- बबिता बस्नेत
‘आफूलाई क्रान्तिकारी भन्नेहरूले साउनमा हरिया चुरा लगाएर हिँड्ने ? कम्युनिष्टको सांसद भएर पनि तीजमा रातो सारी ? आफूलाई फेमिनिष्ट भन्ने अनि मेकअप र लिपिष्टिक कहिल्यै नछोड्ने… !’ महिलाको फेसनलाई लिएर हामीकहाँ यस्ता प्रतिक्रियाहरू बेला-बेलामा सुनिइरहन्छन् । विशेषगरी जब साउन लाग्छ, कतिपय महिलाकै प्रतिक्रिया हुने गर्छ- साउनमा हरियो चुरा लाएर होइन हरियो खाएर स्वास्थ्य राम्रो हुन्छ, चुराले छिमेकीको ब्यापार बढायो, आदि । खासमा हरियो सागसब्जी साउनमा मात्र होइन पाएसम्म सधैं खानुपर्छ र छिमेकीको ब्यापार त हामीले चुराले मात्र होइन खाद्यान्नदेखि सवारीसाधन, इन्धन, पहिरन हुँदै मच्छड धपाउने धुप र झुलसम्मले बढाइरहेकै छौँ । हामीकहाँ धेरै अघिदेखि नै क्रान्तिकारी महिलाहरूले मेकअप गर्न हुँदैन, आभुषण लगाउन हुँदैन भन्ने मान्यता रहेको देखिन्छ । विशेषगरी कम्युनिष्ट विचार राख्ने महिलाहरूलाई त्यस्तै प्रशिक्षण दिने गरिन्थ्यो । गहना, सिन्दुर, चुरा, पोते जन्जीर हुन्, स्वतन्त्र जीवन बाँच्न तिनबाट मुक्त हुनुपर्छ भन्ने थियो । माओवादी आन्दोलनताका लेखिएको मेकअप गर्ने, गहना पहिरिने महिला पुरुषका दास हुन् भन्ने दस्तावेज यो पङ्क्तिकारले कतै पढेकी थिएँ ।
के क्रान्ति र पहिरन या गहनाबीच कुनै सम्बन्ध छ ? राम्रो हुनु र राम्रो देखिनुबीचको फरक के हो ? यस्ता विषयमा हामीकहाँ खासै चर्चा भएको पाइँदैन । माओवादी आन्दोलनका बेला आफ्ना सहकर्मीहरूमा क्रान्तिकारी अवधारणा लागु गर्ने कोशिस गरे पनि कमरेडहरूले आफ्ना पे्रमिका, श्रीमती र छोरी-नातिनीहरूमा भने लागु गर्न सकेको देखिँदैन । महिलाले मेकअप गर्न हँुदैन, सौन्दर्य प्रतियोगिता सामन्तवादको ज्युँदोजाग्दो रूप हो भनी विरोध गर्नेहरू अहिले आफ्ना सन्ततिहरू मोडेल बन्नुमा गर्व गरिरहेका छन्, जुन गलत होइन । किनभने कसले के लाउने, के खाने, कस्तो भएर हिँड्ने, कुन पेशामा जाने, मेकअप गर्ने कि नगर्ने, हरियो या कुनै पनि रङ्गका चुरा लगाउने कि नलगाउने जस्ता कुरा नितान्त ब्यक्तिगत रोजाइसँग सम्बन्धित छन्, न कि क्रान्तिसँग । क्रान्ति या परिवर्तन फेसनमा नभइ मानिसको सोच, दृष्टिकोण र ब्यवहारमा देखिने कुरा हो । आफ्ना सहकर्मी र कार्यकर्तालाई सादगीको प्रशिक्षण दिँदै एउटा मालाका साथ मुठ्ठी उठाएर विवाह गराउनेहरूले आफ्ना छोरीहरूलाई बनारसी सारी र झरझुट्टै गहनामा अन्माएर पठाउनु क्रान्तिका नाममा ढोँग हो । यस्ता कुराबाट बाहिर जे–जे भने पनि मानिसका भित्री इच्छाचाहिँ अर्कै हुन्छन् र, समयक्रममा ती इच्छाहरू ब्यवहारमा प्रकट हुन्छन् भनेर बुझ्नुपर्ने हुन्छ । विवाहमा संस्कृतिअनुरुपका पहिरन र गहना लगाउनु नराम्रो होइन । भनाइ र गराइमा फरकपन हुन भएन भन्ने मात्रै हो ।
