कथा
- यश घिमिरे
जेठ महिनाको सुरुवाती दिन । तराईमा उखर्माउलो गर्मी शुरु भैसकेको थियो । निरन्जनले आलस्यको हाई काड्दै घडी हेर्यो, दिउँसोको तीन बज्नै लागिसकेछ । जस्तै गर्मी भए पनि दिनमा चार–पाँच कप कफी उसको आदतजन्य कमजोरी रह्यो । ‘सुगर फ्री क्युब’ राखेर कफी बनायो । घामको चर्को उज्यालो छल्न कालो चस्मा लगायो अनि कप लिएर कोठासँगै गाँसिएको कौशीमा निस्क्यो ।
उसलाई एसीयुक्त कुनै बन्द क्याफेभन्दा यही बाटोतिर फर्किएको खुला बार्दलीमा भएको कुर्चीमा बसेर प्युन रमाइलो लाग्थ्यो । हिँडिरहेका मान्छे, कुकुर, गाईबाख्रा अनि उडिरहेका चराहरूलाई एकटक लगाएर हेर्दै उनीहरूकै आचरण, भङ्गिमा र मनोभाव पढ्ने कोशिसमा रहन्थ्यो ।
सामुन्ने बाटोपारिको दुईतल्ले पहेँलो घरको बरन्डाको छतमा एकजोडी परेवाहरू प्राकक्रीडामा रमाउँदै रहेछन् । उसका आँखाहरू र मस्तीष्क त्यहिँ पुगेर स्थिर भयो । निख्खर कालो भाले र सेतो छिर्केमिर्के पोथी, बेलाबेलामा एकअर्कालाई ठुँडले कन्याइदिएर त कहिले चुच्चो मिलाउँदै प्रेम साटासाट गर्दै थिए । यो दृश्यले पारपाचुके लिइसकेकी भुपु श्रीमती सजनीलाई झलक्क सम्झायो ।
‘कालो रङ्गलाई लिएर जनावर र पन्छीहरूको संसारमा कत्ति पनि विभेद छैन । किन होला यो रङ्ग देखेर मान्छेलाई मात्र अप्रीतिकर लाग्ने ?! कालो मान्छे – कुरुप, कालो रात – अप्रिय, कालो धन – अधर्मी, कालो पट्टी – विरोध, कालो नाग – भयानक, कालो तिलक – विद्रोह, कालो कौवा – अपसकुन आदि इत्यादि बिम्ब र प्रतीकको रूपमा लिन्छ मान्छे ! कालो हुनु आफैंमा नराम्रो या कुरुपताको पर्याय हुन्थ्यो भने यो पोथी परेवालाई चाहिँ किन यतिविधि माया लागेको होला ? किन प्रेम उब्जिरहेको होला ?? कालो बर्णकै हुनाले सजनीको मप्रति सधैं हेयभाव रहिरह्यो । उनको ब्यवहारले मलाई जीवनभर हीनताभासले गाँजिरह्यो । आखिर बाहिरी आवरणले अल्पचेतयुक्त प्राणीलाई त केही फरक पर्दैन रहेछ भने चेतन मस्तिष्क बोक्ने उनलाई किन पर्यो ?’ – उ, जोडी परेवा हेर्दै सोचमग्न भयो ।
तारन्तारको ‘तँ काले नराम्रो, म गोरी राम्री, मेरो बाउआमाको आँखा फुटेकोले गर्दा तँ जस्तोलाई ब्यहोर्नु परेको’ भन्ने अहमले अन्तत्वगोत्वा सम्बन्ध पारपाचुकेमा गएर टुङ्गियो । यो सम्झेर निरन्जनको मन एकतमासले अमिलो भएर आयो । चिस्सीइसकेको कफीलाई ‘टकिला’ जसरी स्वाट्ट पार्यो ।
‘ओई कुकुर्नी ! के टिकटक बनाउँदै बरन्डामा दुनियालाई देखार’ उफ्रेकी ? तल हिँड् खुरुक्क ।’ – आँखा फुकालेर निरन्जनलाई हेर्दै अधबैंसे उमेरकी तामाङ्नीले आफ्नो छोरीलाई हप्काई ।
जोडी परेवाको मुनि एउटी १७–१८ वर्षको किशोरी र उनको सानो भाइ भिडियो बनाउँदै गरेको निरन्जनले या त याद गरेन या चराको प्राककृडामा भुल्यो कुन्नि, गाली सुनेपछि अहिले पो देख्यो । ती तामाङ्नी दिदीले उतिर रिसले चुर हुँदै हेरेको चाहिँ अचम्म मान्यो ।
किशोरी भने आमाको गाली सुनेर भुत्भुताउँदै भित्र पसी ।
०००
‘सर ! अठार वर्षको छोरी हराई । अफन्त सारासंसार कहीँ खोज्दा पनि भेटिएन ।’ इलाका प्रहरी कार्यलयको इन्चार्जसामु तामाङ्नी दिदी आत्तिँदै उजुरी गर्न पुगी ।
‘कैले देखि ?’ – इन्चार्ज बोल्यो ।
‘हिजो बिहानदेखि सर ! हिजै साँझसम्म मुबाइलमा, दुईतीन चोटी घन्टी बज्या’थ्यो त्यसपछि त स्विचअफ् भन्छ । झोला कपडा केही बोकेर लए’की छैन । कलेजकै डिरेसमा हराई’ – उनको आँखाबाट बरर आँसु निक्लियो ।
‘नरुनोस् ! हामी पत्ता लगाउँछौँ । छोरी कतिमा पढ्थी ? लभसब पर्याथियो कि, केही थाह छ ? अथवा कसैमाथि शंका छ तपाईंलाई ?’
