एन्फामा खलल ल्याउन को-को बने खलपात्र ?

एन्फामा खलल ल्याउन को-को बने खलपात्र ?


एन्फा प्रशिक्षक विवाद : देलान् पंकजले राजीनामा ?

एन्फामा फाटो ल्याउन यो सबै तिकडम नेपाली मूलका जर्मन नागरिकले गरेको स्रोतले जनाएको छ । ती जर्मन नागरिकले छुट्टीमा नेपाल आइ यस्तो ग्र्याण्ड डिजाइन बनाएर स्वदेश फर्किएको बुझिएको छ । तिनै विदेशी नागरिकले एन्फामा खलल ल्याउन एक ठूलो मिडियासम्बद्ध खेलकुद सञ्चारकर्मीलाई हतियार बनाउँदै आएको स्रोतको दाबी छ ।
  • श्रीविक्रम भण्डारी

नेपाली राष्ट्रिय फुटबल टोलीका विदेशी प्रशिक्षक मोहम्मद अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेवाङका कारण आफुले ‘प्रशिक्षक’बाट राजीनामा दिन लागेको कुरा सामाजिक सञ्जाल (फेसबुक)मा पोस्ट गरेपछि अहिले यो विवाद एन्फा हुँदै राष्ट्रिय खेलकुद परिषदमा पुगेको छ । प्रशिक्षक अल्मुताइरीले पंकजलाई तारो बनाउँदै आफूले राजीनामा दिने घोषणासहित नामै किटेर पंकजलाई खुशी मनाउन अनुरोध गरेका थिए । प्रशिक्षक अल्मुताइरीले उपाध्यक्ष पंकजप्रति कटाक्ष गर्दै यसरी प्रस्तुत भएपछि यतिबेला फुटबलको माहोल तातेको छ । यो घटनापछि उपाध्यक्ष नेवाङले आफ्नो मानमर्दन भएको र प्रतिष्ठा दाउमा लागेको भन्दै प्रशिक्षक अल्मुताइरीमाथि कारवाहीको माग गरे । त्यसपछि दुवै पक्षले एकअर्काविरुद्ध छानविन र कारवाहिको माग गर्दै एन्फामा निवेदन दिएका छन् । यो विवादको सम्बन्धमा दुवै पक्षले छानविनको माग गरेकाले एन्फाको कार्यसमितिको बैठकले निष्पक्ष छानविनको लागि खेलकुदको सर्वोच्च निकाय युवा तथा खेलकुद मन्त्रालयमा पठाउने निर्णय गऱ्यो । त्यसपछि मन्त्रालयले उक्त विवादको समाधानको लागि खेलकुद परिषद पठाएकोमा राखेपले परिषदका सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा छानविन समिति गठन गरेको छ ।

आखिर एन्फाका पदाधिकारीमध्ये उपाध्यक्ष पंकज नेवाङप्रति नै किन प्रशिक्षक अल्मुताइरीले औंला सोझ्याए- गम्भीर विषय बनेको छ । सामान्य कुरा थियो भने अल्मुताइरी नेवाङप्रति यसरी आक्रोशित मुद्रामा प्रस्तुत हुनुपर्ने जरुरी नै थिएन । त्यसमा ठूलै चलखेल भएको र षडयन्त्रको गन्ध लुकेको अनुमान गर्न सकिन्छ । अन्यथा नेवाङ मात्रै अल्मुताइरीको निशानामा किन त ? प्रश्न उठ्नु स्वभाविकै हो ।

