दुबोजस्तो उज्यालो !

दुबोजस्तो उज्यालो !


  • अर्जुनबाबु दाहाल

फुत्त खसेको एउटा उज्यालो
समयको
आशाको
र रातो सपनाको !

उज्यालोले अँध्यारो चिर्छ भन्छन्
तर किन होला
मेरो उज्यालो आफैँ अँध्यारोमा रुमल्लिरहेको ?

उज्यालो राखेर आँखामा
दार्चुला धनगढी झरोस्
झापा ताप्लेजुङ पुगोस्
चण्डीमा देउडा मिसाएर नाचूँ
स्वयम्भूमा बलेको धूपको सुगन्ध जानकी मन्दिर पुगोस्
र पाथिभरा माताको भजन गाऊँ लुम्बिनीमा
तर किन उज्यालोमा सुर नलागेजस्तो
ताल फुस्किए जस्तो !

सरगमले पनि स्वभाव बदल्छ र ?

वसन्तपुरमा भारी बोक्ने दाइको पसिना
र खाडीमा श्रम गर्ने पसिनाको उज्यालो एकै होइन र ?

सिंहदरबारबाट देखिने घामजून
र गुफा कन्दरामा पुग्ने बिहानीको झुल्के उज्यालो उही होइन र ?

यो कमजोर उर्बरामा
माटाकै खराबी हो कि मनको विकृति ?

रोगी समयको यो महानदी !
नदी आफैँ निथ्रुक्क छ
र धिपधिपे छ उज्यालो
तर शरीरमा रोग लागे पनि
मनमा रोग नलागुञ्जेल
मान्छे पनि मर्दैन- समय पनि मर्दैन
मर्दैन र त यस्तो समयमा पनि
उज्यालो उज्यालोकै दुबो बचाइरहेछ !