
गाढ तरेर आउँदा उनीहरू
सन्निपातले थलिएका बाबा
दोष पल्टेकी आमालाई
घोट्टाप्रो र मोथे बोकेर आउँथे
सान्त्वना दिन्थे, शान्ति दिन्थे
आउँदा उनीहरू
फोकल्याण्ड र मलायाका गीत सुनाउँथे भाउजू, बहिनीलाई
हातमा नानीहरूका लागि अलिकति अक्षर लिएर आउँथे
आँतमा बाबाहरूका लागि अतिकति आधार लिएर आउँथे
फर्कँदा उनीहरूलाई
हजुरआमा आशिष् दिनुहुन्थ्यो
नानीहरू हाल हल्लाएर-
‘फेरिफरि आउनु नि दाजै’ भन्थे ।

पछि उनीहरू आँधीजस्तै ढोका हान्न आउन थाले
राकोँ बालेर आउँथे
सुरक्षा र सुराकीको कुरा गर्थे
सत्ता, सङ्घर्ष र सफायका गफ गर्थे
आउँदा उनीहरू झोलाबाट बम निकाल्थे
विधवा भाउजूहरू
छेवर गर्ने वयका बाबुहरू
घाँटू नाच्दै गरेका नानीहरू
सबैसबैका खुशी हरण गर्थे, अपहरण गर्थे
एम्बुसका कुरा गर्थे, दुस्मनका कुरा गर्थे
भात, कुखुरा/बोकाको तिहुन आदेश दिन्थे
चन्दा र लेबी उठाउँथे
भाइभाइ, काकाभतिज र मामाचेला फूपूचेलीलाई
सुराकी र सामन्तमा फुटाउँथे
स्वरमा सुरा ह्वास्स बोल्थ्यो–
‘ओई, यो हाम्रो आधार क्षेत्र हो’
आधार विरुद्धका अधरलाई
घात र घायलका कथा सुनाउँथे
फर्कँदा उनीहरूलाई
हजुरआमा ‘मोराहरू मार्न नआऊ !’ भन्नुुहुन्थ्यो
नानीहरू खोपीमा लुकेर ठूलो सास फेर्थे- ‘आज त बाँचियो !’
‘ती राता मान्छे, यी राता मान्छे’
परीक्षामा विद्यार्थीले कसरी फरक छुट्याउँदा हुनन् ?

अहिले गाडी चढेर आउँदा राता मान्छे
अँधेराका गाढ बिर्सिए
गार्ड छन्, गाडी छन्, सलाम छ सलामी छ
माल छ, माला छ,
उनीहरू आमैलाई चिन्दैनन्
राता किताब किन्दैनन्, झिक्दैनन्
राता मानिसका कथा पनि हाल्दैनन्
छुट्टाछुट्टै गीत फलाक्छन्
छुट्टै भूगोल र नाराका स्वर बास्छन्, डुक्रन्छन्
सामन्तका छोरासँग मित लगाउँछन्
ठेकोदारकी छोरीसँग मगनी गर्छन्
मुक्तिमा जुक्तिको सरकस देखाउँछन्
हुँदैनन् झोलामा राता किताब
झोला बोक्ने झोले छन्
ती राता मान्छे मुक्तिको कसम खान्थे
यी राता मान्छे जुक्तिको सरकस देखाउँछन्
कसरी रङ् फेरियो ती राता मान्छेको !