प्राप्त जानकारीका अनुसार विश्व छनोट चरण खेल्न जानुअघि नेवाङ एण्ड कम्पनीले प्रशिक्षक अल्मुताइरीसँग गोप्य भेट गरेको खुलासा भएको छ । भेटमा नेवाङको भौतिक उपस्थिति नभए पनि उनकै मार्गनिर्देशनमा सो कम्पनीले अल्मुताइरीसँग वार्ता गरेको बुझिएको छ । उक्त गोप्य भेटवार्तामा सो कम्पनीका व्यक्तिले ‘केही समयपछि एन्फाको निर्वाचन आउँदैछ, तिमीले पंकजलाई सहयोग गर्नुप¥यो, यदि तिमीले यस्तो सहयोग गरेको खण्डमा चार वर्षको लागि नेपाली फुटबलको प्रशिक्षकमा राख्छौँ’ भनेर अल्मुताइरीलाई लोभ देखाएको सुत्रको दाबी छ ।

त्यसपछि प्रशिक्षक अल्मुताइरीले ‘म नेपालमा राजनीति गर्न आएको नभइ फुटबलको विकास गर्न आएको हुँ, म यस्तो कार्य गर्न सक्दिनँ’ भनेको बुझिएको छ । आफ्नो रणनीतिमा प्रशिक्षक अल्मुताइरीले साथ नदिने संकेत पाएपछि नेवाङ एण्ड कम्पनीले अल्मुताइरीलाई कसरी हतोत्साही तुल्याउन सकिन्छ भन्नेतर्फ केन्द्रीत भएको थियो । त्यसपछि उक्त कम्पनीले केही सञ्चारकर्मीलाई हतियार बनाउँदै अल्मुताइरीको विरुद्धमा समाचार छपाउन लगाए । सञ्चारकर्मी पनि के कम ? उनीहरूले नुनको सोझो गर्दै यो प्रशिक्षकलाई फुटबल खेलाउन पनि आउँदैन भनेर समेत लेखे । यस्तो समाचार छापिनु प्रशिक्षक अल्मसताइरीको दुर्भाग्य थियो कि उपाध्यक्ष नेवाङको यो अहिले तातो बहसको विषय बनेको छ ।

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबल प्रतियोगितामा रङ्गशालामा निर्माणमा क्रममा नेपाली श्रमिकहरूले गरेको योगदानको कदर र नेपाललाई माया गर्दै एन्फाको विशेष पहलमा कतार सरकारले मोहम्मद अब्दुल्लाह अल्मुताइरीलाई नेपाली फुटबलको विकासको लागि नेपाल पठाएको हो । आल्मुताइरी नेपालमा प्रो. लाइसेन्स लिएर आउने पहिलो प्रशिक्षक हुन् । उनलाई कतार फुटबल सङ्घले नै मासिक रूपमा तलब र भत्ता प्रदान गर्छ । यदि नेपालले यो लेवलको प्रो. लाइसेन्स प्रशिक्षक ल्याउने हो भने कम्तिमा पनि मासिक १२ हजार अमेरिकी डलर तिर्नुपर्छ । यही कुरालाई आत्मसात गर्दै एन्फाका सबै पदाधिकारीहरूको सहमतिमा अल्मुताइरीलाई नेपाल ल्याइएको हो । तर विडम्बना, अनुदानमा आएका प्रशिक्षकको अवधि पाँच महिना पनि नपुग्दै उनलाई विवादमा तानेर र स्वदेश पर्काउन बाध्य तुल्याउनु अहिले आफैमा सर्मनाक विषय बनेको छ । यो खेलमा पर्दा पछाडिबाट खुद एन्फाकै उपाध्यक्ष नेवाङ साम, दाम, डण्ड, भेदको रणनीति अपनाएर ज्यान छोडेर लाग्नु यो भन्दा ठूलो दुर्भाग्य नेपाली फुटबलको हुन सक्तैन ।

