दिनको करिव तीन बजेको हुँदो हो । बालाजुबाट चार किमि जति टाढा नागार्जुन हाइटमा रहेको ओशो तपोवनमा बेग्लै चहलपहल छ । हुन त तपोवनमा सधैं चहलपहल हुन्छ, तर आजको परिदृश्य अरु दिनको भन्दा भिन्न छ ।
घरी पानी आउने घरी रोकिने यो मौसममा तपोवन थप मनोरम देखिन्छ । यहाँका फुलहरु ढकमक्क फुलेका छन्, भर्खरै रोकिएको वर्षाले यहाँका वृक्षहरु झनै सुन्दर र सफा देखिएका छन् । चराचुरुङ्गीका आवाजले वातावरणलाई संगीतमय बनाएको छ । यो आकर्षक वातावरणका बीच माथि रिसेप्सनमा क्रमशः ब्यक्तिहरु प्रवेश गर्दछन् । उनीहरुलाई स्वागत गर्नको लागि तपोवनमा बस्ने माँ र स्वामीजीहरुले केही कसर बाँकी राखेका छैनन् । आउने आगन्तुकहरुलाई औपचारिक रुपमा आश्रमको नियमअनुसार फर्म भराइन्छ, यो बीचको समयमा उनीहरुलाई स्वागत स्वरुप पानी र चियाको ब्यवस्था पनि गरिएको छ । आउने नवआगन्तुकहरुको अनेक जिज्ञासा पनि सकेसम्म हल गर्ने प्रयास भइरहेको छ ।

करिव आधा घण्टाको समयमा पूर्वनिर्धारित १५ जना जति आगन्तुकहरुको प्रवेश तपोवनमा भयो । ती १५ ब्यक्ति नियमित तपोवन आउने अथवा ध्यान गर्ने ब्यक्तिहरु थिएनन् । उनिहरुमध्ये अधिकांश ब्यवसायी थिए । कसैको हाइड्रोपावर थियो त कसैको फाइभस्टार होटल, कोही प्राकृतिक जडिबुटीको ब्यवसाय गर्थे त केही ट्रेडिङको काम गर्थे । अझ कसैको त नेपालमा मात्र नभएर विश्वका धेरै देशमा ब्यापारको संजाल थियो । त्यहीभित्र एक जनाचाहिँ काठमाडौं जिल्लाकै एक नगरपालिकाका मेयरसाप हुनुहुन्थ्यो । दैनिक जीवनमा एक घण्टाको समय पनि निकाल्न कठिन हुने अति ब्यस्त यस्ता उच्च ब्यवसायिक ब्यक्तिहरु तपोवनमा अबको २६ घण्टाको लागि आएका थिए । अब उनीहरुको बसाइ भोलि साँझ ५ बजेसम्मको लागि थियो । उनिहरु आएका थिए ओशो तपोवनले भर्खरै शुरु गरेको अभियान ‘राष्ट्रको लागि तपोवन’मा सहभागी हुनको लागि ।

तपोवनले “राष्ट्रको लागि तपोवन” नामक एक अभियान शुरु गरेको गरेको छ । अभियानको पहिलो श्रृंखलामा १४ जना विभिन्न पेशाका ब्यक्तिहरुको सहभागिता रहेको थियो भने यो हप्ता सम्पन्न अभियानको दोस्रो श्रृंखलामा दुई जना विदेशीसहित १५ को सहभागिता रहेको थियो । व्यक्तिले आफ्नो दैनिक जीवनमा गर्ने हरेक काममा अध्यात्मलाई जोड्दा सो व्यक्ति स्वयममा रुपान्तरण भइ उसको जीवनशैली सरल हुनुका साथै व्यवसायिक जीवनमा उत्पादनशीलता र प्रभावकारिता बढेर समाज र राष्ट्रमा नै एक सकारात्मक सन्देश प्रवाह हुन सक्छ भन्ने उद्देश्य लिएर यो अभियान थालनी गरिएको हो ।

बोधिसत्व स्वामी आनन्द अरुण प्राचार्य रहनुभएको यो अभियानको परिकल्पना एनआरएनका निवर्तमान अध्यक्ष भवन भट्ट अर्थात् स्वामी आनन्द देवको रहेको छ भने अभियानको संयोजकमा स्वामी आनन्द अर्हत र सोविता सिम्खडा रहनुभएको छ ।
अभियानमा सहभागीहरुलाई करिव २६ घण्टा तपोवनमा राखिने छ । यो क्रममा उनिहरुलाई ध्यान र योगका विभिन्न प्रयोगका साथमा सकारात्मक बन्ने कला , ब्यवसायिक सफलताका सुत्रहरु, आनन्दित हुने उपाय आदि सिकाइनेछ ।

दोस्रो श्रृंखलाका सहभागीहरुले मात्र २६ घण्टाको तपोवनको बसाइमा आफूहरुले धेरै सिकेको र अनावश्यक तनाव हटाइ आनन्दित हुन सुरु भैसकेको प्रतिकृया दिएका छन् । यो अभियान ओशो तपोवनले हरेक पन्ध्र दिनमा सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया