पसलको आइमाई

पसलको आइमाई


(कथा)
  • यश घिमिरे

भर्खर दाल-चामललगायतका समानहरु किनेर घरभित्र पस्दै के थिएँ,
‘त्याँ’बाट सामान नकिनेस् है अबदेखि’ – बुबाले थोरै आज्ञामिश्रित लवजमा झोक्किँदै भन्नूभयो, ‘त्यो पसलको आइमाई खत्तम खालकी हो रे !’

कोरोनाले गर्दा लकडाउनमा घरनजिकैको पसलबाट सामानहरु ल्याउन सजिलो भैरहेको थियो । भाऊ पनि मिलाएरै लगाएको जस्तो लाग्थ्यो । ती दिदी त्यति खराव आचरणको कमसेकम मलाई चाहिँ लागेको थिएन । प्रायः कि त सुतीको साडी-ब्लाउज या कुर्था-सुरुवालमा पसलमै बस्थिन् । हो, कहिलेकाहीँ किशोरवयका १८-२० वर्ष जस्ता देखिने दुई केटाहरु पसल ओरिपरी बसिरहेको देख्थेँ । तिनीहरु को हुन् ? किन त्यतै देखिइरहन्छन् ? कहिल्यै चासो राखिनँ, मेरो सरोकारको विषय पनि थिएन । धेरै खुलेर कुराकानी नगर्ने ती दिदीले पनि सामान किन्न जाँदा सोधेको कुराभन्दा बढी कहिल्यै बोलिनन् । हेर्दाचाहिँ म भन्दा चार-पाँच वर्षले जेठी हुन् कि भन्नेसम्मको अनुमान रह्यो । गहुँगोरो बाटुलो अनुहारमा छोटो-छोटो कपाललाई टमक्क हुनेगरि पछाडि लगेर बाँधिएको र हल्का कलेजी रङ्गको लिपिस्टिक जहिल्यै ओठमा खुलेको हुन्थ्यो । विदेशको बसाइ बिट मारेर भर्खर-भर्खर गाउँ बस्न थालेकोले यतातिरको वातावरण उति साह्रो मेसो पाइसकेको त थिइनँ, तर पनि लिपिस्टिक लगाउँदैमा चरित्रहीन जस्तो गम्भीर आरोप त नलगाउनु पर्ने हो !

मनमा कौतुहल जागेर बुबालाई सोधेँ- ‘तपाईंलाई कसले भन्यो ? के गर्छे अरे र त्यस्तो काम ?’

‘सुन्दरबाबुले भनेको ! अरु कुरा त मलाई पनि था’छैन तर ‘त्याँ’बाट केही नकिन्नु है, खत्तम आइमाई हो’ भन्यो । चरित्र ठिक छैन रे । उसले केही था’पाएरै त भनेको होला नि ।’

सुन्दरबाबु !
गाँउमा हल्काफुल्का नेतागिरी गर्ने अधबैंसे उमेरको स्त्रीलम्पट पुरुष । मलाई त्यो भुँडे सुन्दरबाबु बोलेको खासै मन पर्दैन । धेरै चिप्लो घस्छ । मै जान्ने मै बुझ्ने टोपलिन्छ । तैपनि, माओवादी जनयुद्धकालमा विदेश जानुपर्दा भनसुन गरेर ‘पुलिस रिपोर्ट’ बनाउन सहयोगचाहिँ गरेको थियो । नत्र त्यो बेला कम्ती त गाह्रो थिएन जाबो पुलिस रिपोर्ट बनाउन पनि ।

यसैले गर्दा होला जहिल्यै मेरो प्रत्येक नमस्कारको बद्लामा कान-कानसम्म ओठ पुऱ्याएर हाँस्दै र धाप मार्दै- ‘छोरो ! बेटा ! के छ खबर ? केही परे भन्नु है आफ्नो अंकललाई !’ भन्न छुटाउँदैन । मनमनै, ‘साला खाते, कत्ति न तेरो छोरो बेटा’ भनेर मुर्मुरिए पनि मुस्कान दिएर हवस्को मुद्रामा मुन्टो हल्लाउँछु । मेरो लाटोसिधा बुबा भने उसको ‘फ्यान’ नै हुनुभएको छ । खुब प्रशंसा गर्नुहुन्छ । प्रायः सँधै होटलमा उसङ्ग खाएको चियानास्ताको बिलको भुक्तान, वहाँले नै गर्नुहुन्छ भन्ने सुनेको छु ।