उपाध्यक्ष नेवाङको आफुलाई हतोत्साहि गर्ने कार्य गरेपछि प्रशिक्षक अल्मुताइरी विश्वकप छनोट खेल्न जाँदा निकै दबाबमा परेको महसूस गरेका थिए । यसको उदारहणको निम्ति उनले छनोट खेल खेल्न जानुअघि मिडियाप्रति प्रकट गरेको असन्तुष्टिले पनि प्रस्ट पार्छ । यस्तो दबावका बाबजुद पनि अल्मुताइरीले मैत्रीपूर्ण खेल र विश्वकप छनोटमा नेपाली फुटबल टोलीको उत्कृष्ट प्रदर्शन गराएर आफू अब्बल प्रशिक्षक भएको सावित गरिदिए । नयाँ सोच र योजनानुरुप युवा खेलाडीलाई मैदान उतारेर निकै सुधारिएको प्रदर्शन गराउन अल्मुताइरी सफल भए । उनको प्रशिक्षणमा नेपालले चार वटा खेलमा १२ गोल खाए पनि चार गोल गर्न सफल भयो । जस्मा नेपालले चीनियाँ ताईपेइलाई दुई सून्यले पराजित समेत गऱ्यो । स्मरण रहोस्, अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल गर्न नसक्ने धब्बा लागेको नेपाली टोलीले इराकसँगको मैत्रीपूर्ण खेलमा दुई सून्यले अग्रता समेत लिएको थियो । यी प्रतियोगितामा नेपाली टोली उत्कृष्ट प्रदर्शन गरेपछि भविष्यमा झनै राम्रो परिणाम ल्याउन उनलाई एन्फाले थप एक वर्षका लागि अनुबन्ध गरेको थियो ।

एन्फाले थप एक वर्षका लागि अनुबन्ध गरे पनि अल्मुताइरीलाई सफल हुन नदिन उनको योग्यताको बारेमा औंला उठाउनेहरू थप सक्रिय बने । यो पटक उनीहरूले अल्मुताइरीको योग्यता भन्दा उनको चरित्रप्रति फोकस गर्दै हमला गरे । त्यसको ज्वलन्त उदारहणको रूपमा अल्मुताइरीले चुरोट पिएको घटनालाई लिन सकिन्छ । ट्रेनिङको ब्रेकमा मैदानबाहिर फ्रेस हुन चुरोट पिइरहेको अवस्थामा सञ्चारकर्मी लगाएर उनको हुर्मत लिने कार्य गरे । यसपछि प्रशिक्षकलाई विवादमा तान्न समाचार छाप्न लगाए । सामाजिक सञ्जालमा सेयर भएको उक्त समाचारलाई सर्वप्रथम नेवाङले ‘लाइक’ गर्नुलाई संयोग मात्र मान्न सकिँदैन, यसर्थमा कि यो सबै कार्य कम्पनीकै ग्य्राण्ड डिजाइनमा भैरहको थियो ।

यस्तै, अल्मुताइरीको विरुद्धमा अनवरत रूपमा समाचार लेख्दै आएका सञ्चारकर्मीलाई आफ्नै कार्यकक्षमा राख्ने गरेको कार्यले पनि नेवाङप्रति औंला उठाउने पशस्त ठाउँ छ । जबकि फिफा र एएफसीको कोड अफ कन्डक्टमा आफैले अनुबन्धित गरेर ल्याएको प्रशिक्षकको विरुद्धमा आएको समाचारको विषयमा सार्वजनिक रूपमा कुनै किसिमको प्रतिक्रिया जनाउन पाउने एन्फाका पदाधिकारीलाई छुट छैन ।

उपाध्यक्ष नेवाङ र प्रशिक्षक अल्मुताइरीबीचको विवाद सार्वजनिक रुपमा छताछुल्ल भएपछि नेपाल र कतारबीचको दौत्य सम्बन्ध नबिग्रियोस् भनेर कतारी राजदुतले नेवाङ र अल्मुताइरीलाई सँगै राखेर वार्ता गराउने पहल गरेका थिए । तर अघिल्लो दिन वार्तामा आउने मञ्जुरी दिएका नेवाङ दोश्रो दिन वार्तामै गएनन् । यो घटनाले यी दुवैको व्यक्तिगत सम्बन्धमा अझ ठूलो दरार पार्ने काम ग¥यो । नेवाङको नियतप्रति विभिन्न प्रश्न उठिरहको अवस्थामा उनले भनेका थिए– ‘म व्यक्तिगत रूपमा होइन संस्थागत रूपमा भेट्छु । विदेशीका अगाडि झुक्दैन, विदेशीभन्दा मेरो स्वाभिमान ठूलो हो ।’

