- यश घिमिरे
छयालिस सालतिरको कुरो हो । बहुदलको आगमनसँगैै नेपालीहरूमा वैदेशिक रोजगारीमा जाने लहर चल्यो । भर्खरै एसएलसी दिएर बसेको थिएँ । गाउँमा मभन्दा सिनियर दुई जना- जो आइए पढ्दै हुनुहुन्थ्यो; एक जना गुरुङ र अर्का क्षेत्री दाइ आएर भन्नुभयो- ‘ओइ केटा ! सिंगापुर जाने हो ? राम्रो कम्पनीमा काम छ रे, दुई वर्षको भिसा लाग्छ । जाने भए हिँड् हामीसँगै ।’
मैले नजाने कुरा गरेँ । त्यसको केही महिनामा वहाँहरू पढाइ-सढाइ हापेर सिंगापुर उड्नुभयो । एकाध महिनामै दुवै जनाले एउटै कम्पनीमा राम्रो काम पाएका छन् अरे, खुब पैसा कमाएका छन् रे भनेर गाउँमा चर्चा चल्न थाल्यो ।
मैले आइए पनि सक्नु, वहाँहरू दुवै जना तामझामका साथ नेपाल फर्किनु सँगसँगैै जसो भयो । गाउँमा ती दाइहरूको शान नै बेग्लै थियो– नयाँ कपडा, जुत्ता, सिकोघडी, कालो रेबन चस्मा, सोनी वाकमेन ! यो सब देखेर आफू उनीहरूसँगै विदेश नगएकोमा खुब पछुतो लाग्यो । दुवै जनाले फर्किंदा एक-एक लाख नगद पैसा पनि ल्याएका रहेछन् । त्यो बेलाको एक लाख रुपियाँ भनेको ठुलै रकम हो ।
क्षेत्री दाइ अलि बाठो खालको हुनुहुन्थ्यो । त्यो एक लाखले चितवनको पर्यटकीय ठाउँ सौराहामा पाँच कठ्ठा जग्गा लिन भ्याउनुभएछ । गाउँमा कुरा काटियो- ‘बाँदर बाठो भयो, त्यस्तो खोलाको बगर किन्यो, एक लाख त्यस्सै डुबायो । अब सकियो ।’
उता कगुरुङ दाइले भने पचपन्न हजारमा १४ इन्चको रङ्गीन सोनी टेलिभिजन र पैँतालिस हजार हालेर भी.सी.आर. डेक किन्नुभयो । हाम्रो गाउँमा पहिलो रङ्गीन टिभी र भीसीआर भएको घर वहाँकै मात्र थियो । त्यसपछिका दिनहरूमा गाउँलेको अगाडि वहाँ ‘हिरो’ जस्तो हुनुभयो । जहाँ गए पनि चियानास्ता खुवाउने, दिल खोलेर खर्च गर्ने कगुरुङ दाइको पछिपछि एक हुल मान्छेहरू हुन्थे । कहिलेकाहीँ म पनि त्यही हुलमा मिस्सिन्थेँ ।
त्यो घरमा टिभी, फिल्म हेर्न आउनेहरूको सधैंको भिडभाड हुन थाल्यो । सम्पूर्ण रामायण, महाभारत जस्ता हिन्दी धारावाहिक आउने बेलामा त आँगनमा धरि खुट्टा हाल्ने ठाउँ हुन्थेन । गुरुङ्नी भाऊजू त्यहाँ उपस्थित सबलाई चियानास्ता बनाएर खुवाउनुहुन्थ्यो । सोचाई आउँथ्यो- ‘कस्तो शानको जिन्दगी, काश ! म पनि एकदिन यी दाइ जस्तै हुन पाए !’
त्यसको केही समयलगत्तै हाम्रो परिवार गाउँ छोडेर बजारतिर बसाइँसराइ गऱ्यो । गाउँको हालखबर त्यति धेरै थाहा हुन छोड्यो । केही वर्षपछि समयसँगै बग्दै जाँदा आफू स्वयम् वैदेशिक रोजगारीमा लामो समय हेलिएँ ।
अस्तिको पालि नेपाल छुट्टीमा जाँदा आफू जन्मेको ठाउँ सुम्सुम्याउने रहरले पुरानो गाउँ पुगेँ । धेरै चिनेका मान्छेहरू कहिल्यै नफर्किने गरेर बिलाइसकेछन् । झन् धेरै मान्छेहरू चाहिँ मजस्तै कहिलेकाहीँ फर्किने गरेर बिलाएछन् । चिनेका र नबिलाएकाहरूमध्ये सबभन्दा पहिले उही गुरुङ दाइलाई भेट्ने रहर पलायो । सोच्दै थिएँ- ‘सबको हाई-हाई गुरुङ दाइ कस्तो हुनु’भो होला ?’
