बाहुन लेख्दैमा कोही फलित र कामी दमाइ सार्की लेख्दैमा कोही दलित हुँदैन !

बाहुन लेख्दैमा कोही फलित र कामी दमाइ सार्की लेख्दैमा कोही दलित हुँदैन !


(अनुभूति)
  • ज्ञानमणि भुर्तेल

जितु गौतम ! अचेल त दर्जी पनि लेख्न थाल्नुभएको छ क्यारे ! हैन त ?

०५२/५३ तिरको तपाईंसँगै जोडिएको एउटा रोचक प्रसङ्ग स्मरण गराउँछु है त ! तपाईंलाई सम्झना होला-नहोला कुनै दिन बिहानै तपाईंको अगुवाइमा गुहेश्वरी मन्दिर परिसरमा मञ्चन भैरहेको कार्यक्रममा मलाई देख्नासाथ- ‘ओहो ! मेरो पुरानो पत्रकार मित्र’ भन्दै सबैसँग परिचय गराउँदै भेलाको उद्देश्य प्रष्ट्याउने क्रममा मन्दिर प्रवेश र पूजाआजापश्चातको सहभोजमा मलाईसमेत सहभागिताको लागि आग्रह गर्दाको समयको सम्वाद जस्ताको तस्तै राख्दैछु !

– जितुजी ! तपाईंलाई यसअघि मन्दिर पसेर पूजा गर्दा कसैले जात सोधेर रोकेको थियो ?
– त्यस्तो त थिएन ! कसैले रोकेको छैन !
– तपाईंहरू भोलिका दिनमा पनि यसैगरी दैनिक पुजारी र भिडियो क्यामेरा बोकेर पूजा गर्न आउनुहुन्छ त ?
– खै ! भुर्तेल सर ! त्यो त भन्न सकिएन ! के हुन्छ ? थाहा छैन !

मैले तपाईंको क्यामेराधारकतर्फ देखाउँदै बोलेको थिएँ- तपाईंलाई यसअघि कसैले रोकेको पनि थिएन र भोलि फर्केर आउने ग्यारेन्टी पनि छैन भने यो नाटक किन त ? जहाँसम्म सहभोजको कुरो छ, तपाईंले पत्रिका बेच्ने बिर्तामोडको छिँडीमा तपाईंसँगै टाँस्सिएर दर्जनौँपटक चिया खाएकै छु त भन्दा छेउको मुन्द्रेले पाखुरा सुर्किंदा तपाईंले रोक्नुभएको थियोे !

पूजा सकियो ! भिडियो खिचियो !! भोलिपल्टको पत्रिकामा ‘दलितद्वारा मन्दिर प्रवेश र पुजाआजा पश्चात् सहभोज’ शीर्षकमा समाचार पनि छापियो होला !! भोजमा सहभागी हुँदा म आफैं गएर चिया-समोसा लिन खोज्दा मलाई एउटा कुर्सीमा बसाएर केही बेरअघि पाखुरा सुर्किनेले चिया–समोसा बोकेर आएर मलाई दिँदै हल्का मुस्कान छोड्यो ! उसको मुस्कानले प्रष्ट भन्दै थियोे- ‘देखिस् बाहुन काठा ! मैले तेरो चिया-समोसा छोइदिएर तेरो जात खुइल्याइदिएँ !’ तपाईंले पनि ‘भुर्तेल सर ! यो तातो समोसा मेरो तर्फबाट’ भन्दै एउटा समोसा थमाइदिनुभो ! तपाईंका केटाहरू बाहुनक्षेत्री खोजी-खोजी चिया बाँड्न ब्यस्त थिए ! बीच-बीचमा तातो समोसा बाँड्ने तपाईं हुँदैहुनुहुन्थ्यो ! त्यो सहभोज नामको चर्तिकला देखेर म मात्र हैन गुहेश्वरी क्षेत्रका बाँदरसमेत चकित थिए !

बाहुनको चिया-समोसा छोइदिएर ‘जात खुइल्याउने’ दम्भी समुहको दलित मानसिकता देखेर २९/३० सालतिर चन्द्रगढी घरमा भोजपुर गोगनेको गम्बे दमाइलाई आदरपुर्वक ‘गम्बे दाजु’ भन्दै आफ्नो भान्सामा पिर्कामा बसाएर भात खुवाउने मेरी आमाको सम्झना भो ! तीसकै दसकमा एउटा दमाइलाई दाजुको दर्जा दिएर भात खुवाउँदा गोगनेको भोलानाथ पाध्ये (जीवनाथ न्यौपाने)की छोरी तथा दिङ्लाको पूर्णप्रसाद भुर्तेलकी बुहारीको जात खुइलेन भने अहिले तिनै आमाको छोरालाई चिया-समोसा छोइदिएर जात खुइल्याएको आत्मरतिमा रमाएको दम्भी समुहको ताल देखेर आफ्नो हाँसो रोक्न मुस्किल भएको थियोे ! थपिथपी चिया समोसा खाइदिएँ ! मेरो जनै पनि मक्काएन ! जात पनि गएन ! अहिलेसम्म बाहुन नै छु !!