केही दिनअगाडि यस्तो वक्तब्य दिएका नेवाङ साउन १९ गते मंगलबार सुटुक्क ठमेलको होटेलमा गएर प्रशिक्षक अल्मुताइरीसँग भेट गरेका थिए । नेवाङसँग एन्फाका उपाध्यक्ष वीरबहादुर खड्का र सदस्य किरण राई मध्यस्तकर्ताको रूपमा गएको बुझिएको छ । यसरी विदेशीसँग भेट्नुलाई आफ्नो स्वाभिमानको मुद्दा बनाएका नेवाङले किन अल्मुताइरीसँग भेटे ? कतै यो उनको पराजित मानसिकताको उपज त होइन, अहिले फुटबलमा यहि चर्चा चलेको छ । अन्यथा उनले आफ्नो बोलीको वेट अवश्य राख्थे होला । यसरी व्यक्तिगत रूपमा भेटेर के कुरा भयो त्यसको नेवाङले अहिलेसम्म सार्वजनिक गरेका छैनन् । प्राप्त जानकारीका अनुसार यो भेट सकारात्मक भएको र संयुक्त रूपमा विज्ञप्ति निकाल्ने भनिए पनि अहिलेसम्म त्यस्तो किसिमको कुनै कार्य गरिएको छैन ।

राखेपले यो विवादित घटनाको बारेमा पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा छानविन समिति गठन गरेकै दिन नेवाङले प्रशिक्षक अल्मुताइरीसँग भेट गर्नुलाई अहिले अर्थपूर्ण रूपमा हेरिएको छ । प्राप्त जानकारीका अनुसार आफुमाथि कारवाही हुने सन्त्रासले नेवाङले यस्तो कदम उठाएको हुन सक्ने एकथरिले अडकल काटेका छन् । विवाद उत्सर्गमा पुगेको बेला प्रशिक्षक अल्मुताइरीलाई छानविन नै नगरी ठाडै कारवाहि गर्नुपर्छ भन्ने अडान लिएका नेवाङ छानविन समिति गठन भएपछि किन भिसेको मूसा बने त्यो अहिले चर्चाको विषय बनेको छ । त्यस्तै, हिजोसम्म नेवाङसँग कुममा कुम जोडेर हिँड्ने एक सदस्यले पंकज दोषी ठहरिए उनले राजीनामा दिनुपर्ने माग गर्नुको पछाडिको रहस्य के हो ? त्यसले पनि यो विवादमा नेवाङ कमजोर भएको प्रस्ट पार्छ ।

नेवाङ र अल्मुताइरीको विवाद यतिबेला परिषदमा पुगेर छानविनको क्रममा छ । परिषदले कस्तो छानविन गर्छ र कसलाई कारवाहिको लागि सिफारिस गर्छ त्यो भविष्यले बताउने छ । तर एन्फामा फाटो ल्याउन यो सबै तिकडम नेपाली मूलका जर्मन नागरिकले गरेको स्रोतले जनाएको छ । ती जर्मन नागरिकले छुट्टीमा नेपाल आइ यस्तो ग्र्याण्ड डिजाइन बनाएर स्वदेश फर्किएको बुझिएको छ । तिनै विदेशी नागरिकले एन्फामा खलल ल्याउन एक ठूलो मिडियासम्बद्ध खेलकुद सञ्चारकर्मीलाई हतियार बनाउँदै आएको स्रोतको दाबी छ । अहिले विदेशमा रहेका ती सञ्चारकर्मीले विदेशबाटै नेवाङ र अल्मुताइरीको विवादको समाचार चर्काउन विशेष चलखेल गरेको पनि बुझिएको छ ।