पीएको वकपत्र

पीएको वकपत्र


  • ठाकुर बेलवासे

म काँटा
चम्चा
डाडु
पन्युँ
र कराई-कसौँडी
थाल-कचौरा
सबै म

आगो-दाउरा
पानी पनि म

कहिले
कैँची
कहिले सावेल पनि म
काट्नु छ
देश
अनि सोहोर्नु छ
मान्छेका जीवनहरु
परिआउँदा म डोजर
फोडिदिनु छ
देशका सपनाहरु

कोठाको ढोका
ढोकाको चुकुल
खाली कागत
कलम
अनि मसी पनि म

यो बाटो अति साँघुरो बनेको छ
म हिड्दा बाटो किनारा लाग मान्छेहरु

आकाश निकै सानो बनेको छ
म घरीघरी उड्न सक्छु
कुना पस ताराहरु

म पीए
मन्त्री या नेताको
नोकर बुझ्नु होला
नोकरको अपमान गर्ने अधिकार कसैलाई छैन

यो ब्रम्हाण्ड किन
सानोसानो बन्दै छ
किन म अटिरहेको छैन
यस भूगोलमा
किनारा लाग नदीका वेगहरु

म व्यापारी चिन्छु
चिन्छु तस्कर र भ्रष्टाचारी
म मान्छे चिन्दिनँ

भाइ, भतिजा
साला, साली
अनि बाआमा, सासुससुरा
चिन्छु
साथीभाइ चिन्दिनँ

पीए मान्छे
मान्छे पीए
नबन्दो रहेछ
पीए नियुक्त भएसँगै
म मान्छे रहिनँ
अब मलाई सडक चाहिएन
चाहिएन संगत पनि

थाहा पाइराख्नुस्-
पीएलाई मलामी चाहिँदैन
चाहिँदैन आँशु पनि
यो पनि बुझिराख्नुस्-
पीए सिंगो संसार हो
पीए मानसिक रोगी कहिल्यै हुन सक्दैन !