‘तरेली-परेली’मा ई. वस्तीका मधुर तरङ्ग

‘तरेली-परेली’मा ई. वस्तीका मधुर तरङ्ग



राष्ट्रसेवामा (सरकारी कर्मचारी) समर्पित रहेर पनि साहित्य सिर्जना भनेपछि हुरुक्कै हुने ई. गणेशराज वस्तीको नयाँ कृति साहित्य फाँटमा फक्रिन पुगेको छ । कविता, नियात्रा आदिदेखि प्राविधिक एवम् प्रशासनिक विषयवस्तुमा समेत कलम चलाएर आफ्नो सर्कलमा चर्चाको पात्र बन्न पुगेका सर्जक वस्ती मूलतः कविता विधामा नै रमाउँछन् भन्दा अत्युक्ति नहोला । हालसम्म करिव एक दर्जन पुस्तक कीर्तिहरू प्रकाशित गरिसकेका स्रष्टा वस्तीको पछिल्लो कीर्ति हो ‘परेली-तरेली’ (कविता संग्रह) ।

यसअघि पनि ‘मनको आँधी’ नामक कविता संग्रहमार्फत साहित्य फाँटमा प्रस्तुत भएका वस्तीले जीवनका अनेक उतारचढाव तथा मनका छालहरूलाई अन्तरङ्ग भोगाइसँग जोडेर पछिल्लो काव्य-कृतिमार्फत पाठकसामु पस्किएका छन् ।

लेखककै शब्दलाई सापटी लिएर भन्ने हो भने परेली तरेलीमा उनले मूलतः आफ्नो बाल्यकालका स्मृतिलाई उजागर गरेका छन् भने आफ्ना आमाबुवा, दाजुभाइ, दिदी, साथीसंगीबीचका अन्तरक्रिया, टोलमोलका सजीव तथा निर्जीव बस्तुहरू उपरको प्रेमभाव, स्नेह आदि बिम्बात्मक रूपमा कवितामार्फत प्रस्फुटन गरेका छन् । साथै गाउँघर, स्थानीय, क्षेत्रिय, राष्ट्रिय एवम् समग्र विश्वकै विकास, शान्ति तथा अमनचयनको चाहना र त्यसका लागि मानवले खेल्नुपर्ने भूमिका वा निभाउनुपर्ने कर्तब्यलाई आफ्नै शैलीले शब्दमालाबाट कविले स्पन्दन गर्न खोजेका छन् ।

पेशाले इन्जिनियर (प्राविधिक) भए पनि साहित्यिक भावले ओतप्रोत ई. वस्ती मनको सुकोमल गतिमा उठ्ने मौन चित्कारलाई लिपीवद्ध गर्न पोख्त छन् । साहित्यको माध्यमबाट समेत राष्ट्र निर्माणको महायज्ञमा संलग्न कविको हृदय देशभक्तिमा कति उर्लिएको छ भन्ने उदारहणको रूपमा निम्न पङ्क्तिलाई लिन सकिन्छ-

हाम्रा सोचाइका आकाशहरूमा
हाम्रै देशको झण्डा फर्फराओस्
झण्डा फरफर गर्ने हावापानी
आफ्नै देशको हिमालबाट आओस् ।

हाम्रा पाइलाका गतिहरूमा
हाम्रा विचारका प्वाँखहरूमा
हाम्रै देश प्रतिबिम्बित होस् ।

खण्ड ‘क’ र ‘ख’ गरि दुई खण्डमा विभाजित परेली-तरेलीभित्र १३ वटा उपखण्ड रहेका छन् । प्रत्येक खण्ड तथा उपखण्डमा प्रवेश गर्दा साहित्यप्रेमी पाठकले जीवन र जगतका थरि-थरि साहित्य-स्वाद प्राप्त गर्दछन् । १ सय ३० पृष्ठको पुस्तक गुणस्तर र साजसज्जाका दृष्टिले पनि उत्कृष्ट रहेको छ भने मूल्य रुं ३०५ तय गरिनुलाई स्वाभाविक मान्न सकिन्छ ।

परेली तरेलीका कवितारुपी तरङ्गहरूले पाठकलाई आनन्दको भावमा तरङ्गित तुल्याउने विश्वासका साथ स्रष्टालाई शुभकामना !