प्रकृति

प्रकृति


  • डिल्ली अम्माई, बेल्जियम

जीवनको गहिराइमा
प्रकृतिले जीव-जगतलाई
हात जोड्न सिकाइन्
विनय कला सिकाउँदै
बाल मुस्कानको लीला रचाइन्
प्रकृतिले आमासँग
तत् तत् समयमा
प्राणलाई सुनिश्चित गर्दै
स्वास विनिमय सिकाइन्
प्रकृतिले आमासँग
गर्भभित्रै खेल्न सिकाइन्
म शान्त योगमा
आमाको गर्भमा खेलेँ
म ब्रम्ह योगमा
प्रकृतिसँग बढेँ
स्वास र मेरो रगतमा
मेरी गुरुआमा
धरा अनि प्रकृति
मेरो प्राण पुतली
आमाको गर्भाशयमा
लयमा हुर्कन
पानीमा तैरिन
आफ्नै नाभीसँग खेल्न
बिनाभोजन बढ्न सिकाउने
परम गुरु प्रकृतिलाई
सतत नमन !

मेरो आदिभन्दा पहिले
मेरो अन्त्यपछि
मलाई परम शान्त रसमा
सोमरसले झैँ
विस्मृतिमा सुताउने
परम गुरु प्रकृतिलाई
सतत नमन

अदृश्य आँखाले
बिना हात र दिमागले
इशाराविहीनतामा
केवल वायुको स्पर्श बोधबाट
शिक्षक हुनु कम्ता दुःख छ,
सम्पूर्ण परिजनबाहेक
आकाश पाताल र भूगर्भको केन्द्रमा
बिनानिर्देश
माटोमा प्राण भर्दै
जीव हुर्काउनु कम्ता दुःख छ,
आमाको गर्भभित्र
कसैले गरेको भोजनलाई
अदृश्य हातहरूको सहारामा
पुष्ट हुने गरी भोजनगराइ
जीवन बचाउनु कम्ता दुःख छ,
गर्भाशयको रंगशालामा
आमालाई नदुख्ने गरी
आमालाई काउकुति र मनोरञ्जन दिँदै
प्रेमरसले भिजाएर
शिशुलाई ब्यायाम गराउनु कम्ति दुःख छ !
मेरो प्राण आमाको गर्भाशयमा
मौसमी लयमा हुर्कन
गर्भाशयको मानसरोबरमा तैरिन
आफ्नै नाभीसँग खेलाउँदै
बिनाभोजन बढ्न सिकाउने
परम गुरु प्रकृतिलाई
सतत नमन !

प्रकृति मेरी गुरु हुनुको अलावा
उनी आमा र बुबा सबै हुन्
उनी मेरी आमाबुवा मात्र हुनुको अलावा
बिजमा मेरो प्राणदाता भगवान्
सनातन संरक्षक
अनि मलाई जैविक न्याय दिएर
धरामा भोग्न पठाउने न्यायाधीश पनि हुन्
असल खराब आफै रोज्न विवेक दिने
मेरी आदिती स्वतन्त्रताकी त्रिमुर्ति हुन्
परम गुरु प्रकृति
अनगन्ती आँखाले
बिनाहात र दिमागले
इशाराविहीनातामा
केवल तरंग–बोधले
जीवहरूमा शिक्षा दिन
शिक्षक हुनु कम्ता दुःख छ
सम्पूर्ण परिजनबाहेक
आकाश पाताल र भूगर्भको केन्द्रमा
बिनानिर्देश
जीव हुर्काउनु कम्ता दुःख छ
आमाको गर्भभित्र
कसैले गरेको भोजनलाई
अदृश्य हातहरूको सहारामा
पुष्ट हुने गरी भोजन गराइ
जीवन हुर्काउनु कम्ता दुःख छ
आमाको गर्भाशयमा
आमालाई नदुख्ने गरि
आमालाई काउकुति र मनोरञ्जन गराउँदै
गर्भेशिशुलाई ब्यायाम गराउनु कम्ति दुःख छ !
मेरो प्राण आमाको गर्भाशयमा
प्रकृति लयमा हुर्कन
पानीमा तैरिन
बिष्णुको नाभीमा ब्रम्हा खेलेझैँ
आफ्नै नाभीसँग खेल्न
बिनाभोजन बढ्न सिकाउने
महामाता प्रकृतिलाई
सतत नमन !

