कांग्रेस बैठकमा क्रियाशील सदस्यता विषय केन्द्रीत छलफल
नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनको नयाँ मिति तय गर्ने सम्बन्धमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको क्रियाशील सदस्यता सम्बन्धमा छलफल प्रारम्भ भएको छ ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सभापतिकै निजी निवास बूढानीलकण्ठमा बिहीबार बसेको बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदनको व्याख्यासहित प्रस्तुत गरेका थिए ।
बैठकमा समितिका अन्य सदस्य आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरीले आफ्नो धारणा व्यक्त गरेका बताइएको छ ।
समितिले यही साउन १२ गते पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा केही विवाद बाँकीसहितको क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनअनुसार १४औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ५२ हजार ७११ पुगेको छ ।
बैठकले सर्वोच्च अदालतको फैसलाले लिक बाहिर गएको संविधानलाई सही ट्रयाकमा ल्याएको जनाएको छ । संसद् विघटनको असंवैधानिक कदमविरुद्धमा ऐक्यबद्ध गठबन्धनका राजनीतिक दल, सञ्चारमाध्यम, नागरिक समाज र सचेत नेपालीको साझा भावना र संविधानको मर्मअनुरुप फैसला आएको निष्कर्षसमेत निकालेको छ ।
संविधानको धारा ७६(५) अनुरुप मुलुकले प्रतिनिधिसभामा १६५ सदस्यको समर्थनसहित नयाँ प्रधानमन्त्री प्राप्त गरेको जनाउँदै बैठकले कोभिड–१९ को महामारी र बाढीपहिरोबाट आक्रान्त जनताको रक्षा र राहतका कार्यसँगै संविधानको मर्म र जनताको भावनाअनुरुप कार्य गर्न दलबीचको सहमतिअनुरुप अघि बढ्न नयाँ सरकारलाई शुभकामना व्यक्त गरेको छ ।
ज्ञातव्य छ, कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको छ । यद्यपि क्रियाशील सदस्यता विवादका कारण महाधिवेशनअन्तर्गतका स्थानीय तह र जिल्ला अधिवेशन भने प्रभावित भइसकेका छन् ।
कार्यसमितिको अर्को बैठक शुक्रबार (साउन २९ गते) बिहान ११ बजे सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा पुनः बस्ने मुख्यसचिव पौडेलले जानकारी दिएका छन् ।
pict:rss
प्रतिक्रिया