प्रकाशकुमार श्रेष्ठ अर्थात् मालिका केशरीको तेस्रो उपन्यास ‘दुङाल’ सार्वजनिक भएको छ । तिब्बती शरणार्थीका पीडालाई विषयवस्तु बनाएर लेखिएको उपन्यास शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा इतिहास एवं संस्कृतिका अन्वेषक डा. रमेश ढुङ्गेल, राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य सुदीप पाठक, पूर्वस्वास्थ्य सचिव डा. सुधा शर्मा र लेखक स्वयमले सार्वजनिक गरेका हुन् ।
पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै अन्वेषक ढुङ्गेलले राष्ट्रविहीन हुनुपर्दाका अप्ठ्यारा पुस्तकमा समेटिएको बताए । संस्कृति र सामाजिक अवस्थाका कारण प्रेमी–प्रमिकाबीचको वियोगलाई पनि उपन्यासमा प्रस्तुत गरिएको उनले जानकारी दिए । बौद्ध दर्शनभित्रको शान्तिलाई पनि उपन्यासमा देखाउन खोजिएको छ ।
मानवअधिकारकर्मी पाठकले ३५ वर्षअघि नेपाल मानवअधिकार सङ्गठनमा काम गर्दा ऋषिकेश शाहले तिब्बती शरणार्थीका विषयमा हेर्न भनेदेखि आफूले यसलाई नजिकबाट हेरिरहेको खुलासा गरे । नेपालमा तिब्बती र भुटानी शरणार्थी विधिवत रूपमा बसेको उल्लेख गर्दै उनले तिनका समस्या बाहिर ल्याउन उपन्यास सफल रहेको धारणा राखे ।
पूर्वस्वास्थ्य सचिव शर्माले लेखक पुरुष भए पनि महिला शरणार्थीका भावना उपन्यासमार्फत अभिव्यक्त भएको बताए भने लेखक केशरीले जन्मभूमि तनहुँको शरणार्थी शिविरमा देखेका घटनाले आफूलाई यस विषयमा कलम चलाउने प्रेरणा मिलेको खुलासा गरे ।
“उपन्यासमा कति मेरा भोगाइ, कति नजिकका साथीभाइका भोगाइ जसलाई अनुमति लिएर वास्तविक नाममै उतारेको छु, कति विषय कल्पनाका पनि छन्”, उनको भनाइ थियो । नेपालमा शरणार्थी जीवन भोग्न बाध्य तिब्बती युवती कारचुङका माध्यमबाट उनले त्यस जीवनका बारेमा पाठकलाई जानकारी दिन यो उपन्यास लेखेको बताए ।
‘दुङाल’ तिब्बतीयन शब्द हो । जसको अर्थ दुःख भन्ने हुन्छ । उपन्यासमा शरणार्थीका कथाव्यथालाई शब्दका माध्यमबाट उनिएको छ । खम्पा विद्रोहका सन्दर्भलाई पनि उपन्यासमा समेटिएको छ ।
लेखकका हालसम्म चार वटा कृति प्रकाशित छन् । पहिलो उपन्यास ‘पुरुत्थान’ विसं २०७२ भदौमा प्रकाशित भएको थियो । विसं २०५२ देखि २०६३ का बीचको राजनीतिक घटनाक्रमका बेलाको अन्तरजातीय प्रेमकथामा आधारित भएर लेखिएको ‘पुरुत्थान’ पाठकले मन पराएपछि छ वर्षको बीचमा उहाँका तीनवटा उपन्यास प्रकाशित भएका हुन् ।
लेखकको दोस्रो उपन्यास ‘सुवर्णलता’ हो । ‘सुवर्णलता’मा आमाबाबुबाट छुट्टिनुपर्दाका पीडा, विशेषगरी आमाबाबु लाहुर गएका छोराछोरीको अवस्थालाई उपन्यासकार श्रेष्ठले पाठकसमक्ष पस्किएका छन् । उपन्यासमा खोजी पत्रकारिताको प्रसङ्ग पनि छ ।
प्रतिक्रिया