पदसङ्ख्या भन्दा चार गुणा बढी आकाङ्क्षी
नेपाली काङ्ग्रेस औपचारिक रूपले हिन्दू राष्ट्रका पक्षमा आउने सम्भावना अहिलेसम्म शुन्य बराबर छ । तर महाधिवेशनसम्म काङ्ग्रेस नेताहरूले गर्ने ‘अभिनय’ले देश साँच्चै हिन्दूराष्ट्र बन्ने र काङ्ग्रेसले त्यसको अगुवाइ गर्ने हो कि भन्ने भ्रम उत्पन्न गराउने सम्भावना बढाएको छ ।
कुनै अप्रत्याशित घटनाले अवरोध पैदा गरेन भने नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशन आगामी मङ्सीरको दोस्रो सातामा सम्पन्न हुने निश्चित भएको छ । सभापति शेरबहादुर देउवासहितका केही नेताहरू स्थानीय र संसदीय निर्वाचनपश्चात मात्र महाधिवेशन गराउनु उपयुक्त हुन्छ भन्ने पक्षमा थिए, तर भाद्र २३ गतेभित्र महाधिवेशन शुरु नभए पार्टीको वैधानिकता गुम्ने खतरा रहेको र पार्टीका विपक्षी नेताहरूबाट महाधिवेशन तत्काल गराउन दबाब परेकोले भाद्र १८ गतेदेखि स्थानीय (वडा तह) महाधिवेशन शुरु गर्ने निर्णयमा काङ्ग्रेस पुगेको छ । तथापि, कतिपय जिल्लामा क्रियाशील सदस्यतासम्बन्धी विषयलाई लिएर उत्पन्न विवाद नटुङ्गिएकोले स्थानीय तहको अधिवेशनसमेत प्रभावित हुन सक्ने स्थिति छ ।
महाधिवेशनको मिति निश्चित भएलगत्तै आरजु राणाको योजनामा काङ्ग्रेस नेतृत्वले भारतीय जनता पार्टीका प्रभावी नेता विजय चौथाइवालालाई नेपाल भ्रमण गराएर द्विपक्षीय सम्बन्ध सुधारको प्रयास गरेको छ । काङ्ग्रेसका महाधिवेशन प्रतिनिधिहरूमध्ये पचहत्तर (७५) प्रतिशतभन्दा बढी हिन्दूराष्ट्रका पक्षधरहरू हुन सक्ने विश्वास गरिन्छ । उक्त मतलाई प्रभावित गर्न सभापति देउवा र उहाँकी पत्नीले मन्दिर चहारेको र पूजाआजा गरेको तस्बिर सार्वजनिक गर्न थालेका छन् । भाजपा नेताहरूको भ्रमणले पनि हिन्दूमत आर्जन गर्न सहयोग पुग्ने विश्वास देउवा परिवारले गरेको बुझिन्छ । महाधिवेशन नजिकिँंदै जाँदा धार्मिक क्रियाकलापमा ज्यादा सामेल हुँदै जाने र त्यस्ता तस्बिरहरू विभिन्न माध्यमबाट सार्वजनिक गर्ने कार्यनीतिक योजनामा देउवापरिवार मात्र नभइ काङ्ग्रेसका अन्य नेताहरू पनि रहेको बुझिएको छ ।
ज्ञातव्य छ, नेपाली काङ्ग्रेस औपचारिक रूपले हिन्दू राष्ट्रका पक्षमा आउने सम्भावना अहिलेसम्म शुन्य बराबर छ । तर महाधिवेशनसम्म काङ्ग्रेस नेताहरूले गर्ने ‘अभिनय’ले देश साँच्चै हिन्दूराष्ट्र बन्ने र काङ्ग्रेसले त्यसको अगुवाइ गर्ने हो कि भन्ने भ्रम उत्पन्न गराउने सम्भावना बढाएको छ । आफू हिन्दू परम्पराअनुसार पूजाआजामा सामेल भएर देखापर्ने गरे पनि काङ्ग्रेसमा हिन्दूराष्ट्र चाहने नेताहरूमा महामन्त्री पूर्णबहादुर खड्का, नेताहरू ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, शङ्कर भण्डारी, डा. प्रकाशशरण महत, पुष्पा भुसाल, एनपी साउद र देवेन्द्रराज कँँडेल मात्र रहेको बताइन्छ । उल्लिखित नेताहरूमध्ये शङ्कर भण्डारी सबभन्दा मुखरित भएर हिन्दूराष्ट्रको वकालत गर्दैछन् । नेपाललाई हिन्दूराष्ट्र बनाउने कुराको विरुद्ध प्रकट हुँदै आएका रामचन्द्र पौडेल, विमलेन्द्र निधि र गगन थापालगायतका व्यक्तिहरूले समेत आगामी महाधिवेशनसम्मका निम्ति रङ्ग बदल्न सक्ने सङ्केतहरू देखिएका छन् ।