‘पलस टु गर्दैथी’ । लबसब केही पर्या था’छैन । टिकटकमा भिडियो–सिडियो बनाउँथी, त्यत्ति हो ।’ – फरियाको सप्कोले आँसु पुछ्दै बोली – ‘मलाई शंखाचाहिँ एउटा मान्छेको लाग्छ । नाम त थाहा छैन सर, काले न काले एउटा बाहुन मुर्दार सँध्धै चस्मा ला’र हाम्रै घरतिर हेरि’बस्थ्यो । तीनचार महिना भो’ घरअगाडिको नारान बाजेकोमा कोठा भाडामा लेंर’बस्या । हिजोदेखिन त्यो मान्छे’नि गायब छ । मलाई त त्यसैले अप’रण गरेर बलात्कार गर्दै कतै थुनेर राख्या’छ भन्ने लाग्छ सर ।’ – मुख फरियाको सप्कोले छोपेर ह्वाह्वा रुँदै बिन्ती बिसाई ।
तमाङ्नी दिदीको साथ लागेर आउने एक हुल आइमाइहरूले निरन्जनलाई समाजमा घुलमिल नहुने खालको, बाटोमा भेट्दा कोहीसँग नबोल्ने, प्रायः दिनभरी कौसीमा कालो चस्मा लगाएर मान्छेहरूलाई एकोहोरो हेरिरहने ‘साइको’ टाइपको ब्यक्तित्व भनेर बर्णन गरिदिए ।
‘हामी त्यसलाई पक्रेर चा…मा ठेडी कोचेर भए पनि सत्य कुरो ओकल्न लगाउँछौँ । ल, तपाईंहरूले किटानी जाहेरी दिएर अहिलेलाई घर जानुस् ।’ – प्रहरी इन्चार्जले आश्वस्त तुल्यायो ।
उनिहरू जाहेरी लेखाएर फर्किए ।
०००
एक्लै बस्दा–बस्दा र गर्मीले अत्याउन थालेपछि एक हप्ता जतिको घान्द्रुक, लान्द्रुक र तातोपानीतिर पहाडी यात्रामा हिँडेको निरन्जन, कोठामा आएर नुहाइधुवाइ गरेर बसेको मात्र के थियो, एक हुल प्रहरीहरू गुटुटु गर्दै गेटबाट भित्र छिरेको देख्यो ।
‘काँ’ छ त्यो ?’ – ढोकाबाहिर कसैको रवाफिलो आवाज सुन्यो ।
‘भित्र’ – नारायण बाजे सुस्तरी बोले ।
ढोकै फुटाउला जसरी कसैको ‘ढकढक’ सुनेसँगै उसको मुटु कुनै अनहोनी घटना सम्झेर झन् बेस्सरी ‘धकधक’ गर्यो । उठेर बिस्तारै खोलिदियो ।
‘निरन्जन भन्ने तैँ होस् ?’ – जोडसँग ढोका धकेल्दै प्रहरी हवल्दार भित्र छिर्यो – ‘ल… इन्स्पेक्टरसा’पले बोलाउनुभएको छ । हिँड मामाघर ।’
किन ? के का लागि ? भनेर भन्न नपाउँदै प्रहरीहरूले कठालो समाएर घिच्याउन सुरु गरिहाले ।
जीपमा वरिपरि चार जना पुलिसबाट घेरिएको उ पिँजरामा परेको मुसोजसरी ग्लानी र डर एकैचोटि लिएर कक्रिँदै बस्यो । बाटोमा मलाई किन समाइएको हो ? भनेर नसोधेको होइन, उत्तर कसैबाट पाएन ।
०००
डुङ्डुङ्ती पिसाब गनाउने ओसिलो प्रहरी चौकीको फलामेबारभित्र घुँडामा टाउको अड्याएर निरन्जनले सोच्न थाल्यो – ‘आखिर किन ? के भाउँतो आइलागेको हो यो ? सजनीले पो कुनै लफडा लगाइ कि ? भुपु लोग्नेसँग अझै रिस बाँकी पो छ कि ? रिस पनि के बाँकी होला र ! जे–जे भनी त्यही–त्यही मानिदिएकै थिएँ ।’
