डायस्पोराको नेपाली पत्रकारिता र एनआरएन निर्वाचन

डायस्पोराको नेपाली पत्रकारिता र एनआरएन निर्वाचन



कसैलाई खुशी बनाउनकै निम्ति लेखिनु ‘पत्रकारिता’हो या अरु नै केही ?!

गैरआवासीय नेपाली संघभित्र विगत वर्षहरूमा देखिएका भन्दा चरम विवादहरू आज सतहमा आइरहेका छन् । कतिपय देशमा त यो गैरआवासीय नेपाली संघ नेपाल र नेपालीलाई एकापसमा जोड्नभन्दा तोड्न प्रयोग भएको छ भन्ने गुनासाहरू प्रशस्त सुन्न पाइन्छ ।
  • सागर सुवेदी

म आफै बसोबास गरिरहेको मुलुक अष्ट्रियामा ‘गैरआवासीय’को दायरामा आउने लगभग एक हजार हाराहारीमा नेपाली बसोबास गर्छन् भनिएको छ । यद्यपि यकिन डाटाचाहिँ प्रष्ट छैन । विश्वमा गैरआवासीय नेपालीका सीमित समूहलाई निर्वाचनको गर्मीले छोएजस्तै यहाँ पनि केहीलाई चुनाव लागिरहेको देखिन्थ्यो ।

डायस्पोरामा रहेर ‘फुर्सदकारिता’ गरिरहेका मेरा चिनजानका मित्रहरूको ठट्टा/गुनासो/सुझाव हुन्थ्यो- ‘गैरआवासीय नेपाली संघको निर्वाचन विषयमा आफै बसेको मुलुकका गतिविधिहरूमा समाचार बनाउनु पर्दैन तपाईंले ? यहाँ हामीलाई समाचार बनाइदिनुपऱ्यो भन्ने आग्रह आइरहेका छन् ।’ मलाई प्रथम आपत्ति भनेको ‘बनाइदिने सामाचार’मा हुन्छ । प्रथमतः समाचार कसैको लागि बनाइने नभएर समाजले कसको कुरा सुन्न–बुझ्न चाहेको छ, या कस्तो विषयलाई समाचार बनाएर समाजलाई सूचित गर्ने ? भन्ने सवालसँग सम्बन्धित हुन्छ । मलाई दोधार भयो- समाचार बनाउँ भने समाचार बनाउनलायक केही हुनुपऱ्यो, नबनाउँ भने कम्तीमा विश्वभर सीमित समूहभित्र तातिरहेको गैरआवासीय नेपाली संघको निर्वाचनप्रक्रिया नजिक आइरहेको थियो । समाचार बनाएर समाजलाई सूचित गर्नलायक खासै केही नपाएको कारण र कसैको देवत्वकरण या कसैको आलोचना गर्न पनि योग्यता नपुगेको कारण समाचार बनाउन मेरो हात चलेन ।

डेमोक्रेसीमा हर व्यक्तिको आफ्नो मताधिकार हुन्छ, साथै उक्त मताधिकारलाई उसले स्वतन्त्र रूपमा कसैको डर या धम्कीबाट बिचलित नबनी कसैको लालचमा नपरी प्रयोग गर्न सक्छ । समग्रमा भन्नुपर्दा विश्वमा प्रयोग भएका ब्यवस्थाहरूमध्ये अत्यन्त उत्कृष्ट प्रयोग भनेर भनेको पाइन्छ । भलै यसमा पनि विविध नकारात्मक पाटोबाट बहस हुन्छ नै । अष्ट्रियामा गत शनिबार गैरआवासीय नेपाली संघको निर्वाचन हुँदै गर्दा आफ्नो मताधिकार प्रयोग गर्नका लागि मतदानस्थल छिर्दै थिएँ, त्यत्तिकैमा कसैले मेरोछेउ आएर भन्यो– ‘पत्रकार भएर पनि निर्वाचनको दिन यतिबेला आउने हो ?’ ती व्यक्तिको प्रश्नले मलाई झस्कायो । मनमनै गुनगुनाएँ- पत्रकार हो र म ?

