माया

माया


  • सुशील देवकोटा


प्रश्नै प्रश्नको बीच स्वयम् एउटा प्रश्न, अनि
उत्तर दिन कठिन एउटा उत्तर हो माया !
सरल, सहज र सुगम कहिलेकाहीँ, अनि
जटिल, कुटिल र विकट अनुभूति हो माया !
सुन, चाँदी, हिराभन्दा महँगो कहिले, अनि
फ्याँकिएको कसिङ्गर जस्तै सस्तो हो माया !
बिना प्रयास प्राप्त हुने लक्ष्य कहिले, अनि
भगिरथ अनुत्तीर्ण हुने परीक्षा हो माया !
त्याग, तपस्या, समर्पण हो कहिले, अनि
लोभ, संकल्प र घमण्ड हो माया !
परिवारको स्नेह, आफन्तको प्रेम, अनि
तिनमा आउने तिता-मिठा क्षण हो माया !
दुई अक्षरको संयोजनको एक शब्द, अनि
परिभाषा दिन कठिन ग्रन्थ हो माया !
बुझ्नेले बुझे श्रीखण्ड हो तिनलाई, अनि
मलाई खुर्पाको बिँड हो माया !!