नपलपरासीमा बढ्यो जसपाको सक्रियता

नपलपरासीमा बढ्यो जसपाको सक्रियता


  • आरपी उपाध्याय, नवलपरासी

जनता समाजवादी पार्टी नेपालका उपेन्द्र यादव समुहले आधिकारिकता पाएलगत्तै पार्टीले कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिन थालेको छ। पश्चिम नवलपरासीमा जसपा नेपालले पार्टीको अगुवा कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रमलाई अगाडि बढाएको जिल्ला अध्यक्ष धरेन्द्र यादवले जानकारी दिएका छन् ।

दुई कित्तामा उभिएको जसपा नेपाललाई निर्वाचन आयोगले उपेन्द्र यादव समूहलाई आधिकारिकता दिनासाथ पश्चिम नवलपरासीमा यो समूह बलियो देखिन थालेको छ । केही दिन अगाडि राजपाका नेता राजेन्द्र महतो परासी आएर पार्टी कमजोर बनाउने कार्यमा उपेन्द्र यादव नै जिम्मेवार रहेको आरोप लागाएपछि जसपाका केन्द्रिय सदस्य गोविन्द चौधरीले प्रतापपुर, सुस्ता गाविसका पार्टी अगुवाकार्यकर्ता भेलामा पार्टी आफ्नो नीति र कार्यक्रमलाई अगाडि बढाउने कार्यमा एक इन्च पनि पछि नहटेको धारणा राखेका थिए ।

प्रतापपुरको बेलाटारीमा आयोजित भेलामा अर्का केन्द्रिय सदस्यहरु रामबच्चन यादव, चिनक कुर्मी र सुनिता काफ्लेलगायतले वर्तमान समयमा जसपा समावेशी ढङ्गबाट अगाडि बढिरहेको धारणा राखे ।

पश्चिम नवलपरासी संघीय निर्वाचन क्षेत्र नं. १ मा नेपाली काङ्ग्रेस र स्वतन्त्र राजनीतिक समुह नामबाट भइरहेका चलखेलहरुलाई अन्त्य गरि समावेशी समानता, संघीयतालागायतको आदर्शका साथ जसपालाई अगाडि बढाउन नेता कार्यकर्ताहरुले उद्घघोष गरेका थिए ।

केही महिनापछि आउँदै गरेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जसपाको अगुवा कार्यकर्ता भेला केन्द्रित रहेको विश्लेषण गरिएको छ । क्षेत्रीय अध्यक्ष असरफ चुरिहारको अध्यक्षतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ८० व्यक्ति जसपामा प्रवेश गरेका स्थानीय अगुवा कार्यकर्ता राजेश चौधरीले जानकारी दिएका छन् ।