गौरा पर्वको दोस्रो दिन : बिरुडा धोइ न्वालाको गौरा मनाइँदै

गौरा पर्वको दोस्रो दिन : बिरुडा धोइ न्वालाको गौरा मनाइँदै


  • डम्बर निदाल, डडेल्धुरा

सुदूरपश्चिमको मौलिक पर्व गौराको आज आज दोस्रो दिन । गंगा गौराको रुपमा पूजा गर्दै पर्व मनाइँदै छ ।

गौरापर्वको दोस्रो दिन शनिबार ब्रतालु महिलाहरूले नजिकको न्वाला, धारा, कुवा तथा पानी पँधेरोमा ‘बिरुडा’लाई धोएर मनाउँदै छन् । बिरुडा धोएकै ठाउँमा गौरा (पार्वती) को प्रतिमा बनाएर पुजा गरिन्छ ।

गौरा पर्वको पहिलो दिन शुक्रबार महिलाले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँच प्रकारका अन्न भिजाएर गौरा पर्वकोे शुभारम्भ गरेका थिए ।

भाद्र दुवाष्टमीका दिन मनाइने गौरा पर्व सुदूरपश्चिम प्रदेशको प्रमुख मौलिक लोकपर्व मानिन्छ । गौराको पहिलो दिन विरुडा पञ्चमी पर्दछ । यो दिन नारीहरू ब्रत बसेर गौरा घर वा पधेरामा बिरुडा (केराउ, गहत, गुरास, गहूँ र मास ) मिसाएर बनाइएको पञ्चअन्न भिजाउँछन् । यी पाँच अन्नलाई ‘बिरुडा’ भनिन्छ ।

अघिल्लो दिन भिजाइएका बिरुडालाई नजिकका न्वाला, धारा, कुवा तथा पानी पधेरोमा लगेर धुने चलन छ । व्रतालु महिलाहरूले बिहानै नुवाइधुवाई गरेर नजिकको न्वाला, धारा, कुवा तथा पानी पँधेरोमा गएर गौरादेवीको पूजाआजा गर्ने गरिन्छ ।

हिमालयपुत्री पार्वतीको नाम गौरी पनि हो, पौराणिक कालमा शिवजीलाई पाउन गौरी अथवा पार्वती देवीले निराहार ब्रत उपासना तथा आराधना गरेको विश्वासका आधारमा विवाहित महिलाले महेश्वर गौरीको नित्य पूजा गरि उपासना गर्ने पर्वको रुपमा सुदूरपश्चिममा मनाइने साँस्कृतिक परम्पराको दोश्रो दिन नजिकैको जलाशयमा बिरुडा भिजाउँदै गंगा गौरा पूजन गरिएको हो ।

ग्रामीण क्षेत्रमा गाउँका महिलाहरू सामूहिक रुपमा प्राचिन धारा नाउला तथा जलाशयमा गएर धान, बल साउँ पहेँलो गुबो र तिलको बिरुवालाई एकिकृत गरी माता पार्वतीको प्रतीक बनाइ शुद्ध पहिरन, ब्रत बसी निष्ठाका साथ पूजा गरिन्छ भने पञ्चमीको दिन विधिवत राखिएको गहत गुराँस, सानो केराउ, कलाउँ र चना मिश्रण गरिने पञ्च दलहन गेडागुडीको बिरुडालाई धोइपखाली शुभ सगुन फाग गाउँदै गौराप्रसादलाई घर ल्याउने प्रचलन रही आएकोे पण्डित रामचन्द्र भट्ट बताउँछन् ।

गंगागौराका दिन सूर्य र बत्तीलाई अर्घ दिँदै गणेश कलशको पूजा गरी गौरा प्रतिमालाई महिलाहरूले भक्तिभावका साथ पूजेर दुर्वाष्टमीका दिन गौरापर्वको मुख्य पूजाको आव्हान गरी मुक्ताभरण सप्तमीका दिन मूल गौरा भित्र्याउने चलन रहेको उनले जानकारी दिए ।

विशेष गरी महिलाहरूका लागि अति महत्वपूर्ण पर्व गौरामा अटल शौभाग्य, सुखशान्ति र एकता तथा सदभाव कायमका लागि नारी मात्र नभइ पुरुषले पनि चैत्र, धुमारी र देउडा खेलेर भव्य रूपमा मनाउने गरेका छन् । यसपटक कोरोना भाइरसका कारण सार्वजनिक रूपमा गौरा नमनाउन प्रशासनले आग्रह गरेको छ । अघिल्ला वर्षहरूमा प्रदेशभर सामुहिक देउडा खेलको आयोजना गरी मनाउने गरेका थिए । कोरोना महामारीले गर्दा प्रशासनले निषेधाज्ञा जारी गरेका कारण यसपाली ती ठाउँ सुनसानझै भएको स्थानीय बताउँछन् ।