बुबाको कुरोले मलाई झन् खसखस लाग्यो । नारीलाई त अर्को नारीले पक्कै राम्रोसँग चिनेको हुन्छ भन्ने लागेर ती दिदीको बारे साँझमा आमासँग बुझ्ने कोशिस गरेँ । आमाका अनुसार उनि पोखरातिरको रहिछन् । लोग्ने, गाडीदुर्घटनामा मरेपछि त्यहाँ बस्न मन नलागेर माइतीबाट केही ऋणधन गरेर यहाँ माडीमा किराना पसल गर्न आएकी रे । टाढाको नाता पर्ने दाजु इन्डिया ठोरीमा किरानाको होलसेल गर्छन् रे । यो भन्दा बाहेक आमालाई पनि अरु कुरो थाहा रहेनछ।

यता मलाई भने उनीबारे सबै बुझ्ने हुटहुटी जाग्न थाल्यो । तर समस्या, सोधुँ कसलाई ?

एकदिन अरु ग्राहक कोही नभएको मौका पारेर पसलमा गएँ । कुर्सीमा बसेर कुनै किताब पढ्दै रहिछिन् । कोही आएको थाहा पाएर टाउको उठाइन् अनि प्रश्नसूचक नयनले हेरिन् । म नबोली उभिइरहेँ । उनी एकछिन मेरो स्वरको प्रतीक्षा गरेपछि फेरि पूर्ववत रुपमै घोप्टिएर पढ्न थालिन् । म द्विविधामा परेँ- चुपचाप फर्किउँ कि केही भनुँ ? के भनुँभनुँ हुँदाहुँदै फ्याट्ट भनेछु- ‘दिदी ! तपाईंलाई खत्तम आइमाई भनेर भन्छन् । म तपाईंबारे बुझ्न चाहन्छु ।’

मेरो यस्तो कुरा सुनेर त्यहा सानोतिनो भुइँचालो नै आउनुपर्ने हो । फ्याट्ट मुखबाट फुत्की त हाल्यो । चिथोर्न झम्टिने हो कि भाटा लिएर हान्न तम्सिने हो भन्ने लाग्दालाग्दै किताबको पानाहरुबाट मुन्टो पनि नउठाइ शान्त श्वरमा भनिन्- ‘तपाईंलाई जे लाग्छ त्यही बुझ्नुस् न ।’

‘तपाईंको बारे मलाई कसले भनिदिन्छ र बुझ्नु ?’

शायद यो प्रश्न नै अलिक हल्का थियो कि के भयो, कुनै प्रतिउत्तर दिइनन् । म उसैगरि चुपचाप उभिइरहेँ । केहिबेरको उभिने उपक्रममै एउटा ग्राहक चुरोट किन्न आयो । उठेर चुरोट थमाइदिइन् । त्यो मान्छेले चुरोट सल्काउँदा सल्काउँदै अनौठो नजरले मतिर र ती दिदीतिर छड्के हेऱ्यो । बुङ्ग धुँवा उडायो र बाटो लाग्यो । मलाई बाक्लो धुँवाको खारले ख्वाकख्वाक खोकी लाग्यो । हातले धुँवा पन्छाउँदै अलिकति अगाडि सरेर भनेँ- ‘केही त बोल्नुस् ।’

यसरी भनेको आफ्नै भनाइ आफैलाई मन परेन । मसँग सोध्नलाई अरु केही कुराहरु पनि त थिएन नि ! उनको सुन्दर चेहराभित्रको यो क्लान्त चरित्र जान्ने एकल उद्देश्य न हो ।

‘मलाई नबोलीकन नै सबै बुझ्ने लोग्नेमान्छे मनपर्छ ।’

‘नबोलीकन सबै बुझीटोपल्ने मान्छेले गलत बुझ्न पनि त सक्छ । जसरी सुन्दरबाबुले गलत बुझीरहेको छ । जसरी भर्खर यहाँ चुरोट किन्न आएको ग्राहकले बुझेर गयो । विस्तारै धेरैधेरै मान्छेहरुले गलत बुझ्नेछन तबसम्म, जबसम्म तपाईं बोल्नुहुन्न ।’ – अहिले भने आफ्नो भनाई अल्लि गहनसँग राख्न सकेँ जस्तो भयो ।

‘मलाई कसैले बुझेन भनेर गुनासो छैन ।’

उनको यो चिसो जवाफले मेरा उत्साह पनि केहीबेर नचिस्सिएको होइन । तैपनि हार नखाई उही कुरा दोहोऱ्याएँ- ‘मलाई बुझ्नु छ । तपाईंको बारे जान्नु छ । आगत र विगतलाई नजिकबाट छाम्नु छ ।’

एकैछिनमा उही दुई केटाहरु कतैबाट टुप्लुक्क आइपुगे । सरासर पसलभित्र गएर एउटाले आदेशात्मक लवजमा बोल्यो – ‘दिदी खाजा खान जा । हामी बस्छौँ अब ।’

उनीहरु आइपुगेपछि म त्यहीँ उभिइरहनु उचित लागेन । फर्किंदै गर्दा मनमा कुरो खेल्यो – ‘एउटा त भाइ रहेछ, त्यो अर्को १७/१८ वर्षको जस्तो अल्ली भर्खरको देखिनेचाहिँ छोरो होला कि ?’

