प्रधानमन्त्री देउवालाई डेनमार्कबाट प्रवासी नेपालीको सुझाव

प्रधानमन्त्री देउवालाई डेनमार्कबाट प्रवासी नेपालीको सुझाव


  • यामलाल सुवेदी, डेनमार्क

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा पाँचौँ पटक मुलुकका लागि ४४औँ प्रधानमन्त्रीको रूपमा पदासिन हुँदै विश्वासको मतसमेत आर्जन गर्नुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामनाका साथ प्रजातन्त्रमा अटुट विश्वास राख्ने एक प्रवासी नेपाली नागरिकका तर्फबाट बुँदागत केही सुझावहरू दिन चाहन्छु ।

१. मुलुकका सम्पूर्ण नागरिककलाई यथासक्दो छिटो कोरोनाविरुद्धको खोपको प्रबन्ध गरेर कोरोना महामारीलाई प्रथम चरणमा नियन्त्रण र दोश्रो चरणमा पूर्ण रूपमा निमिट्यान्न पार्न यहाँको कार्यकाल कोशेढुंगा सावित हुने विश्वास लिएको छु ।

२. तत्कालिन आमनिर्वाचनपश्चात् ६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता तथा विद्यार्थीहरूलाई स्टेसनरी भत्ताका विषयमा यहाँले राख्नुभएको नीतिलाई पुनर्विचार गरी, एक ठोस कार्ययोजना बनाएर समस्त नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरी आमनेपाली नागरिकको विश्वास जित्ने सद्कार्य गर्नुहुनेछ भन्ने आशा लिएको छु ।

३. बृहत्तर राष्ट्रिय सहमति जुटाइ संविधानको संशोधनद्वारा मुलुकमा जबर्जस्ती लागू गरिएको संघीयता र धर्मनिरपेक्षता जस्ता विसंगतिमाथि पुनर्विचार गरी पुनः ‘नेपाल अधिराज्यको संविधान २०४७’लाई सक्रिय तुल्याउन यहाँको महत्वपूर्ण पहलकदमी र भूमिका रहने विश्वास लिएको छु ।

४. मुलुकमा विद्यमान चरम भ्रष्ट्राचारलाई निर्मुल गर्नको लागि नेपालको प्रशासनिक संयन्त्रलाई पूर्ण रूपमा डिजिटलाईज गरेर सम्पूर्ण नागरिकको अनिवार्य रूपमा बैंक खाताको प्रवन्ध गर्ने कार्य शुरुवात गर्न तथा सरकारी, निजामति, शिक्षक, जंगी तथा प्रहरी संगठनमा काम गर्ने कर्मचारीहरूको ५० प्रतिशत तलब वृद्धि गर्दै राष्ट्रको लागि काम गर्ने मनोबल बढाउन यहाँको कार्यकालले प्रयत्न गर्नेछ भन्ने आशा र विश्वास लिएको छु । यसो गर्दा राष्ट्रसेवकहरूमा अतिरिक्त कमाइको मोहको सम्भावना कम हुने हुँदा आफ्नो सम्पूर्ण समय देश र जनताको सेवामा समर्पित गर्नेछन् भन्ने मेरो तर्क छ ।

५. करिव ७२–७३ वर्ष पहिला नेपाली काङ्ग्रेसका संस्थापक नेता बीपी कोइरालाद्वारा परिकल्पना गरिएको भोक, रोग, गरिबी, अशिक्षा र बेरोजगारीले आक्रान्त नेपालको करिव ८२ प्रतिशत गाउँ र पहाडमा बस्ने जनताको भावनाअनुरूपको नीति तर्जुमा गरी त्यसको सार्थक कार्यान्वयन गराउँदै नेपालार्ई समृद्ध राष्ट्रको सूचीमा लम्काएर बीपीको सपना साकार पार्न दिशामा यहाँको कार्यकाल क्रियाशील हुन्छ भन्ने विश्वाश लिएको छु ।

६. वैदिक कालदेखि चल्दै आएका बहुआयामिक सांस्कृतिक परम्पराहरूको अतिक्रमण गर्ने र धर्मपरिवर्तनमा कृयाशील एनजीओ आइएनजीओहरूको बिगबिगीलार्ई नियन्त्रण गर्दै गरी स्थानीय निकायहरूलाई सबलीकरण गर्दै जनतालाई राज्यको उपस्थितिको प्रत्याभूति गर्ने कार्य तदारुकताका साथ बढाउनुहुनेछ भन्ने विश्वास लिएको छु ।