तपाईंहरू फेरि फर्केर गुहेश्वरी जानुभयो कि भएन ? दैनिक पुजाआजा भयो कि भएन ? जानकारी भएन ! खोजिनिती पनि गरिएन ! दलितमुक्ति नामको आन्दोलनको चर्चा चैँ बेलाबेला सुनिन्थ्यो ! बीचमा तपाईंलाई मुलुकले राज्यमन्त्री पनि बनायो क्यारे ! त्यस समय कति दलितलाई मुक्ति दिलाउनुभो ? ‘दलित’लाई ‘फलित’ बनाउने तपाईंको आन्दोलन कता पुग्यो ? कुन रूपमा छ ? त्यसको हिसाबकिताब त तपाईंसँगै होला !

जितु भाइ ! एक दिनले मात्र भए पनि तपाईं मेरो भाइ भएकोले यति कुरो भन्छु कि तपाईं र तपाईंजस्ता ‘साँच्चै दलित मुक्त गर्न हिँडेका बुद्धिजीवी’ जुर्मुराउनु जरुरी भैसकेको छ अब ! त्यसका लागि दलित आयोगबाट प्राप्त दलित प्रमाणपत्र छातीमा झुण्ड्याएर बाहुनले हेपे भन्दै बाहुनको खानेकुरा छाम्दै ‘छोइदिएको’ आत्मरतिमा रमाउने दम्भी समुहलाई जातिय पसल बन्द गरेर टुँडिखेलमा भेला गर्नुस् ! सहभोजको आयोजना गर्नुस् ! दलित आयोगबाट प्रमाणित विश्वकर्मा, परियार, मिजार को-को छन् ? सबै भेला हुनुस् ! अङ्कमाल गर्नुस् ! सँगै बसेर एकअर्काले छोएको भात खानुस् ! एकले अर्कोलाई आफ्नो भान्सामा पसाउने प्रण गर्नुस् ! अझ सकिन्छ भने ती अन्यायमा परेकी केजाती सुनार अविवाहित छन् भने उनलाई चुनौती दिने त्यो सार्की केटासँग लगनगाँठो कसिदिनुस् ! तपाईं आफैंले पनि कुनै सार्कीकी छोरीलाई बुहारी बनाउने जमर्को गर्नुस् ! सार्की केटालाई ज्वाईं बनाउनेतिर लाग्नुस् ! धेरै बाहुनले त कामी-दमाइलाई ज्वाईं पनि बनाएका छन् ! बुहारी बनाएर भित्र्याएका पनि छन् ! तपाईंहरूभित्रै अन्तरजातीय विवाहको सुरुआत गर्नुस् ! अझ तपाईंको इच्छापूर्ति हुन्छ भने उपाध्याय नै लेख्न थाल्नुस् ! गौतम त लेखेकै हो क्यारे ! अहिले दर्जी किन थप्नुभो ? तपाईंलाई नै थाहा होला !

बाहुन लेख्दैमा कोही फलित हुने र कामी दमाइ सार्की लेख्दैमा कोही दलित हुँदैन ! दलितले बाहुनको खानेकुरा छामेर ‘छोइदिएको’ घमण्ड गर्ने र बाहुनले ‘भुइँमा बसाएर छुन नदिएको’ आत्मरतिमा रमाउने दम्भी मानसिकता चैँ दलित हो ! अब त्यो सोच बदल्नुपर्छ ! त्यो दलित मानसिकताभित्र रहेको विकृत पिलोभित्रको आँखो निकालेर फाल्नुपर्छ ।

भनिन्छ. अरुलाई बदल्ने हो भने सुरुआत आफैंबाट गर्नुपर्छ ! सक्नुहुन्छ भने तपाईंलाई दलितको प्रमाणपत्र भिराएर दलित बनाउने दलित आयोग नामक सरकारी धमिराको ढिस्को भत्काउने साहस गर्नुस् ! तपाईं अघि लाग्नुस् म बाहुन पछि लागौँला !! यति गर्नुभो भने टुँडिखेलको तपाईंको सहभोजमा वरिपरि बसेर तपाईंको जयजयकार गर्दै ताली बजाउने मात्र हैन ! तपाईंले थपिदिएको तातो समोसा खाएर सक्रिय सहभागिता जनाउने छु ! तपाईं चिया समोसा थप्दै गर्नुहोला म थपिथपी खाइदिउँला !!

तपाईं कता हुनुहुन्छ ? कहिले भेट होला ? सहभोजको व्यग्र प्रतीक्षामा छु ! खबर पाउँ !!