- रामहरि बाजे
मरेर मोटाएकाहरूले राज्य चलाएपछि
ज्युँदै बाँच्न इच्छुकहरू जेलमा पर्न सक्छन्,
नैतिकताको खडेरीले सुकेनास ग्रस्ती-
समाजलाई सरकारी आयोगले के गर्छ… ?
उसले त जागिर जोगाउँछ, निरीहलाई तर्साउँछ
मौका पाएमा कानुन…? डण्डाहरू वर्षाउँछ !
ख्वामितहरूका आज्ञा पालन मात्र गरेपछि
उसलाई नागरिक कानुनले छुने आँटै गर्दैन
निरीहहरूको जाने बाटाहरू ज्यादै कठिन छन् ।
योग्यताको प्रमाण विश्वविद्यालयले नै दिने हो
त्यहाँ पनि पैसा र बासनाको गन्ध बाहिरिन्छ
ती बिजुली-सञ्चारले कसरी थाहा पायो होला … ?
हावा नचलिकन रुख त के पात पनि हल्लिँदैनन् ।
कानुनका पसल र ब्याङकहरू बन्द गराएर
नैतिकताको खेति गर्ने सरकारी जग्गा खोजौँ
युवाहरू विदेशिएर बाँझिएका खोरियाहरू,
लाखौँ रोपनी जग्गाहरूमा नैतिकताका बिउ रोपौँ
तिनै पखेरामा फलेका नैतिक सु-अन्नहरू
भरिका विद्वानलाई चाख्न दिएर पनि
सबैलाई ज्युँदै बाँच्ने प्रेरणा सित्तैमा बाँडेर,
यो देशवासीको नैतिकताको पुनःस्थापना गर्ने कि ?
यो देशप्रेमी प्रा.डा.हरूल्यै गरेर शुरु गर्ने कि ?
नत्रता छोरानातिका भविष्य कुहिरोभित्रै…?!
सबैलाई चेतना भया !!
- बिदुर, नुवाकोट
प्रतिक्रिया