बा !

बा !


  • डिल्ली अम्माई/बेल्जियम

बा
तपाईंको सामिप्यताका १४ वर्ष
तपाईंको प्रेम सागर
बात्सल्यताका उजेली बिहानी
केवल किशोर कालको मध्यान्तर
भनौँ वा पुर्वार्द्ध भनौँ
जून झैँ सम्झन्छु बालाई
तपाईंको घाँसको भारीमाथि
उचाइ छोएर
पृथ्वीको बाधा जित्न
उभिएर हिँडेँ
त्यो बेला
पूरै संसार सायद जितिन होला
त्यसको लागि पैताला छोड्नु पर्छ
निलो आकाशमाथिको कालो आकाश
चिरेर धेरै माथि उड्नुपर्छ होला…
सपनामा त्यस्तो देखेको छु
म आफू पनि उडेको छु
विपनामा मैले सकेको छैन बा
किनकि,
केटौले उमेरमै तपाईंको न्यानो पुछेँ
तपाईंलाई पूरा नबुझ्दै
तपाईको तालिम पूरा नहुँदै
तपाईंले मलाई छोड्नुभो बा
तर पनि
चौपारीमा घाँसको भारी बिसाउँदा
अझै तपाईंलाई नै सम्झन्छु बा
‘केटा… माथि एक हातले भारी थाम
अर्को हातले नाम्लो
सुस्तरी भारी पछाडी ढला
अनि
आमाले दिएको दुध
र, नौनीको डल्लो सम्झी
बल आउँछ र भारी थामिन्छ ।’
जीवनको सन्तुलन
भारी अडेस नलगाइ नबुझिने
भारी नबोकी दुःख
अनि संघर्षको लय नदेखिने
दुल्यानीको खर ल्याउँदा
बाले सिकाएको कुरोले
मैले धेरै अनुभूति गरेँ

बाह्र वर्षको उमेरमा बासँग
दमेकबाट पुतलीखेत आएको छु
मेरा पैताला चिरीए तर बाङ्गिएन मन
थाप्लो दुख्यो तर ऐया भनिनँ
त्यो सब बालाई बुझेर सिकेँ
पाँच पाथी नुन लिएर बासँग फर्किएँ
खोला तर्दा लैरो, उकालोमा लौरो
र ओरालोमा लौरो
बाले टेक्न सिकाएका हुन्
टेक्न मात्र हैन
लौरो काट्न र छान्न
बाबाटै सिकेँ
पारि घरकी सर्केनी आमालाई
मुखियाले धम्क्याउँदा
हाम्रा बाले खुकुरी उध्याएको उधिन
हाम्रो घरमा अझै छ
बा जस्तै लागेर
दमेकबाट अमरापुरी बसाइँ सर्दासमेत
त्यो उधिन लिएर आएँ
बाले छोएका हरेक कुरा
बाले बुनेका हरेक चिजबिज
बाले स्याहारेका सब थोक
समझँदा मन त्यसै आकासिन्छ
विश्वास चुलिन्छ मानवताको
बा जस्तै विद्रोहको आगो हुन मन लाग्छ
शितलो हुनै सक्दिनँ
वरिपरिको विभेद र अत्याचारले
किनकिन शान्त हुनै सक्दिनँ
अत्याचारी मुखियाले परालको टौवाभित्र लुकेर
बासँग ज्यान जोगाएको
कडेनी साइँली भाउजुको दुःखले भिजेको अनुहारलाई
बोक्सीको आरोप लगाउँदै हाम्रै हजुरबाले थर्काउँदा
हाम्रा बाले हजुरबाको सातो लिएको
मेरै आँखाले देखेको हुँ
हाम्रा बाले
मलाई सम्बोधन नगरी दिएका
अमुल्य उपहारहरु जीवित छन्
अझै मामाले घर किनेर पनि
धुरी खामो बेच्नेले लगेको
जमिन बेचेर पनि
सुन्तलाको रुख आफ्नो भएको दाबी गर्दै
किनेको जमिनको सुन्तला चाख्न नदिँदा
हाम्रा बाले गरेको विरोध
अनि जागरणको तरङ्ग
मेरो रगतसँगै
मलाई बाटो देखाइरहन्छ।
साँच्चै भनौ भने हाम्रा बा
मेरा प्रेरणाका चे गोभारा हुन्
अरुको अधिपत्य अस्विकार गर्ने
नढाँटी भन्ने हो भने हाम्रा बा
हिजोसम्म अमेरिकाले आतङ्ककारी भनेका
आज स्वाधीनताको प्रतीक जस्तै पुजनीय
मेरो स्वाभिमानका मण्डेला हुन्
उनैको कारण
मलाई पछि हट्न अस्विकार छ
हाम्रा बाले रोपेको जागरणले गर्दा
सम्पूर्ण विभेदको कारण अस्वीकार्य छ
हाम्रा बाले देखाएको उज्यालोले
अर्को शताब्दी
अझ त्यो शताब्दीपछि
नयाँ नयाँ शताब्दी
विश्व मानावताले भिजेर
संसार परिवार बन्दै
जातरुपी विभेदहरु मानवमा फेरिँदै
जीवन प्रकृति
प्रकृति जीवन
समतामा रमाउँदै
समतामा प्रकृति प्रेम
एउटै लयको गीत
एउटै भाखा
सबैको दुःखमा एक
सबैको सुखमा आनन्द
समुदायको हितमा
आफ्नो निजत्वको विलय
जंगल हराभरा
ताल तलैयामा कमल
समुन्द्र जस्तै गहन
प्रेमालापको त्यो विशालता
बाले देखाएको ब्यवहार
र, सोचको बिजमा
फुलेको गगनचुम्बी पारिजात
अझ त्यो भन्दा पनि सुगन्धित
अझ त्यो भन्दा पनि मोहक
समुन्द्र भन्दा पनि निर्मल
मन्दाकिनी जस्तै सुन्दर
सगरमाथा जस्तै अग्लो
सपना देख्दै हुर्केको छु
यो सबको देन
यो सबको प्रेरणा
यो सब देख्न सक्ने उज्यालो
मेरा आस्थाका देवताले दिएको हो
हाम्रा बा मात्र मेरा आस्थाका देवता हुन् ।