ब्रह्म ज्ञानी आमा प्रकृति
गुरुआमा प्रकृति
महायोगी प्रकृति
समानताकी उद्गम
जैविक शरीरमा
प्रकृतिलयको भाषाभित्र
गति र व्याकरण सिकाउँछिन् उनी
आमाको गर्भभित्र
बिनय र अनुशासन सिकाउँछिन् उनी
जन्मिँदा प्रलय
जन्मेपछि भवितब्य
कठोरताको पराकाष्ठा
दबाबमा बाँच्ने कला
र, बिनासको पाठ सिकाउँछिन् उनी
त्यसैले जीवनको कठोरतामा
क्षमा प्रकृति हुन् गुरु
बिहानीको सुर्य हेरेर आशा भरिन्छ
त्यसैले आशा प्रकृति हुन् गुरु
हामी झुकेर जन्मन धर्ति स्पर्श गर्दै
हावाबाट स्वास लिन अनुमति दिने
ईश प्रकृति हुन् गुरु
पानीको रूपमा प्रकृतिले
प्रगति र बहावको मार्ग सिकाउँदै
जीवनको अणुभित्र
दुवैलाई मिलाएर बाँच्न सिकाउँछिन्
त्यसैले त धर्तीमा
हामी प्रत्येक बाधामाथि टेकेर हिँड्न सक्छौँ
नदीजस्तै दृढ हुँदै
अनन्तमा बग्न सक्छौँ
अवरोधहरूसँग छल्दै खेल्दै
कहिले रोकिँदै
उभिएर हिँड्न सक्छौँ
कहिले सीधा आधारमा प्रकृति
गति र विकासको व्याकरण सिकाउँछिन्
शिशुकालमा कठोरतालाई छेक्छिन्
शीतलतामा जीवन सिकाउँछिन्
उग्रतामा विनासको पाठ पनि सिकाउँछिन्
जैविक शरीरमा
प्रलयको भाषाभित्र
गति र व्याकरण सिकाउँछिन्
आमाको गर्भभित्र
विनय र अनुशासन सिकाउँछिन्
जन्मिँदा प्रलय
बेलाबेलामा भवितब्य
कठोरताको पराकाष्ठा
दबाबमा बाँच्ने कला
र बिनासको पाठ सिकाउँछिन्
त्यसैले क्षमा प्रकृति हुन् गुरु
बिहानीको सूर्य हेरेर आशा भरिन्छ
त्यसैले आशा प्रकृति हुन् गुरु
हामी झुकेर जन्मन धर्ति स्पर्श गर्दै
हावाबाट स्वास लिन अनुमति दिने
मालिक प्रकृति हुन् गुरु
बायु वेगमा
समयले भोग्दै
भाग्यले चिथोर्दै
आँधी बन्न सिकाउँछिन्
जब चेलाले आफ्नो सीमा तोड्छ
गुरु आँधीबेहरी बन्छिन्
जब गुरुमाथि अनाचार बढ्छ
तब धर्तीमा भूकम्प आउँछ
त्यसैले गुरु प्रलय हुन्
प्रकृति सम्मानमा छिन्
प्रकृति आचारमा छिन्
प्रकृति भ्रुणभित्र
अणुहरूको अस्तित्वमा छिन्
प्रकृति सान्तिमा छिन्
प्रकृति योगमा छिन्
प्रकृति शैव ताण्डवमा छिन्
महागुरु स्थिरताको पराकाष्टा
महायोगी धैर्यताको पराकाष्टा
महामाया गुण र प्रेमको पराकाष्टा
प्रकृति अग्नि, हावाझैँ तेजहरूको पराकाष्टा
लक्ष्यभेदी महाकाली निर्णयको पराकाष्टा
जननी गुरुआमा
हजार ऊर्जाहरूको पराकाष्टा
इन्कलावसँगै उडान भर्दै
प्रकृति आकासमा उडान
महागगन प्रकृति गुरु
विशालताको पराकाष्टा
प्राणवायु र रविकिरणमा
उदारताको पराकाष्टा
म ब्रम्हयोगमा
आमाकै गर्भभित्र
प्रकृतिसँग पढेँ
स्वास र मेरो रगतमा
मेरी गुरुआमा
धरा अनि प्रकृति
मेरो प्राण आमाको गर्भाशयमा
प्रलयमा हुर्कन
आँधीसँग खेल्न
विनयी बन्दै गुरुसँग
जीवनमा तैरिन सिकाउने
जीवनदाता प्रकृतिलाई
सतत नमन !