चिनजानका ती व्यक्तिले सोधेको सवालको कुनै जवाफ नदिइ अघि बढ्दै थिएँ, कसैले जिस्काएको भावमा भन्यो- ‘पत्रकारजी, के छ हालखबर ?’ फेरि पत्रकार ?? कस्तो अचम्म ! पत्रकारिताका विषयमा हिजो सायदै फरक सोच थियो होला तर आज मलाई पत्रकार भनेर चिनिनभन्दा स्वास्थकर्मी भनेर चिनिँदा बढी सहज हुने भइसकेको छ । यसको मतलब पत्रकारिता पेशालाई घृणाको दृष्टिले बुझेको कारण पक्कै होइन । सिकारु रिपोर्टर बन्दै आजको दिनसम्म आइपुग्दा पत्रकारिताका विषयमा धेरै सिक्ने र अनुभव गर्ने मौका पाएको कारण मेरो बुझाइमा परिवर्तन आएको हो ।

पत्रकारिता पढेर, विभिन्न बिटमा काम गरी खारिएको, लेख्दै जाँदा समाजलाई आवश्यक खुराक यो हुन सक्छ भन्ने निर्णय गरेर सोहीअनुरुपमा समाचार उत्पादन गर्ने, कसैले भनिदिएको मात्र र फलानाले फलानो कार्यक्रममा यसो भन्नुभयो उसो भन्नुभयो भन्ने चाप्लुसी या देवत्वकरण गरेर बखान गर्ने पत्रकारिता हुँदैनरहेछ भन्ने बुझाइ र यसमा पनि यसभित्रको प्रोफ्रेसलिजमको आवश्यकतालाई परिपूर्ति गर्न सक्ने क्षमता पत्रकारमा भएको हुनुपर्ने रहेछ भन्ने बुझेपश्चात ‘म त पत्रकार कहाँ हु र ?’ भन्ने सोच मेरो मस्तिष्कमा विकसित भयो ।

म आफैले छिटफुट पत्रकारिता (फुर्सदकारिता) गर्न थालेको आज दशक नाघिसकेको छ र पनि आज मलाई लाग्छ- प्यासन हुँदाहुँदै पत्रकारिता मेरो विधा होइन, मात्र प्यासन हो । बरु म एक असल नर्स हुँ । मेरो किताबी शिक्षा पत्रकार नभएर स्वास्थ्य हो । तथापि नेपालमै रहेर आजसम्म निष्ठापूर्वक कलम चलाइरहेका मेरा श्रद्धेय अग्रजहरूका लेख पढ्दा, उहाँहरूले पत्रकारिताकै माध्यमबाट समाज परिवर्तनमा पुऱ्याउनुभएको योगदानलाई दशकौँ महसूस गर्दा आफै प्यासनले पत्रकारितामा आकर्षित थिएँ/छु । समयले साथ दिँदा नेपाल र नेपालीले यो विषय थाहा पाउनुपर्छ भन्ने लागेमा छिटफुट पत्रकारिता (लेखन) पनि गरिरहेको छु ।

पत्रकारिता नै त्यस्तो माध्यम हो जसबाट समाजको सोचलाई परिवर्तन गर्ने पहिलो खुट्किलो बनाउन सकिन्छ । यसले समाजलाई ऐना देखाउने भूमिका निर्भाह गर्दछ, सत्यतथ्य समाचार प्रवाहकै कारण सकारात्मक समाज निर्माणमा योगदान हुन्छ भन्ने मान्ने मजस्ता व्यक्ति पत्रकारभित्रका अत्यन्त तल्लो स्तरको राजनीति, मेडिया हाउसका दलालकारिता, नेपालभित्र ठुला लगानीमा चलिरहेका मिसन मेडिया, त्यसैको सिको गर्दै विदेशमा त झन् दुई जना व्यक्ति मिल्यो वेबसाइट बनायो र ब्ल्याकमेलिङ पत्रकारिता ग¥यो ! यी ब्ल्याकमेलिङ पत्रकारिता गर्नेहरूको साइटमा गएर हेऱ्यो भने; मात्र कुनै एक पक्षको विरोधबाहेक केही देखिँदैन । कथम् अरु केही देखियो भने बासी समाचारहरू बग्रेल्ती पढ्न पाइन्छ । जबकि ती बासी समाचारहरू हिजो केही दिन अगाडि अर्कै मेडियाले ब्रेक गरिसकेको हुन्थे । यस्ता पहेँला पत्रकारहरूको काम केही धन भएकाहरूको चाप्लुसी गर्ने, स्वार्थ मिले बखान गर्ने नभए धम्क्याउने, बेइज्जत नै हुने प्रकारले भए नभएका विषयलाई जोडेर पनि लेखिदिने !