त्यसपछिका दिनमा उनि एक्लै भएको मौका मिल्यो कि केही न केही किन्ने निहुँ पारेर जान थालेँ । अरुले खाएको धुवाँले पनि असर गर्ने मलाई कुनैकुनै दिन त चुरोट किन्ने निहुँधरी बनाएँ। जति कोट्याए पनि ती दिदीको मन शालक गुडुल्किए जस्तो गुडुल्की रह्यो । कहिल्यै खुलेन ।

अब मैले जिद्दी गर्न छोडीसकेको थिएँ । बुवाको आँखा-कान छलेर सामानचाहिँ त्यही पसलबाट किनिरहेँ । एकदिन प्लास्टिकबाट किनमेल गरेको सामानहरु निकाल्दै गर्दा पिँधमा पट्याएर राखिएको कागजको पाना भेटेँ । लेखिएको थियो-

मलाई हजुरको नामसम्म थाहा छैन । बिना सम्बोधनमै लेख्दैछु है !

मेरो बारे हजुरलाई जान्ने मात्र उत्सुकता देखेर अचम्म लाग्यो । प्रायः लोग्नेमानिसहरुको मांशलदेहले पुष्ट नारीहरुलाई ‘जान्नमा’ भन्दा ‘तान्नमा’ बढि रुचि राख्छ । त्यहीमाथि म ३२/३५ वर्षमै सिँउदो पखालिएकी एकल नारी, लोभी नजरहरुको आँखा किन नपरोस् ? भाई र छोराहरुसङ्ग बसेर आफ्नो पीडादायी अतीत बिर्सने कोशिस गर्दैछु ।

खैर, यो कुरालाई यहीँ छोडेर मूल मुद्दामा आउँदैछु । सुन्दरबाबुले एकान्त पारेर एकदुई चोटि हातै समातेर ‘तान्ने’ काम गरेपछि मैले पनि एक थप्पड ‘हान्ने’ काम गरेको थिएँ । त्यसैले होला वहाँको नजरमा म खराब आइमाईमा दरिएको । चुपचाप सहन्थेँ भने वहाँले शायद यो आरोप लगाउनुहुन्नथ्यो होला । चरित्रै गिराए पनि केही छैन, कमसेकम स्वाभिमान गिराइनँ । यसैमा सन्तुष्ट छु ।
– भावना ।

यो पत्र पक्का पनि मेरो लागि पहिल्यै लेखेर राखिएको हुनुपर्छ । सामान किन्दा त्यहिँ उभिएको म, कतिखेर आँखा छलेर खुसुक्क हालीदिइछन् । जे होस्, पत्रले मेरो मन झरीपछिको आकास खुलेझैँ छ्याङ्ग भयो । अबका दिनहरुमा उनले बाँच्नकै लागि गर्नुपर्ने सङ्घर्षको मैदान अफ्रिकाको मसाइमाराको भन्दा कम भयानक हुने छैन । जहाँ शिकारीहरुको तिखा नजर हरहमेसा कतै न कतै झाडीबाट घुरिरहेको हुनेछ ।

भोलिपल्ट फेरि पसलमा ग्राहक नभएको मौका छोपेर पुगेँ । उनी उसैगरि घोप्टिएर कुनै किताब पढ्दै रहिछन् । मुटु जोडजोडले धड्किँदै थियो । हिम्मत जुटाएर भनेँ – ‘दिदी ! मैले बुझेँ । जब कसैलाई पीडाको घनत्व चर्को हुन्छ उ शनैशनैः चुपचाप बस्न थाल्छ । जसरी तपाईं बस्नुहुँदैछ आजकाल, तर अबका दिनहरुमा म तपाईंलाई उमङ्ग लिएर बाँच्न र हाँस्न सघाउँछु । सुन्दरबाबुहरु जस्ता चरित्रसङ्ग सङ्गै लडौँ न । मसङ्ग विवाह गर्नुहुन्छ र ?’

मेरो प्रस्तावले बम फुटायो पक्कै ।

किताबबाट ध्यान हटाएर एकछिनसम्म सोचमग्न हुँदै मलाई हेरिन् अनि सुस्तरी भनिन्-

‘दिदीसँग बिहे हुन्न । पहिला ‘दिदी’ भन्न छोड्नुस् !’

  • हाल : चितवन, भरतपुर-१२