७. मुलुकको स्थानीय निकायका हरेक वार्डमा अवस्थित स्वास्थ्यचौकीहरूमा अनिवार्य रूपमा एमबीबीएस डाक्टरको दरबन्दी खडा गर्दै अनिवार्य रूपमा आवश्यक प्रविधिहरूको प्रबन्ध तथा दीर्घकालिन ब्यवस्थापनको कार्य प्रारम्भ गर्नुहुनेछ भन्ने विश्वाश लिएको छु ।

८. नेपालको वैदिक कालदेखि चलिआएको सनातन संस्कृतिमा आधारित परम्परालाई अविच्छिन्न रूपमा जीवन्त राख्नको लागि सम्पूर्ण धार्मिक गुरुहरू, विश्व हिन्दु महासंघलगायत धार्मित सङ्घ-संस्थाका अभियन्ताहरू, सम्पूर्ण सांस्कृतिक शक्तिहरूसँग परामर्श लिई नेपालका सम्पूर्ण मठ मन्दिरहरूको जिर्णोद्धार तथा धार्मिक पर्यटकीय स्थलहरूको पूर्वाधार निर्माण गर्दै नेपाललार्ई पर्यटनमा आधारित अर्थतन्त्रमा स्वावलम्बी मुलुक बनाउन पुनित कार्य प्रारम्भ गर्न सद्प्रयास गर्नुहुनेछ भन्ने विश्वाश लिएको छु ।

९. नेपालको पहाडी तथा तराईका जिल्लाहरूमा हरेक वर्ष वर्षादको समयमा आउने सम्भावित दैवीप्रकोप; बाढी-पहिरोको जोखिममा रहेका गाउँ-बस्तीहरूलाई समयमै एकिकृत नमुना बस्ती परियोजनाद्वारा दैवीप्रकोपबाट जोखिमरहित स्थानमा स्थानान्तर गर्ने योजना तर्जुमा गरी समयमै परियोजना सम्पन्न गर्न तदारुकता देखाउन वार्षिक रूपमै हुने जनधनको क्षतिलार्ई दीर्घकालिन रूपमा न्युनीकरणको प्रवन्ध ब्यस्थापनलार्ई प्राथमिकतामा राख्दै त्यहाँका जनतालाई राज्यको उपस्थितिको प्रत्याभूति दिलाउनुहुनेछ भन्ने पूर्ण विश्वाश लिएको छु ।

१०. मुलुकको भावी अर्थतन्त्र निर्माण गर्दा नवीनतामा आधारित वातावरणको सृजना गर्दै कृषि क्षेत्रमा वैदेशिक लगानीलाई प्रोत्साहन दिने, बौद्धिक सम्पत्तिको संरक्षण गर्ने, लागत घटाउने, कागजी प्रक्रियासम्बन्धी अड्चन घटाउने र उत्पादनशील कार्यका लागि पुँजीमा पहुँच सुनिश्चित गर्ने खालका नीति तथा कानुन लागु गर्न र तिनको कार्यान्वयन गराउँदै, गतिशील अर्थतन्त्रलार्ई अविच्छिन्न राख्नको लागि यहाँले सद्प्रयास गर्नुहुनेछ भन्ने विश्वाश लिएको छु ।

११. नेपालको सुरक्षा, राजनैतिक स्थिरता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको रक्षा गर्दै जनताको लागि समृद्धिका आधारहरू निर्माण गर्दै जनताका आस्था, विश्वास र सम्मानहरूलार्ई आत्मसात गर्ने बहुलवादमा आधारित उदार प्रजातान्त्रिक राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक व्यवस्था पहिलो शर्त हो । उक्त चरित्रको राजनीतिक व्यवस्थाको पक्षमा हाम्रा सिमा जोडिएका छिमेकीहरू समेत नेपालको तेस्रो छिमेकी राष्ट्र र राष्ट्र–समूहको रूपमा रहेका अमेरिका, युरोप र जापान जस्ता मुलुकहरू र विश्वमा शान्ति, सद्भाव, साझा समृद्धि र विकासको लक्ष्यमा क्रियाशील राष्ट्रसङ्घलगायतका अन्तर्राष्ट्रिय संगठनहरूको विश्वास, सहमति र समर्थन आर्जन गर्दै मुलुकको हितमा द्विपक्षीय, त्रिपक्षीय र बहुपक्षीय सहकार्य तथा साझेदारी गर्नुलार्ई आफ्नो परराष्ट्र नीतिको मूल लक्ष्यको रूपमा आत्मसाथ गर्दै राष्ट्रको लागि नयाँ आयाम ल्याउन कृयाशील रहनुहुनेछ भन्ने विश्वाश लिएको छु ।

(सुवेदी गैरआवासीय नेपाली सङ्घ डेनमार्कका पूर्वअध्यक्ष साथै नेपाली जनसम्पर्क समिति डेनमार्कका पूर्वसभापति हुन् । )