विदेशमा रहेका नेपालीले गरिरहेको पत्रकारिताको यस्तो अवस्था देख्दा, पछिल्लो समय मलाई पत्रकार भनेर चिनिन कता–कता अप्ठ्यारो भैरहेको थियो । त्यसमाथि कसैले ‘पत्रकार भएर यतिका ढिलो आउने’ भन्दा मलाई झन् असहज स्वभाविक लाग्यो नै ! झन् नेपालमा जिल्लास्तरमा रहेर पत्रकारिता गर्नेहरूको गुलामकारिता देख्दा यो पेशाको मर्यादामा हिजो र आज कयौँ कोणबाट फरकपन आइसकेको छ ।

नेपालमा मिसन पत्रकारिता भएजस्तै डायस्पोरामा चाटुकारिता अधिक छ, केही (अ) पत्रकारहरूले आफ्नो धर्मभित्र रहेर आफ्नो भूमिका निभाएका छन् नै तर पनि घरपिच्छे जस्तो पत्रकार बन्दा र, बनेकाहरूलाई पत्रकारिताको सामान्य ‘इथिक्स’ थाहा नहुँदा डायस्पोरामा गरिने नेपाली (कु) पत्रकारिता अधिक विवादमा देखिएको छ । उदेकलाग्दो त कस्तोसम्म हुन्छ भने; आफ्नो जीवनकालमा सञ्जालमा कुनै एक स्टेटस नलेख्नेहरू पत्रकारको कार्ड भिरेर कार्यक्रममा उपस्थित हुनु सामान्य मानिन थालिएको छ । नेपालमा कसैको समाचार लेखिदिएको कारण बेलुकी भट्टीमा मज्जाले धोक्न पाइने संस्कार पनि यहाँ बिस्तारै बस्न लागेको देखिन्छ ।

यहाँ मैले डायस्पोराको पत्रकारितामाथि गम्भीर प्रश्न उठाउँदै गर्दा सबैले यस्तै गरेका छन् भन्दा राम्रो गरिरहेका केही पत्रकार साथीहरू साथै उहाँहरूको टिमले सञ्चालन गर्दै आइरहेका मेडियामाथि अन्याय हुन जान्छ ।

अहिले गैरआवासीय नेपाली संघको निर्वाचनका परिणाम आउने क्रम जारी छन् । कस्तो मान्छेले कसरी जित्यो भन्दा पनि त्यो जित्ने व्यक्तिले समाजलाई केही दिन सक्छ या सक्दैन भन्ने कोणबाट कहिल्यै सकारात्मक बहस हुँदैन । भलै भन्ने गरिन्छ जित्नेको इतिहास लेखिन्छ । तर त्यहाँ कसले कसरी जित्यो भन्ने विषय गौण बन्दछ । यहाँ सबैभन्दा दुःखलाग्दो पक्ष भनेको आफ्नो गुटको या आफ्नो जातको या आफ्नो पार्टीको समर्थक भएकै आधारमा ‘राम्रा’ भन्दा ‘हाम्रा’लाई निर्वाचित गराउन टाउको र घुँडा जोड्ने काम गरिन्छ । साथै आफूले भनेको मान्नेहरूलाई लगाएर शुभकामना तथा बधाईका समाचारहरू लेख्न लगाइन्छ । ती समाचारमा लेखिएका हर शब्द सबै उस्तै हुन्छन्, कमा र पुर्णबिराम पनि उस्तै ठाउँमा हुन्छन् । यहाँ यो पनि हेरिँदैन समाचार पहिला कसले लेखेको हो । मात्र कपी गऱ्यो, हेडिङ थोरै बदल्यो अनि समाचार बनायो ! यति गरेपछि भविष्यमा कुनै काम गराउन पऱ्यो भने समाचार राखिदिएका कारण काम गराउन पाइने पनि भयो ।