क्रान्ति या परिवर्तन फेसनमा नभइ मानिसको सोच, दृष्टिकोण र ब्यवहारमा देखिने कुरा हो । आफ्ना सहकर्मी र कार्यकर्तालाई सादगीको प्रशिक्षण दिँदै एउटा मालाका साथ मुठ्ठी उठाएर विवाह गराउनेहरूले आफ्ना छोरीहरूलाई बनारसी सारी र झरझुट्टै गहनामा अन्माएर पठाउनु क्रान्तिका नाममा ढोँग हो ।
विद्रोहले विश्वलाई चकित बनाएकी क्रान्तिकारी कम्युनिष्ट नेतृ रोजा लक्जेन्बर्गको तार्किक मन्तब्यसँगै उनको हेयर स्टायलको पनि चर्चा हुने गथ्र्यो । मञ्चमा भाषण दिन जाँदा प्रायः उनी कपाललाई अलिकति अगाडी उठाएर सुन्दर देखिने गर्थिन् । तत्कालिन समाजमा उनको पहिरन पनि युनिक हुने गथ्र्यो । सन् १८७१ मा पोल्याण्डमा जन्मिएकी रोजाको ४७ वर्षको उमेरमा सन् १९१९ जर्मनीमा हत्या भएको थियो । उनको कपालको डिजाइन र पहिरनले क्रान्तिलाई कतै असर गरेन । यस्तै, नारीवादकी आमा (मदर अफ फेमिनिष्ट) भनेर चिनिने फ्रान्सेली लेखक सिमोन डे ब्ययुवर मेकअप गर्थिन्, लिपिस्टिक लगाउँथिन् । मेकअपले उनका नारीवादी विचारलाई कहीँ-कतै दखल पु¥याएन । फेमिनिष्ट हुन् या कम्युनिष्ट, नेपालमा चर्चा गर्ने गरिएझैँ परिवर्तनलाई फेसनले असर गरेको देखिएको छैन । महिलाहरूले हरियो चुरा या रातो सारी लगाएका कारण हामीकहाँ पितृसत्ताले जरा गाडेको होइन, न त यस्ता कुरा नलगाउँदैमा महिलाहरू पूर्ण स्वतन्त्र हुन्छन् भन्ने सही हो । स्वतन्त्रता र विचारधारासँग पहिरनको सम्बन्ध छैन । कतिपय अवस्थामा मानिसको सोचको ‘रिफ्लेक्सन’चाहिँ पहिरनमा देखिन सक्छ ।
‘ब्युटी’ र ‘ब्रेन’को सम्बन्ध के छ ? या सुन्दरताको परिभाषा के हो भन्नेबारेमा त्यति चर्चा नभए पनि ‘ब्युटी वीथ ब्रेन’को संयोजनका बारेमा विश्वका धेरै साहित्यकारहरूले कलम चलाएका छन् । आफ्ना पात्रहरूको वर्णन गर्ने क्रममा प्रायजसोले लेख्ने गरेका छन्, ‘उ/उनी प्रतिभाशाली मात्र होइन, सुन्दर पनि त्यत्तिकै थिए/थिइन् ।” यसरी हेर्दा सुन्दराता र बौद्धिकता फरक-फरक विषयझैँ लाग्छ । सुन्दरता र सुन्दर देखिने प्रयास अलग कुरा हुन् । सुन्दरताको कुरा जब आउँछ प्रायः मानिसहरू महिलालाई लक्षित गर्छन् । नेपालमा मात्र होइन यो विश्वब्यापी ‘फेनोमेनन’ हो । तथापि, सौन्दर्यप्रति सजग भने पुरुष पनि त्यत्तिकै भइरहेका हुन्छन् । साहित्यकारसमेत रहेका पूर्वप्रधानमन्त्री बीपी कोइरालाको सफा, चिटिक्क शरीउमा मिलेको ‘ड्रेस अप’का साथ कोटमा रहने धुपीका पातहरूबीच गुलाफको फूलको उनका निकटवर्तीहरू अहिले पनि सम्झना गर्छन् । प्रत्येक दिन गुलाफ र धुपीको पातको जोहो गर्न त्यत्ति सजिलो थिएन होला तर सुन्दर देखिने प्रयासमा बीपीको कोटको माथिल्लो खल्तीमा ती सधैं रहे । गीतकार समेत रहेका राजा महेन्द्रले लगाउने विभिन्न रङ्गका सक्कली ढाकाको टोपी एवम् आइरनको कडा धारका कपडाको चर्चा गर्नेहरू धेरै छन् । बालकृष्ण सम हा…हा… गरेर हाँस्यो भने गालामा चाउरी पर्छ भनेर हो…हो…गरेर हाँस्थे रे !
