जड जनता, पाषाण नेतृत्व !

जड जनता, पाषाण नेतृत्व !



हालै एक सार्वजनिक सम्बोधनका क्रममा प्रधानमन्त्री एवम् सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेका असन्तुष्ट नेता माधव नेपालको नाम उच्चारण गर्दै भने- ‘माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ताका हुन् । अहिले केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो भन्दै धाक लगाएर हिँडेका छन् । मलाई बहुला कुकुरले टोकेको छ र ? नेपालमा कोही नभेट्टाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला ?’ यसको जवाफमा माधव नेपालले भने- ‘प्रधानमन्त्री केपी ओलीको अभिव्यक्ति मननीय छ, सिक्नलायक छ, सबैले सिकौँ !’ माधव नेपालको पक्षपोषण गर्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले क्षुब्ध हुँदै ‘छुद्र भाषा बोल्नेले के देश चलाउँछ ?’ भन्ने कठोर प्रतिक्रिया दिए । यसै प्रसङ्गमा नेकपा माओवादीका अध्यक्ष प्रचण्ड पनि पछि परेनन्, ‘बिचरा ओली… छिचरा केपी’ जस्ता विशेषण प्रयोग गर्दै उनी पनि प्रधानमन्त्रीविरुद्ध सार्वजनिक रूपमा बेस्सरी खनिए ।

माथि उल्लिखित सबै पात्र देशका शीर्षतम् नेताको कोटीमा रहेका छन् । प्रस्तुतिमा तलमाथि भए पनि यी सबै पात्रको सोच, स्वभाव, शैली, स्तर एवम् देश र जनताप्रतिको रवैयामा तात्विक अन्तर छैन । आलोपालो गरी सबै मुलुकको नेतृत्व गर्ने स्थानमा पुगिसकेका व्यक्तित्व हुन् । सबै ‘टेस्टेड’ हुन्, सबै नै आ-आफ्नै प्रकारबाट असफल सिद्ध भएका हुन् र, आज आफू-आफूबीच मारामारी गरेर आफूलाई ‘महान्’ साबित गर्ने उल्टो यात्रामा वेग मारिरहेका छन् ।

तीन दशक अवधिको वर्णन गरेर साध्ये नहोला, पछिल्लो तीन वर्षको मात्र कुरा गर्ने हो भने पनि के सत्तापक्ष के प्रतिपक्ष, सबै मिलेर देशको दोहन गरेकै हुन्, जनताको शोषण गरेकै हुन् । यस अवधिमा देश तथा जनघाती के-कस्ता र कुन तहका काण्डहरू घटे या घटाइए- समयले यसको हिसाबकिताब गर्ला नै ! आज सत्ताको छिनाझपटीका कारण नेता र तिनका गुट-गुटबीच आपसी कटुता यसरी बढेको छ कि एकले अर्कोलाई नाङ्गेझार पार्ने प्रतिष्पर्धामा सबै-सबै न्वारनदेखिको जोड लगाइरहेका छन् । एकले अर्कोलाई खुइल्याउने धुनमा शीर्ष भनिएका नेताहरूले आफ्नो ओहदा, देशप्रतिको दायित्व, जनताप्रतिको जिम्मेवारी सबै भुलेका छन् । सबैभन्दा महत्वपूर्ण कुराचाहिँ यो छ कि यिनै कुण्ठित, असफल र अक्षम पात्रहरूबाट शासित भइरहनुपर्ने विडम्बनाबाट आमनेपाली गुज्रिरहनु परेको छ ।

आज विश्व नै कोरोना महामारीको चपेटमा परेर पिल्सिरहेको छ । नेपाल जस्तो निरीह मुलुकमा यस्तो महामारीको असर ज्यादा नै पर्ने कुरामा विवाद गरिरहन पर्दैन । महामारी मत्थर पार्न गरिएको प्रयासको परिणामस्वरुप यतिबेला मुलुकको अर्थक्षेत्र तहसनहस छ, आमनागरिक भोक, रोग र शोकले सिथिल बन्न पुगेका छन् । उपचारको अभावले उपल्ला वर्ग भनिएकालाई समेत गाँजेको छ । धेरैको अकालमा ज्यान गएको छ । विश्वव्यापी महामारीमा मानिसको ज्यान जानु ठूलो विषय नहोला, तर अकाल वा असामयिक मृत्युका लागि रोगको प्रकृति जति घातक देखियो, सरकारी निकायको रवैया त्यो भन्दा पनि जिम्मेवार प्रतीत हुँदैछ । यस्तो बेला के सत्तापक्ष, के विपक्ष, सबै एकजुट भइ जनधनको रक्षार्थ उभिनुपर्ने हो । यस्तो संवेदनशीलता कसैमा देखिएन । कोही अर्काको कुर्सी छिन्न त कोही कुर्सी बचाउन दिलोज्यानले लागिरहे, लागिरहेकै छन् ।

महामारीको मार परिरहेकै बेला बाढी-पहिरोको प्रहार थपिएको छ । लाखौँ विस्थापित हुनुपर्ने, हजारौँले जायजेथा सर्वश्व गुमाउनुपर्ने, सयौँले परिजन गुमाउनुपर्ने विडम्बना यतिबेला ब्यहोरिरहेका छन् । तर, यसतर्फ शीर्ष भनिएका पात्रहरूको ध्यान पुगेको महसूस हुन सकेको छैन । लोकाचारका लागि कागजी वक्तव्य जारी गर्दै अर्कोको मुख ताकेर बस्नु कुनै जिम्मेवार राजनीतिकर्मीको धर्म हुन सक्दैन । तर यतिबेला जनताको नाममा यस्तै आडम्बर मात्र प्रकट भइरहेको छ । यस्तो सङ्कटको घडीमा पनि एकर्कालाई धारे हात लगाउँदै, बचनको बाण प्रहार गर्दै सत्ताको छिनाझपटीमै कथित शीर्षहरूको दिनरात गुज्रिरहेको छ । जनस्तरमा असन्तुष्टि चुलिँदा पनि महसूस गर्न नसक्ने यस्ता जड नेता-नेतृत्व दुनियाँमा अन्यत्र शायदै भेटिएलान् ।

र, यस्ता संवेदनहीन नेताहरू जन्मनु र नेतृत्वमा स्थापित हुनुमा अन्य जेसुकै ‘फ्याक्टर’ले काम गरेको भए पनि नेपाली जनता स्वयम् नै सर्वाधिक जिम्मेवार छन् । यथार्थ सबै देखिभोगी सक्दा पनि असन्तुष्टि दबाउँदै यिनै पात्र र यिनले आयात गरेर लादेको शासन व्यवस्थाको रक्षार्थ मौनता साधिरहनु नेपाली ‘नागरिक’को नामर्दीपन हो । शासकको यस्तो मति र नागरिकको यस्तै गति कायम रहने हो भने देशको अस्तित्व कायम रहनेमा अब धेरै आश गरिरहन सकिन्न । चेत रहोस् ।