दाइले पहिलेको पुर्ख्यौली बार्दली हालेको शानको घर बेचेर, गाउँको पुछारमा सानो घर बनाउनुभएको गाउँ पुगेपछि मात्र थाहा पाएँ । एउटा फुच्चे केटोले वहाँको बस्ने बास देखाइदियो । खरले छाएको, पस्दा निहुरिएर पस्नुपर्ने ढोका नभएको घर देख्ना साथ दाँतमा ढुङ्गा लागेको जस्तो भयो । घर पनि के भन्नु ? झुप्रो भनम् न त्यसलाई, त्यही पनि अब्यवस्था र फोहोरको थुप्रो लागेको !
झ्यालहरूविहीन अँध्यारो कोठा भएको झुपडीमा पस्नासाथ एक प्रकारको नमिठो गन्धले उल्टी होला जस्तो भयो ।
गुरुङ दाइ मैलो न मैलो डसना भएको खाटमा ढल्केर च्यातिएको पुरानो टिशर्ट र जीन्स पाइन्टमा त्यही १४ इन्चको टिभी हेर्दै हुनुहुँदोरहेछ । मलाई केही बेर असमञ्जस भएर हेरेपछि चिन्नुभयो अनि नमस्कारमा जोडिएको मेरो हातहरू समाउँदै भन्नुभयो– ‘केटो ! कहिले आइस् बिदेशबाट ? बाहिर छस् रे भन्ने सुन्या’थिएँ ।’
मैले उत्तर दिने मेलो नै नभेट्टाइ प्रतिप्रश्न गरेछु- ‘दाइ ! के हालत हो यो ?!’
वहाँको आँखामा छुट्याउन नसकिने विभिन्न भावहरू तैरियो । शायद आफ्नै अतीतको गर्भमा पुग्नुभयो । एकछिनको तन्द्राबाट ब्युँझिएर भन्नुभयो- ‘देख्दैछस् नि भाइ, मेरो हालत । यो सब आफ्नै बुद्धिले बनाएको हुँ, यसमा कसैको दोष छैन ।’
‘अनि भाउजु खोइ त ?’
मैले वहाँको घाउमा नुन छर्किदिएछु क्यारे, सोधाइले मर्माहत जस्तै हुनुभयो । उत्तर नपाउँदै अनुहारबाटै थाहा पाएँ– भाऊजु अन्तै हिडिँसकिन् । हुन पनि को नै बस्थ्यो र यस्तो हालत हुनेसँगै ?
‘केटो ! त्यो बेलामा एक लाखले किनेको यो टिभी र भीसीआर… भीसीआर त बिग्रीसक्यो मजस्तै गरेर, के मुल्य हुनु र ?! … यै टिभी अहिले बेचेँ भने कति आउला ?’ केही बेरको मौनतापछि फिस्स हाँस्दै मतिर वहाँको अनौठो प्रश्न तेर्सियो ।
के भनुँ के भनुँ भयो तैपनि भनिदिएँ– ‘खोई ! अहिले त यसको के मूल्य पाइएला र ? त्यस्तै चार–पाँच हजार जाला … नयाँ नै आठ–दश हजारमा आउँछ ।’
‘तलाईंं थाहा छ ? मसँगैै फर्किएको त्यो क्षेत्री केटो के तनि ?!… सबले बाँदर बाठो भयो खोलाको बगरमा पैसा हाल्यो, डुबायो भन्थे नि । साँच्ची त्यो बेलाँ’ मैले पनि त्यही सोच्या’थिएँ, डुब्यो क्षेत्री भनेर ।… तर आजको भाउमा त्यो जग्गाको मुल्य करोड भन्दा बढी आउँछ । अहिले उसले त्यै ठाउँमा टुरिस्ट होटेल बनाएको छ । उसँग निजी कार छ, बाह्र–पन्ध्र जना कामदारहरू छन् । बैंक ब्यालेन्स छ । श्रीमती जहान बच्चाहरू छन् । सब कुरा छ ।’
यति भन्दै गर्दा कसैको दुईटा बाख्राले आँगनमा सुकाएको करिव तीन पाथी जतिको मकै खाँदै गरेको देख्नुभएछ, उठेर धपाउन थाल्नुभयो । अनि फर्केर आएर मेरै आडमा उसैगरी खाटमा बस्दै गफलाई निरन्तरता दिनुभयो ।
‘अँ … म के भन्दै थिएँ रे केटा ! त्यै मसँग विदेश जाने क्षेत्रीको कुरा होइन ? … अनि सुन न, यी सारा गाउँलेहरू अहिले उसैको चर्चा-परिचर्चा गर्छन् । ज्यू-ज्यू गर्छन् । भलै, उसको गाउँप्रतिको देन भनेको यिनीहरूलाई कारले उडाएको धुलो खुवाउनु मात्र रहेको छ … बरु मेरै आँगनमा छिमेकीको गाईबाख्राले अघि खाएको जसरी केही न केही सधैं खाइर’न्छ ।’
