- डम्बर निदाल, डडेल्धुरा
सुदूरपश्चिममा आज असोज संक्रान्तिका दिन बुढी पोल्ने पर्व मनाइँदैछ । प्रत्येक वर्ष असोज संक्रान्तिका दिन राक्षसी प्रवृत्तिको पुतनालाई भगवान श्रीकृष्णले बध गरेको सन्दर्भको सम्झनामा यो पर्व मनाइन्छ ।
महिना दिनअघि भदौ संक्रान्तिको दिन स्थानीयवासीहरूले नजिकै रहेको जङ्गलबाट विभिन्न किसमका स–साना काँडेकाठ काटेर एक ठाउँमा थुप्रो (वन्ढुनी) बनाउँछन् । सोही थुप्रो अर्थात् बुढीलाई आजका दिन पोलेर वन्ढुनी पर्व अर्थात बुढी पोल्ने दिनका रुपमा मनाइन्छ । यस पर्वमा गाईबस्तुको हेरचाह गर्ने गोठाला तथा स्थानीयहरूले भाद्र संक्रान्ति अर्थात ओल्के पर्वको दिन सल्ला, बाँझ लगायतको लिङ्गो ठड्याइ रुख, रुखका हाँगाहरू काटेर एकै ठाँउमा थुपारेर बनाएको बुढीलाई जलाउने चलन रहिआएको छ ।
द्वापरयुगमा राक्षसी पुतनाले राजा कंशको आदेशमा भगवान श्रीकृष्णलाई दुधको रुपमा विष खुवाएर मार्न लगाएको थियो । भगवान श्रीकृष्णले थाहा पाएर उल्टै राक्षसी पुतनाको रगत चुसी बध गरेको खुशीयालीमा यो पर्व मनाउने धार्मिक विश्वास रहेको स्थानीय पण्डित रामचन्द्र भट्टले बताए ।
वन्ढुनी पर्व सुदूरपश्चिमका हरेक गाउँमा मनाइन्छ । यो पर्व सामाजिक र मौलिक पर्व हो । यस पर्वमा बाबियो घाँसबाट महिलाको चुल्ठीजस्तै (लुँडी) बनाइन्छ । त्यसमा सुन्दरता थप्न खसर्याका पात र चिमालीका सेता राता र पहेँला फूल जोडेर अति आकर्षक बनाइन्छ । बूढी पोल्न सल्लाको रातो काठलाई राम्रोसँग मसिनो गरी चिरेर (दियालो वा झरो) को मसाल (राँको) बनाएर सजाइन्छ ।

गाईवस्तुहरुको गोबर थुपार्ने ठाँउमा काँस, अम्रिसो लगायत पाँच जातको घाँसले बेरेको राँको बनाएर राख्ने गर्दछन् । र बेलुकीपख जलाउने चलन रहेको छ । पुतना राक्षसको आकृति बाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन समेत रहेको छ । यसो गर्दा गोठमा पालिने जनावरलाई कुनै रोग नलाग्ने धार्मिक विश्वास रहेको छ ।
सदियौँदेखि धार्मिक, तथा साँस्कृतिक महत्व बोकेको पर्वका रुपमा वन्ढुनी पर्व रहेको छ । हरेक वर्षको भदौ १ गतेदेखि प्रत्येक स्थानीयले आफ्नो गोरु गुहारमा काँडा र झारपातले बेरेर बनाएको वन्ढुनीलाई हरेक वर्षको असोज १ गते साँझ र कतिपय स्थानमा २ गते बिहान ४ बजे धार्मिक परम्पराअनुसार देवताको चोलो निकाली जलाउने परम्परा छ । वन्ढुनी वा बुढी जलाउँदा सल्लाको झरोको राँको बनाइन्छ । प्रत्येक वृक्षले राम्रो फल दिओस् भनी बाबियो, काँस लगायतका वृक्षको डोरी बनाएर बोटबिरुवा तथा घरको छतमाथि राख्ने गरिन्छ । साँझपख सल्लाको दियालो गोठमा लगी गाईबस्तु वरपर गाईबाच्छीपाल बुढी निकाल भन्दै काँक्रो मुखमा राखी थुक्ने चलन छ । वन्ढुनी जलाउँदा बालबालिकाहरू ‘गाईबाच्छी पाल ! बूढी निकाल ! थुई बूढी थुई !’ भन्ने गर्छन् ।
कतै–कतै बुढी जलाइसकेपछि वारिपारि गाउँका एकआपसमा लुतो लैजाउ भन्ने प्रचलन पनि रहेको स्थानीय लालबहादुर साउदले बताए । सुदुरपश्चिमका विभिन्न पहाडी जिल्लामा वन्ढुनी पर्व मनाउन आजबिहानैदेखि नुवाइधुवाइ गर्ने गर्छन् । बुढी पोलीसकेपछि आज राति वा भोलि बिहानसम्म पानी परे गाई अर्थात लक्ष्मीले जित्ने र नपरे बुढीले जित्ने भन्ने भनाइ पनि रहेको उनले बताए ।
विगतका वर्षमा आजका दिन रातभर डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरा र १० को राई लगायतका विभिन्न स्थानमा देउडा खेल्ने प्रचलन थियो । स्थानीय एकै स्थानमा भेला भइ देउडा गाउने खेल खेल्ने चलन रहिआएको थियो । यसपालि भने कोरोना संक्रमणको जोखिम रहेकाले विभिन्न कार्यक्रम नगरी परम्परा जोगाउने हिसाबले मात्रै बुढी पोल्ने कार्यक्रम रहेको बताइएको छ ।
प्रतिक्रिया