जीवनमा कसैलाई नराम्रो गरेको, झैझगडा गरेको यादमा आएन । भएभरको जोर लगाएर सोच्यो कुनै गल्ती या अपराध गरेको एउटै घटना सम्झिन सकेन । धेरै सोचेर होला टाउको चट्चटी दुखेर फुट्ला जस्तो भयो ।
‘हँ त मिस्टर निरन्जन, मलाई हजुरसँग धेरै सोधपुछ गर्ने समय छैन । सिर्फ यित्त कुराको जवाफ दिइबक्सियोस, ती नानी कहाँ छिन् ?’ – इन्स्पेक्टरले कुर्चीमा बस्दै व्यंग्यमिश्रित स्वरमा सोध्यो ।
‘को नानी ?’ – यत्ति कुरो मुखबाट निस्किनु र फलामे पन्जाको जोरदार झापड गालामा बज्रिनु सँगसँगै जस्तो भयो । उसको आँखै अगाडि पहेँलपुर नाच्यो ।
‘साला, साधु पल्टिन्छस् ? तेरो एक–एक किस्सा थाह छ । कसरी दिनभरी कालो चस्मा ढल्काएर बरन्डामा बस्दै बाटोमा हिँड्ने तरुनीहरू घुर्थिस् । कसरी बाटोपारिको तमाङ्नी दिदीको कलिली छोरीमा तेरो गिद्देनजर थियो । सब कुराको रिपोर्ट छ मसँग ।’ बाघ जसरी गर्जिएपछि एकछिनमा अल्ली नम्र भएर थप्यो – ‘हेर भाइ ! तेरो भलाई यसैमा छ, खुरुक्क जस्ताको तस्तै भन्, ती नानीलाई के गरिस् ? । बलात्कार गरेर मारेर फालिसकिस् कि कतै बन्धक बनाएर राख्या छस् ? भनिदे । होइन भने नर्क भनेको के हो, ज्युदो हुँदैमा देख्नेछस् ।’
बलात्कार र हत्या जस्तो सङ्गीन आरोप पो लगाइँदैरहेछ भनेर निरन्जनको सातो गयो । होसहवास उडेको चेहरा लिएर हात जोड्दै भन्यो – ‘सर, मैले जीवनमा कुखुरो मारिनँ भने हत्या–बलात्कार जस्तो कुरो के गर्न सक्थेँ ? हजुरलाई कसैले गलत सूचना दिएको हुनुपर्छ…’ भन्दानभन्दै उसको पानीपेटमा इन्स्पेक्टरले जोरसँग लात मार्यो । उ त्यहीँ जमिनमा पेट समातेर पुक्लुक्क ढल्यो ।
‘मा…क्ने साले ! मलाई सिकाउँछस् कसले गलत कसले सही सूचना दिन्छ भनेर ?’ – इन्स्पेक्टर त्यहीँ उभिइरहेका अरु सिपाहीतिर फर्केर बोल्यो – ‘हवल्दार साप, यो घ्युकमिलोलाई त्यो बेलासम्म धुलाइ गरिरहनुस् जुन बेलासम्म यसले सत्य ओकल्दैन ।’
०००
‘साप ! त्यो मान्छेलाई जति ठोके पनि एउटै कुराको रट लाउँछ, मलाई केहि थाह छैन म पहाडतिर घुम्न निस्केको थिएँ भन्छ । यति कुटाइ खाँदा ढुङ्गा पनि बोल्नुपर्ने हो । मलाई त निर्दोष छ जस्तो लाग्यो । फेरि केही दशीप्रमाण पनि त छैन हामीसँग । हजुर के भनिसिन्छ ?’ – निरन्जनलाई पक्रिएको सातौँ दिनमा हवल्दारले हाकिमको च्याम्बरमा आएर रिपोर्ट गर्यो ।
इन्सेक्टर निकै बेर घोरियो । केही सोच्यो अनि बोल्यो – ‘हिरासतमा राख्नको लागि अदालतबाट अरु सात दिनको म्याद लिनु । त्यो नानीको बारे कतैबाट केही न केही सुराक हात नपरुन्जेल यसलाई अहिल्यै नछोडीहालुँ होला । अब अरु कुट्ने कामचाहिँ नगर्नु । मर्ला फेरि ।’