अमेरिकामा राष्ट्रपति बाराक ओबामाको पहिलो कार्यकालकी परराष्ट्रमन्त्री कण्डोलिजा राइसको बौद्धिकतासँगै फेसनको पनि चर्चा हुने गथ्र्यो । पुलित्जर पुरस्कारविजेता फोटोग्राफरहरूले समेत उनको फेसनको चर्चा गर्दै फोटो प्रकाशित गरेका छन् । ठाउँअनुसारको उनको ‘फेसन सेन्स’को अहिले पनि विभिन्न मिडियामा चर्चा जारी छ । उनी अमेरिकामा सफल विदेशमन्त्री मानिन्छन् । भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको हेयर स्टाइल र सारी आफैमा फेसनका प्रतिकझैँ थिए । अगाडि फूलेको कपाल पनि फेसनझैँ लाग्थ्यो । उनका बाबु पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरूलाई ग्लामरस नेता भनिन्थ्यो ।
फेमिनिष्ट हुन् या कम्युनिष्ट, नेपालमा चर्चा गर्ने गरिएझैँ परिवर्तनलाई फेसनले असर गरेको देखिएको छैन । महिलाहरूले हरियो चुरा या रातो सारी लगाएका कारण हामीकहाँ पितृसत्ताले जरा गाडेको होइन, न त यस्ता कुरा नलगाउँदैमा महिलाहरू पूर्ण स्वतन्त्र हुन्छन् भन्ने सही हो । स्वतन्त्रता र विचारधारासँग पहिरनको सम्बन्ध छैन ।
सन् १९९३ मा इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेशनमा पत्रकारिताको आधारभुत प्रशिक्षण लिन गएका बेला मैले भारतकी प्रसिद्ध साहित्यकार अमृता प्रितमलाई नयाँदिल्लीको हौजखासस्थित उनकै निवासमा भेटेकी थिएँ । शालिन ब्यक्तित्वका बीच उनको पोशाक र हेयर स्टायलले मलाई अचम्मै बनाएको थियो । घरमा बस्दा पनि उनी हल्का मेकअपमा चिटिक्क परेर बसेकी थिइन्, उनको तीलचामले छोटो कपालको बनावट निकै राम्रो थियो । उनका प्रेमी इमरोजले अमृताको सौन्दर्य र भावना दुवैलाई समेट्ने गरेर थुप्रै चित्रहरू बनाएका छन् । शोभा डे, तस्लिमा नसरिन, अरुन्धती रायहरू पनि बनिएरै हिँड्ने लेखिकाहरू हुन् । रुसी लेखक मेक्सिम गोर्की कपडामा भन्दा कपालको सौन्दर्यमा बढी सचेत थिए भनिन्छ ।
बौद्धिकता र सुन्दराताको कुरा गर्दा सुन्दरता क्षणिक आकर्षण हो भने बौद्धिकता चीरकालसम्म रहने कुरा हो । मेक्सिम गोर्कीले आमा जस्तो कालजयी उपन्यास नलेखेर कपाल मात्रै बनाएर बसेका भए अहिले हामीलाई उनको नाम थाहा हुने थिएन । तर धेरैजसो अवस्थामा जब चर्चित लेखकका सिर्जनाको या राजनीतिकर्मी या अन्य पेशा/ब्यवसायमा रहेका चर्चित ब्यक्तिहरूको कुरा हुन्छ, उनीहरूको ब्यक्तित्व पनि सँगसँगै जोडिएर आउँछ । भनिन्छ, मानिसले लगाउने, खाने तरिकाले उ हुर्किएको पृष्ठभूमि मात्र नभएर ‘एटिच्युड’को पनि प्रतिनिधित्व गरिरहेको हुन्छ । राम्रो भएर हिँड्नलाई महँगै लुगा या गहना लगाउनुपर्छ भन्ने छैन, भइरहेका बस्तुलाई नै सफा र चिटिक्क पारेर लगाउन सकिन्छ । हामीले आफ्नो शारीरिक बनावटलाई परिवर्तन गर्न सक्दैनौँ तर लगाउने र आफूलाई प्रस्तुत गर्ने शैलीमा भने फरकपन दिन सक्छौँ । आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा मानिसको नितान्त ब्यक्तिगत कुरा हो । आम रूपमा हेर्दा राम्रो बन्ने र अरुले राम्रो भनिदेओस् भन्ने चाहना प्रायः सबै मानिसमा हुन्छ । कतिले ब्यक्त गर्छन् कतिले गर्दैनन् अलग कुरा हो तर कसैले ‘आज तिमीलाई त्यति राम्रो देखिएको छैन’ भन्यो भने आत्मविश्वास नै खस्किएझैँ महसूस हुन्छ । ‘कस्तो राम्रो देखिएको..’ भन्यो भने जिन्दगीमा के-के नै उपलब्धि भएझैँ मन हँसिलो हुन्छ । यो मानवीय स्वभाव हो । त्यसैले नेता हुन् या अधिकारवादी या सर्वसाधारण.., कसैले आफ्नो इच्छाअनुसार लगाएका लुगा, गहना र तिनका रङ्गमा क्रान्ति खोज्नुअघि आफूले के गर्दा ब्यक्तिको स्वतन्त्रता र चाहनाको सम्मान हुन्छ भनेर सोच्नुपर्ने हुन्छ ।
प्रतिक्रिया