माधवले पार्टी फुटाएपछि पहिलो पटक एमाले केन्द्रीय कमिटी बैठक बस्दै

माधवले पार्टी फुटाएपछि पहिलो पटक एमाले केन्द्रीय कमिटी बैठक बस्दै



नेकपा (एमाले) बाट नेता माधव नेपाल पक्ष अलग भई बुधबार नयाँ पार्टी दर्ता गरेपछि आज पहिलो पटक केन्द्रीय कमिटीको बैठक बस्दैछ । बैठकमा विगतमा नेपाल पक्षमा रहेका १० जना स्थायी कमिटीका सदस्यको पनि सहभागिता हुने बताइएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बिहीबार मध्याह्न १२ः०० बजे बैठक तय भएको जानकारी दिए । बैठकका लागि १० बुँदे प्रस्ताव कार्यान्वयनसम्बधी स्थायी कमिटीको निर्णय अनुमोदन, पार्टीको सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशन र पार्टी विभाजनमा लाग्ने नेतामाथि कारबाहीका विषय कार्यसूचीमा राखिएको तामाङले जानकारी दिएका छन् ।

यही भदौ ८ गतेको स्थायी कमिटीको बैठकले गत असार २७ गतेको आन्तरिक विवाद समाधान कार्यदलको सिफारिसलाई कार्यान्वयन गर्दै पार्टीको संरचनालाई २०७५ जेठ २ कै अवस्थाबाट सञ्चालन गर्ने निर्णय गरेको थियो । एमालेले आगामी मङ्सिरको दोस्रो साता दशौँ राष्ट्रिय महाधिवेशन गर्ने तय गरेको छ भने राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेशबमोजिम माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी)ले बुधबार निर्वाचन आयोगबाट मान्यता पाएको थियो ।