काङ्ग्रेसमा नेताहरूको व्यवस्थापन मूख्य चुनौतीको रूपमा रहेको छ । शेरबहादुर देउवा, डा. शशाङ्क कोइराला, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, डा. रामशरण महत, अर्जुन नरसिंह केसी, प्रकाशमान सिंह, डा. नारायण खड्का, डा. शेखर कोइराला, डा. प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, कृष्ण सिटौला, रामचन्द्र पौडेल, एनपी साउद, चन्द्र भण्डारी, बालकृष्ण खाण, शंकर भण्डारी, विश्वप्रकाश शर्मा, भीष्मराज आङ्दम्बे, विजय गच्छदार, मानबहादुर विश्वकर्मा, दिलेन्द्र बडु, चित्रलेखा यादव, फर्मूल्लाह मन्सुर, पुष्पा भुसाल, सुजाता कोइराला, रमेश लेखक, डा. अमरेशकुमार सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र गगन थापालगायत चार दर्जन नेताहरूको व्यवस्थापन गर्न सजिलो देखिँदैन । यसपटकको महाधिवेशनले ख्यातिप्राप्त उद्यमी विनोद चौधरी तथा शिक्षा व्यवशायी उमेश श्रेष्ठको समेत उचित व्यवस्थापन गर्नुपर्ने अवस्था छ । क्षमता र योग्यताका दृष्टिले माथि भए पनि विनोद चौधरीलाई कोषाध्यक्ष पदमा चयन गरिने सम्भावना छ । काङ्ग्रेसको विधानले एउटा कोषाध्यक्षबाहेक अन्य सबै पद निर्वाचनबाट पूर्ति हुने व्यवस्था गरेको छ । काङ्ग्रेसमा सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सह-महामन्त्री र एक कोषाध्यक्षसमेत जम्मा चौध पदाधिकारी रहने व्यवस्था विधानले गरेको छ । तर पदाधिकारीको हैसियत राख्ने तीन दर्जन भन्दा बढी नेताहरू अहिले सतहमा देखापरेका छन् ।
सभापति पदमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, डा. शशाङ्क कोइराला, कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेल, डा. रामशरण महत, अर्जुन नरसिंह केसी, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि र सुजाता कोइरालादेखि कल्याण गुरुङसम्मको आकाङ्क्षा राखेका छन् । त्यस्तै हालका महामन्त्री पूर्णबहादुर खड्काले उपसभापतिमा र नेता ज्ञानेन्द्रबहादुर कार्कीले महामन्त्रीमा उम्मेदवारी दिनुहुने सम्भावना छ । त्यसैगरी डा. प्रकाशशरण महत, बालकृष्ण खाण, एनपी साउद, विश्वप्रकाश शर्मा, चन्द्र चण्डारी, गगन थापालगायतले पनि महामन्त्रीमा उम्मेदवारी दिने सम्भावना रहेको छ । डा. नारायण खड्काले कुन पदमा उम्मेदवारी दिने भन्ने यकीन भइनसकेको बताइन्छ । शङ्कर भण्डारीले हिन्दूराष्ट्रको एजेण्डामा चुनाव लड्ने निश्चित भए पनि कुन पदमा उम्मेदवारी दिने भन्ने स्पष्ट हुन सकेको छैन । डा. अमरेशकुमार सिंहले मधेश कोटाको सह-महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् भने कल्याण गुरुङ सभापतिमै उम्मेदवारी दिने तयारीमा रहेका छन् ।
प्रतिक्रिया