गैरआवासीय नेपाली संघभित्र विगत वर्षहरूमा देखिएका भन्दा चरम विवादहरू आज सतहमा आइरहेका छन् । कतिपय देशमा त यो गैरआवासीय नेपाली संघ नेपाल र नेपालीलाई एकापसमा जोड्नभन्दा तोड्न प्रयोग भएको छ भन्ने गुनासाहरू प्रशस्त सुन्न पाइन्छ । आफ्ना पक्षका व्यक्तिहरूलाई जिताउन निर्वाचन समिति स्वच्छ नभएको, अहिलेको अनलाइन भोटिङ प्रणाली स्पष्ट नभएको, सानो सामाजमा निर्वाचन गराउँदा र त्यसमा पनि जात, पार्टी, समूह गुटका नाममा मत मागिँदा समाज तोडिँदै जाँदा यो संगठनको अस्तित्व पनि सकिने चिन्ता एकतर्फ छ ।

यहाँ गैरआवासीय नेपाली संघको अनुशासन पद्दति छाडा बन्दा संगठनमा अपराधिक प्रवृत्तिका व्यक्तिहरूले पनि ठाउँ पाउँदै गएको देखिन्छ । त्यसमाथि केन्द्रमा रहेकाहरूले स्वतन्त्र रूपले कार्यसम्पादन नगर्दा यो संगठनमा आकर्षण गिर्दो देखिन्छ ।

म आफै बसोबास गरिरहेको मुलुकमा ३० प्रतिशत नेपाली मात्र गैरआवासीय नेपाली संघसँग जोडिएका छन्, साथै निर्वाचित हुने पदाधिकारी समाजको १५ प्रतिशत मत लिएर नेतृत्व गरिरहेका छन् । यसबाट प्रस्ट देखिन्छ- समाजको बृहत हिस्सा संघको दायराभन्दा बाहिर छ । अझ दुःखलाग्दो के देखिन्छ भने विश्वभरबाट संघ तथा आफ्नो जन्मभूमिको लागि केही गर्ने क्षमता भएका एकेडेमिक व्यक्तित्वहरू क्रमशः यो संघबाट टाढिने क्रम शुरु भइसकेको छ । भोलि यो संगठनमा संगठन भनेको समाज भनेको के हो भन्ने थाहा नै नभएकाहरू मात्रको हालीमुहाली हुने चिन्ता प्रस्टै देखिएको छ ।

अन्त्यमा, नेपाली नेता, ठेकेदार, ब्यापारी, तस्करहरूले अवैध रूपमा कमाएको कालो धनलाई विदेश ल्याएर सेतो बनाउनका लागि सीमित व्यक्तिका फाइदाको लागि खोलिएको भन्ने आरोप लगाइएको यो संघलाई सकिन्छ भने अनुशासित र पारदर्शी बनाएर समाज जोड्ने पुल बनाउन पहल गर्नु पऱ्यो, नत्र संघको वर्तमान खाकामा अधिक परिमार्जन गरी यसैलाई फरक गैरआवासीय नेपाली संघ निर्माण गरेर समाजमा हिजोको जस्तै मेलमिलापको वातावरण बनाउने अवस्था सिर्जना गर्नुपऱ्यो । ढिलो हुनुभन्दा पहिला नै सम्बन्धित व्यक्ति तथा निकायको ध्यान पुगोस् ।

(लेखक गैरआवासीय नेपाली संघको युरोपस्थित स्वास्थ्य समितिका सदस्य हुन् ।)