- राजेन्द्रप्रसाद पाठक
जनता संहाल्न नसक्ने
तर नेताचाहिँ पाल्ने यो
अनौठो र असमावेशी
असंविधान बनेको दिन !
करोडौँ नेपालीले सोचे
अर्बौंको ढुकुटी रित्तियो
शहीदको रगत कुल्चिँदै
सुर्य अस्ताएको त्यो दिन !
विधान बने देश बन्छ भन्थे
अस्ताएको सुर्य उदाउँछ..
किसानले मूल्य पाउँछ भन्थे
तर झोपडीसमेत खोसेको दिन !
पुस्तौँ बिताइयो कल्पनामा
मजदुरले नुनसम्म पाएनन्
गरिवले हमेसा पिएर आँशु
अपनत्व गुमाएको त्यो दिन !
हिजोका नेताको भाषण सम्झौँ
दिलाएका विश्वासलाई सम्झौँ
झुठको पुलिन्दालाई पल्टाऔँ
अविश्वासको बोझ बोकाएको दिन !
के पायो त किसान दाइले ?
के पायो त कुल्ली भाइले ?
मालिकले आसन बदलेको
कस्मिराको काँचुली फेरेको दिन !
गरिवलाई विश्वास दिलाएर
मजदुरलाई मोहमा भुलाएर
किसानको जमिन खोसेर
सामन्तले खित्का छाडेको दिन !
संविधानसभा सम्झँदा सम्झँदै
हिक्क-हिक्क बाडुल्की लाग्दो हो
गरिवको आङ जिरिङ्ग हुँदो हो
सुख मशानघाटमा सेलाएको दिन !
फिरङ्गीले कावा खाएको
पखेटा आकाशमा फिजाएको
हुने-खानेलाई खुबै रिझाएको
निमुखालाई हदै बिझाएको दिन !
अब निश्चित भो यो बाँचुन्जेल
देश र जनता कदापि बन्दैनन्
विधान कागजमा लेखाएको
तर विवेक गुमाएको कालो दिन !
प्रतिक्रिया