हवल्दार टिनिक्क तन्किएर बाहिरियो ।
निरन्जन, हिरासतमा परेको बाह्रौँ दिन जति भएको थियो क्यारे । उसलाई त कति दिन काटियो हेक्का पनि भएन । यी दिनहरूमा इन्स्पेक्टरले भनेझैँ नमरीकन नै हरेक दिन नर्कको अनुभव लियो । दिनरातको कुटाइ र ताडनाबाट विक्षिप्त जस्तै बनेको उसले बाहिरको उज्यालो देख्न पाउँला भन्ने आशा नै हराइसकेको थियो ।
तर त्यो दिन बिहानै प्रहरी कार्यालयको टेलिफोनमा एउटा शुभ समाचारको घन्टी बज्यो ।
‘हेल्लो, इलाका प्रहरी कार्यालय । भन्नुस् के सेवा गरौँ ?’ – सधैं भन्ने रेडिमेड जवाफ लिएर प्रहरी जवानले फोन उठायो ।
उताबाट कसैले केही भनेको ध्यानपूर्वक सुनेपछि जवाफ दियो–‘एकछिन होल्डमा बस्नुस् है, साप’लाई दिन्छु ।’
निकै बेर प्रहरी निरीक्षकले फोन कानमा लगाएर उताको कुरो सुनिरह्यो । अनि अन्त्यमा भन्यो – ‘ल, छोरीलाई लिएर आजै कार्यालय आउनुस् । “
त्यसको केही बेरमै कार्यलय प्रमुखले हवल्दारलगायत अन्य सहकर्मीहरूलाई आफ्नो कोठामा बोलाएर फोनमा भएको कुरा बेलिबिस्तार लगायो । अनि उनीहरूलाई केही निर्देशन पनि दियो ।
‘निरन्जन सर ! चिया प्युनुस ।’ – हातमा चियाको कप समातेर उभिएको हवल्दारको यति मीठो बोली र सत्कार देखेर उस्लाई विश्वासै लागेन । त्यस्तो राक्षसमा अचानकको एकसय अस्सी डिग्रीको बद्लाव के कारणले आयो होला भनेर जिल्ल पर्यो । त्यति नै बेला उसलाई तथानाम मुख छोडेर बोल्ने इन्स्पेक्टर साहब पनि टुप्लुक्क त्यहीँ आइपुग्यो ।
‘निरन्जन जी ! हामीबाट सानो चुक भएछ । ब्यक्तिगत रुपबाट नलिइदिनु होला है । यस्तै हो, काम गर्दै जाँदा कहिलेकाहीँ भुलचुक हुन्छ । कुरा के भने नि, ती नानी कलेजबाटै भागेर इन्डिया फिल्म खेल्न भनेर पो गएकी रै’छिन् । इन्डियातिरकै एउटा बदमासले हिरोइनको रोलमा खेलाइदिने लोभ देखाएर, फकाएर लगेको रहेछ । उनीहरूले टिकटक भिडियोबाटै एकअर्कालाई चिन्या रे । त्यो मान्छे फ्रड रहेछ भन्ने थाहा पाएपछि बाटोमा माग्दै र चन्दा उठाउँदै ती नानी अहिले चाहिँ घर फर्कीईसकि रे । कस्तो बदमास्नी केटी ।’ – नजिकै आएर अस्तब्यस्त सर्टको काँधमा जमेको धुलो हातले टक्ट्क्याइदिँदै थप्यो – ‘अब जे हुनु त भैगयो । प्लिज माइन्ड नगर्नु होला है । उनीहरू आएपछि कागजी काम–कारबाही पूरा गरेर आजै तपाईंलाई रिहा गर्छौं ।’
निरन्जनको दिमाग झिनिन्न भएर आयो । ‘यत्रो दिनसम्मको लगातारको अपमान, यो पीडा, यो घुटन, यो कहिल्यै नतङ्ग्रिने गरी पाएको शारीरिक र मानसिक चोटको भर्पाइ ‘सरी है ! माइन्ड नगर्नुस्’ हो ? ।’
उसलाई त्यहीँ बेस्सरी चिच्याउन मन लाग्यो ।
(समाप्त)
प्रतिक्रिया