केही कुरा सम्झेर फेरि फिस्स हाँस्दै थप्नुभयो- ‘उ धनीमानी, हुनेखानेमा गनिन थाल्यो । आजकाल त बोल्दा पनि पैसो पर्ला जस्तो गर्छ भन्या… तैपनि त्यै क्षेत्रीको गुणगान हुन्छ । मैले नबुझेको कुरो, म यिनीहरूकै सुख-दुःखमा काम आउँछु । मलामी जान कसैको छुटाउँदिनँ । कसैको असजिलोमा आर्थिक नसके पनि भौतिक सहयोग गर्न पछि हट्दिनँ … र पनि यी गाउँलेहरू मसँगै राम्रो मुखले बोल्न डराउँछन् । भेट्नासाथ पैसो माग्ला कि भनेजसरी त्यस्सै-त्यस्सै तर्किन्छन् भन्या… आज वर्षौंपछि यो झुप्रोमा छिर्ने तैँ होस् भाइ नत्र कोही आउदैन यहाँ ।’
गहिरो पीडामिश्रित अनुहार लगाएर खाटबाट उठ्नुभयो । चुल्होको धुँवाले कालो न कालो बनाएको खोपी जस्तो ठाउँबाट देउराली चुरोट र सलाई निकालेर सल्काउँदै भन्नुभयो- ‘कुनैबेला सारा गाउँलेहरू मेरो पछि लाग्दा एकपल्ट तैँले भन्या’थिइस नि- ‘दाइ ! म पनि तपाईंजस्तै हुन चाहन्छु’ भनेर .. हेर भाइ ! आज तलाईं भन्दैछु- जीवनमा तँ, न यो गुरुङ जस्तो हुनु न त्यो क्षेत्री जस्तो ।’
वहाँको यो कुरोले मलाई भित्रैसम्म छोयो । मन भावुक भएर आयो ।
धेरैबेर जिन्दगीका भोगाइहरू सुन्ने-सुनाउने गर्दागर्दै साँझ पर्न थालिसकेछ । छुट्टिने तरखर गर्दै खल्तीबाट पाँच हजार निकालेँ र बसेको खाटबाट उठ्दै आज्ञा मागेँ- ‘हस दाइ अब म निस्किन्छु … अनि बरु अघि एकपल्ट तपाईंले भन्नुभएको थियो नि, हामी दुईमा कोही जस्तो नि नहुनु भनेर … मलाई, तपाईंजस्तै हुन परे’नि मन्जुर छ तर ढुक्क हुनुस्, त्यो क्षेत्री जस्तोचाहिँ पक्कै हुने छैन ।’ अनि पैसालाई वहाँको हातमा राखीदिँदै दुवै हात समाएर भनेँ- ‘कुनै बेला हजुरको तर्फबाट धेरै चियानास्ता खाइयो दाइ । आजचाहिँ केही अप्ठ्यारो नमानी यो भाइको तर्फबाट चिया खर्च सम्झेर राखिदिनुस् न है, प्लिज !’
लाख कोशिस गरेँ । कसै गर्दा पनि दाइले पैसो लिन मान्नुभएन ।
एक महिनाको बिदालाई बिट मारेर कर्मभूमि फर्किएँ । एक त विदेशको बसाइमा गुरुङ दाइसँग सम्पर्क पातलिने नै भयो, त्यहीमाथि वहासँग जमानाको पुरानो नोकिया फोन मात्र थियो । वाईफाई या ‘डाटा’ चल्थेन । त्यो नभएपछि फेसबुकमा भाइबर जस्ता सोसल मेडियामा म्यासेज छोड्ने कुरा भएन । सोझै फोन गर्न’नि कुनैबेला नेट्वर्कको समस्या त कहिले आफ्नै कार्यब्यस्तताले गर्दा के-कसो छ भनेर बुझिरहन नभ्याइने । तैपनि समय निकालेर कहिलेकाहीँ फोन गर्थें । कोरोनाको कहर चर्किएपछि भने महिनामा दुई-तीनचोटि हालखबर सोध्न थालेको थिएँ । एकदिन वहाँले निकै असहज हुँदै फोन उठाउनुभयो । आखिर जे कुराको डर थियो त्यही भएरै छाड्यो ।
वहाँलाई कोरोनाले समाएछ ।
त्यो झुप्रो, त्यो फोहोर, कोही पाइला नटेक्ने त्यो घर । एक्लो अधबैंसे गुरुङ दाइको ओछ्यानमा रोगले ढलाएको स्थिति सम्झेरै थरर कामेँ ।
…
हाल : भरतपुर-१२, चितवन
प्रतिक्रिया